सभापतिमा देउवाको अग्रता कायमै, मतान्तर ३५९
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनाको पछिल्लो विवरण अनुसार देउवाले प्रतिस्पर्धी डा.शेखर कोइरालाको भन्दा ३५९ मत धेरै ल्याएर अग्रता कायम राखेका हुन्। ३ हजार २८२ मत गणना हुँदा देउवाले १५५६ मत प्राप्त गरेका छन्।
सभापतिका उम्मेदवार कोइरालाले ११९७ मत पाएका छन्। सभापतिका अरू उम्मेदवार प्रकाशमान सिंहले २५७ मत पाउँदा विमलेन्द्र निधिले २०१ मत ल्याएका छन्। सभापतिका उम्मेदवार कल्याण गुरुङले १७ मत पाएका छन्।
४ हजार ६८१ मत खसेकोमा अहिले सम्म ३ हजार २८२ मत हुँदा १९ मत बदर भएको छ। सभापतिमा निर्वाचित हुन २ हजार ३४२ मत आवश्यक पर्छ। सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनु पर्ने कांग्रेसको विधानमा व्यवस्था छ।
मंसिर २८, २०७८ मंगलबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।