माओवादीको कर्णाली प्रदेशमा आकाङ्क्षी धेरै हुँदा लम्बियो सम्मेलन
सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशमा पदाधिकारीका आकाङ्क्षी धेरै हुँदा प्रदेश सम्मेलन लम्बिएको छ।
शनिबारदेखि सुरु भएको माओवादी केन्द्रको प्रदेश सम्मेलनमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भए पनि आकाङ्क्षी धेरै हुँदा पदाधिकारीको टुङ्गो लाग्न नसकेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत ढकालले बताए।
‘अध्यक्ष र अन्य पदाधिकारीका लागि आकाङ्क्षी बढेपछि सहमति जुटेन, सोमबार भित्रै नेतृत्व टुङ्गाउने नेताहरूले कोसिस गरे पनि सफल हुन सकेन,’ढकालले भने, ‘निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाही र नेता शक्ति बस्नेतले मंगलबार भित्रै सहमति जुटाउने गरी तयारी थाल्नुभएको छ।’ शाही आफै प्रदेश अध्यक्षको दाबेदार छन्।
समानुपातिक समावेशी लगायतका विषयलाई जोड दिँदा नेतृत्वको टुङ्गो लाग्न नसकेको नेकपा माओवादी केन्द्र सुर्खेतका इन्चार्ज नर बहादुर विष्टले बताए।
‘हाम्रो पार्टीभित्र समानुपातिक समावेशीलाई विशेष ख्याल गर्नुपर्छ। यसो गर्दा ‘अटोमेटिक’ नेतृत्वका आकाङ्क्षी बढ्छन्,’इन्चार्ज विष्टले भने, ‘मंगलबार सहमतिका माध्यमबाट सर्वसम्मत नेतृत्व चयन हुने गरी तयारी थालिएको छ।’
उनका अनुसार १० जिल्ला मध्ये नौ पदाधिकारी नौ जिल्लाबाट बनाउने तयारी भएको छ। प्रदेश अध्यक्ष बन्न कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग ‘लबिङ’ गरिरहेको नाम नबताउने सर्तमा माओवादीका एक केन्द्रीय सदस्यले बताए।
माओवादीले पदाधिकारी सहित २११ जना सदस्य चयन गरी सम्मेलनको समापन गर्नेछ।
यी हुन् प्रदेश अध्यक्षका आकाङ्क्षी
माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षका लागि निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आधा दर्जन नेताले आकाङ्क्षा देखाएका छन्।
प्रदेश अध्यक्षका लागि शाहीसहित केन्द्रीय सदस्य रामदीप आचार्य, नरेश भण्डारी, कालीबहादुर मल्ल, सुर्खेत जिल्लाका इन्चार्ज नर बहादुर विष्टले आकाङ्क्षा राखेका छन्। यस्तै प्रदेश सभा सांसद कृष्णा केसी, विन्दमान विष्टले अध्यक्ष हुन पाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिइरहेका छन्।
वर्तमान प्रदेश अध्यक्ष राजकुमार शर्माले आफूलाई पुनः अध्यक्षमा दोहोर्याउनु पर्ने माग राखेका छन्। प्रदेश सदस्यमा पनि धेरै नेता तथा कार्यकर्ताहरूले आकाङ्क्षा देखाएपछि जिल्लाको पार्टी सदस्य सङ्ख्याका आधारमा सदस्य राख्ने गरी तयारी गरिएको छ ।
मंसिर २७, २०७८ सोमबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।