कोइराला परिवार : शक्ति केन्द्रमा फर्कियो , विरासत फर्काउला ?

कोइराला परिवार : शक्ति केन्द्रमा फर्कियो , विरासत फर्काउला ?

काठमाडौँ  : कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी शेखर कोइराला मुख्य जिम्मेवारीमा ‘अनटेस्टेड’ नेता हुन्। उनी अहिलेसम्म पार्टीको पदाधिकारी पनि बनेका छैनन् र सरकारको जिम्मेवार पदमा पनि पुगेका छैनन्।  

११ औँ,  १२ औँ र १३ औँ महाधिवेशनमा लगातार केन्द्रीय सदस्य भए शेखर। कांग्रेस स्थापना भएपछि एक दशकबाहेक पार्टी नेतृत्वमा कोइराला परिवार नै रह्यो।

०३९ मा बिपी कोइरालाको निधनदेखि ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नबन्दासम्मको समय बाहेक कांग्रेस कोइरालाहरूको छहारीमा रह्यो।

१३ औँ महाधिवेशनपछि कांग्रेस नेतृत्व देउवाको हातमा पुग्यो।गिरिजाप्रसाद र सुशील कोइरालाको निधन पछि पार्टी भित्रका जुनियर कोइराला बिचको बेमेलको लाभ देउवाले लिए।

१३ औँ महाधिवेशनमा कोइराला परिवारका शशाङ्क कोइराला महामन्त्रीमा विजयी भएका थिए। १४ औँ महाधिवेशनमा उनै ‘अनटेस्टेड’ शेखर देउवालाई चुनौती दिन आइपुगेका छन्।

देउवालाई प्रतिस्थापन गर्ने होडमा छन् महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधि र गणेशमान सिंहको पुत्र प्रकाशमान सिंह। निधि र सिंहमा पनि पुर्खाको विरासत त छ, त्यो अघिल्लो पुस्ताको जस्तो ओजपूर्ण छैन। एक हिसाबले पुर्खाको क्रेडिट मात्र बाँकी छ उनीहरूमा।
लो प्रोफाइलका नेता कल्याण गुरुङ पनि सभापतिको दौडमा छन् ।
संस्थापन इतरबाट क्याप्टेन रहेका रामचन्द्र पौडेलको समर्थन र ३ वर्षदेखिको देश दौडाहाको तयारीले शेखरलाई देउवालाई चुनौती दिने नेताको रूपमा हेरिएको छ।

'कोइराला परिवारको विरासत रहे पनि कोइराला परिवार पहिलेजस्तो छैन।कोइरालाको विरासत भन्ने नै धेरै हुँदैन अब, हारजित आफ्नो ठाउँमा छ। पुरानो कोइरालाको जस्तो अवस्था छैन। कोइराला नभई हुँदैन भन्ने अवस्था छैन अहिले,' राजनीतिशास्त्री लोकराज बराल भन्छन्‘शशाङ्क ५ वर्ष महामन्त्री हुँदा पनि केही पनि गरेनन्, उनको नेतृत्व देखिएन। विश्वेश्वरको नाम बेचेर खाए।'

उनी देउवा विरुद्ध अरू एक ठाउँमा भए भने भन्न नसकिने बताउँछन्। निधि र सिंहले पनि सघाए कोइराला बलिया हुने नत्र कोइराला विरासतले केही काम नगर्ने बरालको तर्क छ।

बरालले भनेझैँ सभापतिका धावक निधिले देउवाविरुद्ध दोस्रो चरणमा मोर्चाबन्दी गर्ने बताइसकेका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा निधिले सभापतिको निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरालाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताए।

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ। निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दाबी गरेका हुन्।

'दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौँ,’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौँ।’

आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको उनले बताए।

अर्का विश्लेषकको मत अलि भिन्न छ। १४ औँ महाधिवेशनमा कोइराला परिवार शक्ति केन्द्रको रूपमा स्थापित हुने राजनीतिक विश्लेषक गेजा वाग्ले बत्ताउँछन्।

'१३ औँ महाधिवेशनमा कोइराला, गणेशमान र निधि परिवारको सभापतिमा प्रतिनिधित्व थिएन र यस पटक सबैले शक्ति केन्द्र बन्न चाहेको देखिन्छ,'उनले भने।

संस्थापनइतर पक्ष विभाजित भएकालो त्यसको अङ्कगणित, राजनीतिक र मनोवैज्ञानिक लाभ संस्थापन पक्ष दललाई हुने वाग्लेको भनाइ छ।

देउवासँग सरकार र पार्टी सभापति दुवै रहेको हुँदा तल्लो तहदेखि आफू अनुकूल पार्टी संयन्त्र निर्माण गर्न सकेका छन् । जुनियर कोइरालाहरू मध्येमा सक्रिय हिसाबले शेखरलाई उत्तम मानिन्छ पार्टीभित्र। पाँच पटक देशको प्रधानमन्त्री समेत भइसकेका देउवाको कांग्रेसमा आफ्नै लिगेसी भए पनि आलोचनामुक्त भने छैनन्। आइडल छवि भएका नेता होइनन् देउवा, तर पार्टीमा तल्ला तहसम्म उनको पकड छ। देउवाको बिरासतलाई चुनौती दिए पनि हल्लाउन अन्य प्रतिस्पर्धालाई सहज छैन। जानेबुझेदेखि राजनीति गरेका देउवाले सुदूरपश्चिमबाट अहिलेसम्म चुनाव हारेका छैनन्।

 

मंसिर २७, २०७८ सोमबार ०१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।