बदला भावले बदलेको सिटौलाको रणनीति

बदला भावले बदलेको सिटौलाको रणनीति

१३ औँ महाधिवेशनबाट कांग्रेसभित्र तेस्रो धारको चिनारी बनाएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा मात्रै देउवालाई साथ दिएका थिए। पहिलो चरणमा उनी नै उम्मेदवार बनेका थिए सभापतीको। उनले यसपटक कुनै पदमा पनि उम्मेदवारी दिएनन्। सिटौलाले १४ औँ महाधिवेशनमा उम्मेदवारी दर्ताकै दिन देउवाको समर्थन गरे।  

महामन्त्री र सहमहामन्त्री सहित केही केन्द्रीय सदस्य पदमा सम्झौता गरेका सिटौलाको देउवालाई समर्थन गरेर एक तिरबाट दुई सिकारको प्रयास गरेका छन्। पहिलो रणनीति  आफ्नो समूह छाडेका गगन थापासँग बदला लिने । अनी दोस्रो विश्वप्रकाशलाई महामन्त्री हुनबाट रोक्ने। यी दुबै रणनीति सफल बनाउन उनको सहयोगी बनेका छन्  प्रदीप पौडेल। 

१३ औैं महाधिवेशनमा सिटौलाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका गगनले यो विचमा उनको साथ छाडेर शेखर कोइरालातिर लागे। सिटौलाले पटक-पटक भनेका छन्' जसले मलाई साथ दिन्छ म उसको लागि सधै उभिन्छु। धोका दिनेलाई हैन।'

गगनहिँडे पनि प्रदीप उनकै समूहमा टिकिरहे। गगनले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको केही समयपछि प्रदीपले महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए। तर उम्मेदवार हुनेमा उनमै विश्वास देखिएको थिएन। तर प्रदीप आफैंले नपत्याएको पदमा उनले शनिबार उम्मेदवारी दिए त्यो पनि संस्थापक समूहको उम्मेदवारको रुपमा। यो असम्भवलाई सम्भव बनाए उनै सिटौलाले।

त्यसका लागि उनी कुनै पदमा पनि उम्मेदवार बनेनन्। उनले उद्घाटन शत्रदेखि मनोनयनको दिनसम्म पनि केवल भनिरहे प्रदीप। प्रदीपलाई महामन्त्री बनाउँदा एक अन्य युवा नेतामा आफ्नोबारे सकारात्मक शन्देस जाने त छँदैछ विचैमा समूह छाडेकोमा गगनसँग बदला लिने लक्ष्य पनि पुरा हुनेछ उनको।

उता सिटौलाको गृह जिल्ला झापाबाट महामन्त्रीको उम्मेदवार भएका शर्मा उम्मेदवारी दर्ता गर्नु अगाडिसम्म देउवाको टिममै थिए। तर सिटौलाले विश्वप्रकाशलाई देउवा टिमबाट बाहिरै निकाले। पार्टी प्रवक्ता समेत रहेका शर्मा इतर प्यानलभित्रको प्रकाशमान सिंह समूहको उम्मेदवार हुनपुगे।  

विश्वप्रकाश महामन्त्री भए गृह जिल्लामै कमजोर हुने सिटौलाको बुझाइले काम गरेको देखिन्छ। पूर्व मनोनीत महामन्त्री मात्र रहेका सिटौलाको जिल्लामा विश्वप्रकाश चुनौतीको रूपमा देखिएका छन्। विश्वप्रकाशलाई रोक्न बारम्बार लागि परेका सिटौलाले देउवाकै सहयोगमा उनलाई पछि पारेका छन्। विगतमा देउवाको समर्थनमा लागेका विश्वप्रकाशलाई बाहिर राखेर कटु आलोचक प्रदीपलाई सिटौलाको पहलमा देउवाले उम्मेदवार बनाए। 

यसअघि झापामा सिटौला विरुद्ध बोल्न नसक्ने अवस्थामा विश्वप्रकाशले जिल्ला सभापतिको उम्मेदवार उठाएर चुनौती दिएका थिए। त्यससँगै १२ औँ अधिवेशनमा विश्वप्रकाशलाई जिल्ला सभापतिमा पराजित गरेका उद्धव थापालाई सिटौलाले प्रदेश १ को सभापति बनाए। देउवासँगको समीकरणमा सफल भएका उनी विश्वप्रकाशलाई तत्कालका लागि रोक्न सफल भए।  

यसअघि गगन र विश्वप्रकाशकै उत्पादन मानिने प्रदीप १४ औँ महाधिवेशनमा यी दुबैको चुनौती बने। नेपाल विद्यार्थी सङ्घको १० औँ महाधिवेशनमा विश्वप्रकाशकै समर्थनमा सभापति भएका प्रदीप अहिले विश्वप्रकाशलाई टिमबाट निकालेर उनकै प्रतिस्पर्धी बनेका छन्। गगनलाई रोकेर प्रदीपलाई सभापति बनाएका विश्वप्रकाशको लागि अहिले दुवै उम्मेदवार महामन्त्रीको यात्रामा चुनौती बनेका छन्। 

मंसिर २५, २०७८ शनिबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।