पहिलो चरणको सकस : बुथदेखि भोजन क्षेत्रसम्म भोट माग्दै छन् देउवा
काठमाडौँ : पार्टीको नेतृत्वमा दोहोरिन १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेरबहादुर देउवा मतदान क्षेत्रमा भोट माग्न व्यस्त छन्। उनी सहयोगीहरूसहित मतदान क्षेत्र घुमेर मतदातासँग भोट मागिरहेका छन्।
प्यानलसहित उम्मेदवार बने पनि उनी भोट माग्न हिँड्दा भने एक्लै देखिन्थे। प्रधानमन्त्री भएकाले उनी जता जान्थे सुरक्षाकर्मीहरू त्यही पुगिहाल्थे। उनी सुरक्षा घेरामै रहेर भोट मागिरहेका छन्।
साँझ पर्दै गएकाले उनले मतदानको बुथदेखि भोजन क्षेत्रसम्म एक राउन्ड लगाएर मतादातालाई नमस्कार गर्दै भोट मागे। सभागृहभित्र राउन्ड लगाएपछि उनी भृकुटीमण्डप क्षेत्रमा रहेका मतदाता रहेका ठाउँमा पुगेर भोट मागेका थिए।
सभापतिको प्रतिस्पर्धामा उनीसँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ छन्। ५१ प्रतिशत नपुगेर निर्वाचन दोस्रो चरणमा पुगे अहिले तितरबितर भएको संस्थापनइतर समूह उनी विरुद्ध एकीकृत हुने जोखिम रहेकाले उनी सकेसम्म पहिलो चरणमै नतिजा आफ्नै पक्षमा ल्याउने प्रयासमा कस्सिएका छन्।
दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवारमध्ये पहिलो र दोस्रो हुने विचमात्र प्रतिस्पर्धा हुन्छ। यदि पहिलो चरणमा नतिजा नआए दोस्रो चरणमा आफ्नै समर्थन शेखर कोइरालालाई हुने निधी र सिंहले बताइसकेका छन्।
निधीले आइतबारै दोस्रो चरणमा मात्र नेतृत्व चयन हुनसक्ने भन्दै दोस्रो चरणमा आफ्नो समर्थन शेखरलाई हुने बताइसकेका छन्। सिंहले सोमबार पहिलो चरणमा आफ्नो पक्षमा नतिजा आउने दाबी गर्दै दोस्रो चरणको निर्वाचन भएमा नेतृत्व परिवर्तनको पक्षमा आफ्नो समर्थन हुने बताए।
मंसिर २७, २०७८ सोमबार १७:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।