देउवालाई सभापति बनाउने पूर्णबहादुरको प्रयास पूर्ण होला ?

देउवालाई सभापति बनाउने पूर्णबहादुरको प्रयास पूर्ण होला ?
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : सभापतिमा शेरबहादुर देउवालाई पुन जिताएर आफू उपसभापति हुने प्रतिस्पर्धामा छन् पूर्णबहादुर खड्का। खड्का देउवा समूहका मुख्य रणनीतिकार हुन् जसले उनलाई हरेक पक्षमा निरन्तर साथ दिँदै आएका छन्।

देउवाले नै उनलाई १३ औँ महाधिवेशनपछि महामन्त्रीमा मनोनीत गरेका थिए। लामो समय कृष्णप्रसाद भट्टराईसँग निकट रहेर राजनीतिक गरेका उनी १४ औँ महाधिवेशनमा उपसभापतिको उम्मेदवार बनेका छन्।

सङ्गठनमा बलियो पकड भएको मानिने उनीसँगै देउवा प्यानलबाट विजयकुमार गच्छदार उपसभापतिको उम्मेदवार बनेका छन्। शेखर कोइराला समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ छन् भने प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएकी छिन्।

१४ औँ निर्वाचनमा आफूले उपसभापतिमा जितेर मात्र उनले सुख पाउने छैनन्। सभापतिमा शेरबहादुर देउवालाई जिताउने जिम्मेवारी पनि उनैले लिएका छन्। त्यसैले त उनी सोमबार मतदान भइरहेको राष्ट्रिय सभा गृहमा धेरै व्यस्त थिए। उनी मतदातासँग आफ्ना लागि मत माग्ने भन्दा पनि मतदानको भित्री क्षेत्रमा बसेर चुनावी नतिजाको आङ्कलनमा व्यस्त देखिएका थिए।

उनीसँगै छन् महामन्त्रीको दाबी गरेर पछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री समेत बालकृष्ण खाँण। खाँणको समस्या पनि त्यही हो। उनी पनि पहिलो चरणमै देउवाको पक्षमा ५१ प्रतिशत मत ल्याउन खटिएका छन्। तर चुनावी माहौलले भने पहिलो चरणमा सभापतिको नतिजा ल्याउने सम्भावना कम देखिन्छ।

सभापतिमा देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन्।

मंसिर २७, २०७८ सोमबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।