सिरियस सुजाता : 'सुजाता दिदी' भन्दै पच्छ्याउने त्यो भीड खै ?

काठमाडौँ : 'सुजाता दिदी' भन्दै पछि लाग्ने भिड देखिएन सोमबार राष्ट्रिय सभा गृहमा। एकाधको साथमा देखिन्थिन् उनी। धेरैसँग बोल्न पनि रुचाएझैँ देखिएन। एक्लै यता-उति गरिरहेकी उनी कसैले नमस्कार गरे फर्काउँथिन्।
१३ औँ महाधिवेशनको दृश्य फरक थियो। उनी पार्टी राजनीतिको केन्द्रमै थिइन्। उनलाई नमस्कार फर्काउन फुर्सद हुन्थेन। तर साढे पाँच वर्षमै माहौल धेरै बदलिइसकेछ। उनी उपसभापतिको उम्मेदवार बनेकी छिन्। तर उम्मेदवारको उत्साह देखिएन उनमा। त्यसैले उनी आफ्नो नेचर भन्दा अलि बढी नै सिरियस देखिएकी थिइन्।
गिरिजाप्रसाद कोइराला बाचुन्जेल नेपाली काङ्ग्रेसभित्र बलियो शक्तिकेन्द्र थिइन् सुजाता कोइराला। सत्ताको शक्ति अनि पार्टीको शक्ति दुबैमा उनकै रजगज चल्यो। व्यक्तिगत सङ्गठनको प्रभाव नभए पनि बाबु गिरिजाप्रसादकी छोरी भएकी उनलाई त्यसले खासै फरक परेन।
छोरीलाई पार्टीमा स्थापित गर्न जे-जे गर्न सकिन्छ सबै प्रयास गरे उनले। सरकारमा उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्री समेत बनाए। २०६६ चैत ७ गते गिरिजाप्रसादको निधन भएपछि शक्तिमा उदाए सुशील कोइराला। त्यो बेलासम्म पनि उनी कोइराला परिवारको सदस्यको रूपमा शक्तिको केन्द्रमै थिइन्।
बिपी कोइरालाका छोरा शशाङ्क अनि नोना कोइरालाका छोरा शेखर पनि सक्रिय राजनीतिमा आएपछि कोइराला परिवारमा रहेको कांग्रेस विरासत विकेन्द्रित भयो। शशाङ्क महामन्त्री भएसँगै पार्टी शक्ति उनमा सर्यो।
बिचमा सुजाता बिरामी परिन्। स्तन क्यान्सर भएपछि उनी उपचारमा केन्द्रित भइन्। बिस्तारै सक्रिय राजनीतिबाट हट्दै गइन् उनी। १३ औँ महाधिवेशनमा पार्टीको नेतृत्व कोइराला परिवारमा फर्काउन उनी शेखर र शशाङ्कको मियो बन्ने प्रयास गरिरहिन्।
उनले आफू पनि सभापतिको उम्मेदवार बन्ने दाबी नगरेकी हैनन्। तर उनको दाबीमा दम पुगेन। उनी शशाङ्कप्रति लोयलै थिइन्। उनलाई नै पार्टीको नेतृत्वमा स्थापित गराउन सकारात्मक पनि। तर शेखर धेरै अगाडि बढिसकेकाले अन्तमा शशाङ्क ब्याक भएर केन्द्रीय सदस्यको उम्मेदवार बने। शेखर सभापतिको उम्मेदवार।
सुजातले शेखर प्यानलबाटै उपसभापतिको उम्मेदवार बन्ने प्रयास नगरेको हैन। तर निर्यणयमा प्रभाव पार्ने मत नदेखेर शेखरले पनि पत्याएनन्। त्यता असम्भव देखेपछि उनी अकस्मात् प्रकाशमान सिंहको प्यानलमा गएर उपसभापतिको उम्मेदवार बनिन्। र अहिले मत पाउने आशमा सभा गृहमा यताउता गरिरहेकी छिन्।
मंसिर २७, २०७८ सोमबार १५:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।