भलुवाङमा माओवादीको सम्मेलन, नेतृत्वका लागि शीर्ष नेताहरूको दौडधुप
सम्मेलन सुरु भएसँगै नयाँ नेतृत्वका लागि नेताहरूले कसरतमा सुरु गरेका छन्। माओवादीले आफ्नो आधार इलाका मानेको क्षेत्र भएकाले पनि भालुवाङको नेतृत्वप्रति नेताहरूको चासो बढेको छ।
पार्टीमा प्रदेश नेतृत्वको विशेष भूमिका रहने र आफ्नो आधार इलाकामा आफू अनुकूलको नेता ल्याउन पार्टीका शीर्ष नेताहरू दौडधुपमा लागेका छन्।
लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दीपेन्द्र पुन सिजल, प्रदेश सांसद दामा शर्मा, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायको नाम चर्चामा छ। श्निबार उम्मेदवार मनोनयन हुँदै छ।
सम्मेलन स्थलमा प्रदेशका १२ जिल्लाबाट ८ सय प्रतिनिधि सहभागी भएको माओवादी केन्द्र प्रदेश कार्यालयका सचिव सुदर्शन बरालले जानकारी दिए।
बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सात जना पदाधिकारी चुनिनेछन्। माओवादीको विधान अनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन्।
लुम्बिनीबाट नेता कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, कुलप्रसाद केसी, चन्द्रप्रकाश खनाल, बामदेव घिमिरे, सुदर्शन बराललगायतका प्रभावशाली नेताहरूले केन्द्रमा प्रभाव जमाएका छन्।
माओवादी केन्द्रमा रहेर लामो समय मोर्चा सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, चन्द्रबहादुर खड्का, नवीन रोका मगर, दधिराम न्यौपाने, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थी, अनुप बराललगायतका नेताहरू एमालेको मुख्य जिम्मेवारीमा रहेपछि त्यो खाडल पुर्न माओवादीलाई चुनौती थपिएको छ।
यससँगै माओवादी जनयुद्धमा मुख्य जिम्मेवारी दिएका र अहिले अलग्गै पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लव, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य किरण र जनता समाजवादी पार्टीमा रहेका तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले साबिकका माओवादीलाई आफूतिर तानेपछि लुम्बिनी प्रदेशमा माओवादीलाई चुनौती भने देखिएको छ। माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ।
मंसिर २५, २०७८ शनिबार २२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।