मङ्गलबारबाट संसद्: ६ वटा अध्यादेश पेश हुने, सांसदको कोरोना परीक्षण आज 

मङ्गलबारबाट संसद्: ६ वटा अध्यादेश पेश हुने, सांसदको कोरोना परीक्षण आज 

काठमाडौंः संघीय संसद्को हिउँदे अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ। संघीय संसद सचिवालयले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी पनि दिएको छ।  

यस्तै हिउँदे अधिवेशनमा सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका विभिन्न ६ वटा अध्यादेश पेश हुनेछ। संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेका अनुसार संसद् बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश टेबुल हुनेछ।

यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र रेल्वे अध्यादेश टेबुल गर्ने कार्यसूचीको तयारी भएको पाण्डेले जानकारी दिए।

संसद् बैठक बस्ने अघिल्लो दिन आज बिहान ११ बजेदेखि संघीय संसद भवनको स्काइ हलमा सांसदहरूको कोरोना परीक्षण समेत हुँदैछ। संघीय संसद्क पदाधिकारीहरू, दुवै सदनका सदस्यहरू, महासचिवलगायत सबै कर्मचारीको एन्टिजेन परीक्षण गर्ने कार्यक्रम राखिएको सचिवालयले जनाएको छ। परीक्षण दिउँसो ३ बजेसम्म चल्नेछ।

मंसिर २७, २०७८ सोमबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।