राजनीतिक वनवासमा रामचन्द्र

राजनीतिक वनवासमा रामचन्द्र

तुलनात्मक रूपमा स्वच्छ छवि अनि बिपीको समाजवादका प्रचारक उनी पार्टीमा उपसभापतिसम्म भए। गिरिजाप्रसाद कोइरालाको अवकाशपछि उनी नेतृत्वका लागि लालायित नभई सुशील कोइरालालाई अगाडि बढाए। उनी सुशीलको मुख्य सहयोगी बन्दै १२ औँ महाधिवेशनमा सभापतिमा जिताए।

प्रधानमन्त्री बन्ने प्रयास १७ पटकसम्म पराजित भएर तुहियो। सुशीलको निधनपछि तत्कालीन संस्थापक समूहबाट उनी पार्टी सभापतिको उम्मेदवार त बने तर दोस्रो चरणमा संस्थापक समूह छाडेर तेस्रो धार बनाएका कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवालाई साथ दिँदा उनी पराजित भएर वरिष्ठ नेतामा खुम्चिए। १४ औँ महाधिवेशनमा उनी सभापतिका आकाङ्क्षी थिए। पार्टीलाई निष्क्रिय बनाएका देउवाविरुद्धको आक्रोशले सभापति बन्न सक्छु भन्ने उनको आत्मबल संस्थापनइतर समूहमै धेरै उम्मेदवार बन्दा उनी राजनीतिक वनवासमा जान बाध्य भए।

उनले न शेखर कोइरालालाई मनाउन सके न त प्रकाशमान सिंहले नै उनलाई सभापतिको उम्मेदवारमा स्वीकार गरे। दुवै जना सभापतिमा उम्मेदवारी दिन अड्डिकसेपछि उनले विज्ञप्ति निकालेर राजनीतिक वनवासको घोषणा गरे।

उम्मेदवारीको मनोनयन चलिरहँदा विज्ञप्ति निकालेर उनले भने,‘चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु। प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अङ्गालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा पुगेँ। तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु।’ 

उनले लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेषसरि नयाँ शिक्षित पुस्ताले नेपाली कांग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउने आफ्नो अपेक्षा भने नमेटिएको उल्लेख गरेका छन्। 

‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रही रहनेछ। प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु’पौडेलले विज्ञप्तिमा लेखेका छन्। 

५९ वर्षदेखि राजनीतिमै

७७ वर्षीय पौडेल कांग्रेसको राजनीतिमा २०१७ सालबाटै प्रवेश गरेका हुन्। बिपी कोइराला जेलमा परेपछि १६ वर्षको कलिलो उमेरमा उनले चार तारे झन्डा बोकेका थिए। २०३३ सालमा बिपी निर्वासनबाट फर्किएपछि उनी निकट भएर राजनीतिमा सक्रिय रहेका उनले बिपी र सुवर्ण शमशेर राणाबिच मनमुटावहुँदा संवाद स्थापित गराउने भूमिका समेत निभाएका थिए। उनले राजनीतिक यात्राको क्रममा १३ वर्ष जेल जीवन बिताएका थिए।

२०४० सालमा नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भएका पौडेल २०४४ सालमा केन्द्रीय सदस्य भएका थिए। २०६२ मा उनी पार्टीको महामन्त्री भएका थिए। २०६४ मा उनी पार्टीको उपसभापति भएका थिए।

२०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट सांसद बनेका थिए। यो बिचमा उनी स्थानीय विकास मन्त्री, कृषि मन्त्री, सभामुख, उपप्रधान, गृह र सञ्चार मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री भए। लगातार सांसद बन्दै आएका उनी २०७४ मा भने पराजित भए। उनी पटक-पटक सरकारमा सहभागी भए पनि विवादमा भने परेनन्।

सभामुख हुँदा गोल्छे सार्कीले जुत्ता हिर्काएको घटना अनि छोरा चिन्तन पौडेललाई राजनीतिक नियुक्ति र सम्धी युवराज भुसाललाई नेपाल राष्ट्र बैकको गभर्नर बनाउन खोज्दा भने उनको आलोचना भएको थियो। भुसालपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत भएका थिए। पार्टी पङतिमा सानो चित्तको नेताको रूपमा उनलाई हेरिने गरे पनि उनी पैसाका पछि भने दौडिएनन्। उनको जीवनयापन मध्यमवर्गकै थियो।

आफ्नैलाई सकेनन् मनाउन

१३ औँ महाधिवेशन सकिए लगत्तै डा शेखर कोइरालाले अब पार्टीको सभापतिको उम्मेदवार हुने घोषणा गर्दा उनले त्यसलाई गम्भीर रूपमा लिएनन्। शेखर व्यक्तिगत सङ्गठन बनाउन जिल्ला दौडाहामा हिँड्दा उनी संसद् बन्न सकिन भन्ने तोडमै अलमलिए।

२०७४ को निर्वाचनमा पार्टी लज्जास्पदरुपमा पराजित हुँदा उनले पार्टीभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेनन्। देउवाको कार्यशैलीको आलोचना गरे पनि उनले सभापतिलाई अप्ठ्यारो पर्ने गरी कुनै काम गरेनन्।

लामो समय पार्टीका भातृ सङ्गठनहरू मनोनीत पदाधिकारीबाट चल्दा समेत उनले निर्वाचन गराउन नेतृत्वलाई दबाब दिन सकेनन्। संस्थापनइतर समूहबाट महामन्त्री शशाङ्क कोइराला पार्टीमा थिए। तर उनले आफ्नै समूहका महामन्त्रीलाई समेत सक्रिय बनाउन सकेनन्।

संस्थापनइतर समूहभित्रै विभिन्न समूहहरू सक्रिय हुँदै गएका थिए। तेस्रो धारको रूपमा सिटौला सक्रिय हुँदा उनलाई संस्थापनइतर समूहमा ल्याउन उनले सहजीकरण गर्न सक्थे। तर गरेनन्। संस्थापनइतर समूह शेखर र शशाङ्कमा विभाजित हुँदै गएको थियो। त्यसैमा प्रकाशमान सिंह समेत थपिएका थिए। आन्तरिक रूपमा उप समूहहरू सक्रिय हुँदा उनले सबैलाई एकीकृत गर्न सकेनन्।

देउवा विरुद्ध बिमलेन्द्र निधीले विद्रोह गरेपछि उनलाई आफ्नो समूहमा ल्याउन सक्ने पौडेलले। तर प्रयासै गरेनन्। सांसदमा पराजित भएपछि उनी पार्टी सङ्गठनमा सक्रिय हुन सक्थे। तर औपचारिक कार्यक्रमहरू बाहेक अन्यमा उनले चासो राखेनन्।

उनी शेखरलाई सभापतिमा कसरी रोक्ने अनि शशाङ्कलाई कसरी मनाएर आफैँ सर्वसम्मत उम्मेदवार बन्ने भन्ने आन्तरिक खेलमै लागे। शेखरलाई रोक्न उनले प्रकाशमानलाई समेत उम्मेदवारको रूपमा अगाडि बढाउने प्रयास गरे। आखिर उनले शेखरलाई रोक्न हतियारका रूपमा जसलाई प्रयोग गरे उसैले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारको रूपमा समर्थन नगर्दा बोहोराटारको आँगनमा आँसु पुच्छै राजनीतिक यात्राको वनवास घोषणा गर्न बाध्य भए।

मंसिर २५, २०७८ शनिबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।