मनोनयनपछि शेरबहादुरले भने : सन्यास लियोस् भन्ने इच्छा पुरा हुन सकेन है,धन्यवाद !

मनोनयन दर्ता गरेर उनीभन्दा अगाडि उनलाई समर्थन गरेका कृष्णप्रसाद सिटौला थिए। उनलाई सञ्चारकर्मीले घेरेर प्रश्नहरू सोध्न थाले। किन उम्मेदवारी नदिएको?, प्रदीप पौडेलको जित्ने आधार के हो ? यस्तै-यस्तै।
उनी उत्तर दिँदै थिए' मैले युवाहरूको तर्फबाट प्रदीप पौडेललाई...।'
प्रधानमन्त्री पछाडि उभिएका थिए। सिटौलालाे किन कुनै पदमा उम्मेदवारी नदिएको भन्दै थिए। देउवालाई चारैतिरबाट सादा पोसाकका सुरक्षाकर्मीले घेरा हालेका थिए। घेराभित्र उनीसँगै गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि थिए। उनले चारैतिर हेरेर हात हल्लाए।
सिटौला बोल्दाबोल्दै एक सञ्चारकर्मीले' प्रधानमन्त्री ज्यू, अब प्रधानमन्त्रीले बोल्नुहुन्छ' भन्दै उनीतिर माइक तेर्साए। मोबाइलदेखि अनेक सामाग्रीबाट लाइभ गरिरहेकाहरूको कल्याङमल्याङका बिच देउवा बोल्न खोजे। हल्ला धेरै नै भयो।
उनले माइकतिर टाउको ल्याउँदै भने' सुन्नुस्...सुन्नुस्, सन्यास लियोस् भन्ने तपाइहरूको इच्छा पुरा भएन धन्यवाद।'
उनी भर्याङबाट तल झर्दै गए। सुरक्षाकर्मीले घेरा बढाउँदै लगे। उनी तल ओर्लिएर बायाँतिर लागे। देउवाको स्कुप बाइटको आकाङ्क्षी सञ्चारकर्मीहरूले पच्छ्याइरहे' एक शब्द बोलिदिनुस् न' भन्दै। तर उनी थप बोल्ने मुडमा थिएनन्। कसैले भिडबाट प्रश्न गर्यो' टिम टुङ्ग्याउन त धेरै समय लगाउनुभयो नि ?'
उनले प्रश्नको वास्ता गरेनन्। मुखमा लगाएको मास्क अलिकति तल सारे। फेरि के सम्झे कुन्नि माथि तानिहाले।
'टिम कसरी टुङ्ग्याउनु भयो?' प्रश्न आइरहेकै थियो।
उनले आफ्नो चिरपरिचित शैलीमा उत्तर दिए' अब टुङ्गियो के गर्ने।'
वरिपरिका गलल हाँसे। अनि खै के सम्झिए कुन्नि उनले भने' सहमतिमा टुङ्गिएको हो है।'
त्यही बिचमा थिए ऋषि धमला। उनले प्रश्न गरी हाले' अब तपाईँको नेतृत्वमा नेपाली काँग्रेसको बहुमतको सरकार बनाउने हो ?'
उनले छोटो उत्तर दिए' त्यो त मैले हिजो नै भनिसके नि।'
उनले शुक्रवारको उद्घाटन शत्रमा अब आउने स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेसको सरकार बनाउने भन्दै महाधिवेशन प्रतिनिधीहरुसँग भोट मागेका थिए मञ्चबाटै।
ऋषिले के छाड्थे। उनले अर्को प्रश्न सोधे' पहिलो चरणमै सभापति जित्नु हुन्छ ?'
उनले पहिलो चरणमै सभापतिमा निर्वाचित हुन सिटौलाबाट आएको महामन्त्रीको उम्मेदवार स्वीकार गर्दै पार्टीका घाघडान दाबेदारलाई केन्द्रीय सदस्यमा मनाएका थिए। दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबिच प्रतिष्पर्धाहुँदा अहिले विभाजित संस्थापनइतर समूह एक हुने जोखिम छ नै।
तर उनले जित्छु भनेनन्।
'त्यो त तपाइले भन्ने हो' भन्दै उनी बाहिर लागे।
मंसिर २५, २०७८ शनिबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।