डा. अरुणाको अनुभूति : सुत्केरी बिदा माग्दा जागिरबाटै निकालिएँ

डा. अरुणाको अनुभूति : सुत्केरी बिदा माग्दा जागिरबाटै निकालिएँ
तस्बिर : कृष्पा श्रेष्ठ

रसियाबाट एमबिबिएस अध्ययन पूरा गरेर २०४३ मा नेपाल फर्किएको एक महिनापछि डा. अरुणाले प्रसूति गृहमा करार जागिरेका रुपमा काम गर्न थालिन्। 

त्यो बेला प्रसूति गृहको जागिर निकै सकसपूर्ण भएको अनुभव उनीसँग छ। ‘प्रसूति गृहमा काम गर्दा थोरै चिकित्सक भएकाले राति समेत नसुती लगातार दुई दिनसम्म ड्युटीमा खटिनुपथ्र्यो। निदाउन नपाउँदा बिरामीप्रति झर्को समेत लाग्ने गथ्र्यो,’ डा अरुणा सुनाउँछिन्। 

काम गर्नै समस्या भएपछि प्रसूति गृहका तत्कालीन निर्देशक डा. दिव्यश्वरी मल्ललाई चिकित्सकको संख्या बढाउन उनी लगायत केही चिकित्सकले अनुरोध गरे। 

अस्पतालमा कामको साह्रै चाप भएपछि उनी लगायतका केही चिकित्सकले कालोपट्टि बाँधेर काम गर्न थाले। पञ्चायतको समयमा अस्पतालमा डाक्टरले कालोपट्टि बाँधेर काम गर्नु निकै चुनौतीपूर्ण हुन्थ्यो, त्यसमाथि पनि करारका चिकित्सक। 

बढी बोल्ने भएकाले कालोपट्टि बाँध्नेको नेतृत्व लिने डा. अरुणाले नै हो भन्ने अस्पताल प्रशासनलाई परेछ। 

एमबिबिएस सकेपछि डा. अरुणाको मनोरोग विशेषज्ञ डा. विश्वबन्धु शर्मासँग विवाह भएको थियो। प्रसूति गृहमा नै जागिरे हुँदा उनकी छोरी जन्मिइन्। सुत्केरी बिदा बस्दा अस्पतालमा उनको करार सकिन १० दिन बाँकी थियो। त्यो बिदा पाइन्। तर, थप सुत्केरी बिदा पाइनन्।

सुत्केरी बिदा दिनुको साटो अस्पतालले अरुणालाई जागिरबाटै हटायो। सुत्केरी अवस्थामा ‘तपाइँको कामको जरुरत छैन’ भनेर अस्पतालले पत्र दियो। प्रसूति गृहमा अरुणाले एक वर्ष काम गरेपछि जागिरबाट हात धुनुपर्यो।

अस्पतालमा आवाज उठाउने नेतृत्व लिएका कारण नै आफूलाई जागिरबाट निकालिएको डा. अरुणा बताउँछिन्। उनले सुत्केरी अवस्थामा जागिरबाट हात धुनुपरेको तितो अनुभूति सुनाइन्, ‘त्यो बेलाको पीडा सम्झँदा त अहिले पनि कसरी सहें होला जस्तो लाग्छ।’

जागिर छुटेपछि डा. अरुणालाई जीविका चलाउन समेत समस्या भएको थियो रे। सुत्केरी अवस्थामा अपमानित ढंगले जागिरबाट निकालिँदाको त्यो क्षण डा. अरुणाको जीवनकै तितो क्षण हो

त्यहीं काम गर्दा उनले दुई पटक स्थायी जागिरका लागि लोकसेवा परीक्षा दिइन्। तर छनोट हुन सकिनन्। 

महिलाको मृत्युले गर्भपतनको आवाज
प्रसूति गृहमा नै काम गर्दा एक जना महिलाको मृत्युको घटना पनि डा. अरुणाको मानसपटलमा ताजै छ।

२०४३ मंसिर महिनाको एक शनिबार साँझ डा. अरुणा आकस्मिक कक्षमा काम गरिरहेकी थिइन्। करिब ३३ वर्षकी हरियो साडी, हरियै चोलो लगाएकी बिरामी महिलालाई उपचारका लागि ल्याइयो। महिला अस्पताल भर्ना भइन्। उनलाई रक्तश्राव भइरहेको थियो। अवस्था निकै नाजुक थियो। 

समस्या पहिचान गर्न नसकेपछि सिनियर चिकित्सकलाई बोलाइन् डा. अरुणाले। त्यसपछि थाहा भयो, ती महिलाले असुरक्षित गर्भपतन गराएकी रहिछन्।

उपचार थालियो। अप्रेसन थिएटरभित्र लगेर महिलाको रक्तश्राव रोक्ने प्रयास भयो। तर डा. अरुणाकै अगाडि महिलाको मृत्यु भयो।

पाँच वटा बच्चा जन्माइसकेकी गर्भवती भएकी ती महिलाले छैटौं बच्चा नजन्माउने विचारले गाउँमा नै परम्परागत तरिकाले असुरक्षित गर्भपतन गराएकी रहिछन्। डा. अरुणा सम्झिन्छन्, मलाई लाग्यो, यिनी अन्तिम श्वास फेर्न अस्पताल आइपुगिछन्।’ ती महिलाको अनुहार डा. अरुणा अहिले पनि सम्झिन्छिन्। 

महिलाको मृत्युको त्यो घटनापछि नै हो डा. अरुणाले नेपालमा असुरक्षित गर्भपतन रोक्न गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाउन थालेको। 

विशेषगरी गाउँघरका निमुखा महिला नै असुरक्षित गर्भपतनको समस्यामा परेको देखेपछि सुरक्षित गर्भपतनका लागि उनले आवाज उठाउन थालिन्। 

गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भन्दा चिकित्सकहरुले नै उनलाई हँसिमजाकमा उडाउँथे। तर जसले उनलाई उडाउँथे तिनै चिकित्सकले निजी क्लिनिकमा गर्भपतन गराउने उनी बताउँछिन्।

आफूले आवाज उठाएको करिब १२ वर्षपछि सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पाएको उनले सुनाइन्। 

त्यो बेला केही महिला सांसदले नेपालमा गर्भपतनलाई कानुनी मान्यता दियो भने महिलाहरु वेश्यावृत्तिमा लाग्छन् भन्ने समेत तर्क गरेको उनको मानसपटलमा ताजै छ। बाध्यात्मक अवस्थामा गर्भपतन गर्न पाउनुपर्ने लामो बहस चलेअनुसार नै उनको सपना साकार भयो। तर अहिले २८ हप्तासम्मको अनिच्छित गर्भपतन गर्न पाउने कानुनी व्यवस्था आएको छ। त्यो गलत भएको उनले प्रष्ट मत राख्दै आएकी छन्।

आफैंलाई मानसिक समस्या
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार नियोजन महाशाखामा करार जागिरेका रुपमा काम गरिरहँदा डा. अरुणाकी दोस्रो छोरी जन्मिइन्।

दोस्रो छोरी जन्मिएपछि उनी पोस्टपार्टम डिप्रेसनको सिकार भइन्। सुत्केरीपछि हुने मानसिक समस्यालाई चिकित्सकीय भाषामा पोस्टपार्टम डिप्रेसन भनिन्छ। डा. अरुणाले सुनाइन्, ‘जब आफूलाई पर्छ अनि मात्रै बोध हुँदो रहेछ।’

मानसिक समस्या भएको अवस्थामा उनलाई खान मन नलाग्ने, बोल्न मन नलाग्ने, केही कुराको पनि वास्ता नलाग्ने जस्ता लक्षण करिब एक महिनासम्म देखिए।

डा. अरुणाका श्रीमानले मानसिक समस्या भएको बताए पनि सुरुसुरुमा त उनी आफूलाई मानसिक समस्या भएकोबारे स्वीकार्न तयार भइनन्। डा. अरुणालाई लाग्थ्यो,‘म त बहादुर महिला हुँ, कहाँ मानसिक समस्या हुन्छ र?’

तर, यस्तो समस्या भएको एक महिनापछि एउटा अंग्रेजी पत्रिकामा सुत्केरीपछि हुने मानसिक समस्याका बारेमा अरुणाले पढिन्। त्यसपछि मात्रै आफूलाई पनि मानसिक समस्या भएको उनले स्वीकारिन्।

मानसिक समस्या भएको एकिन गरेपछि उनले श्रीमानले दिएको औषधि सेवन गर्न थालिन्। करिब ६ महिनाको औषधि सेवनपछि मानसिक समस्या समाधान भयो। डा. अरुणाले सुनाइन्, ‘श्रीमानले दिएको औषधि खान सुरु गरें। ६ महिनाजति खाएपछि विस्तारै ठिक भयो।’

मानसिक समस्या भएकोबारे परिवारमा थाहा भएपनि डा. अरुणाले छरछिमेक, साथीभाइ तथा चिनेजानेकालाई आफू मानसिक समस्यामा परेकोबारे खुलाउन सकिनन्। त्यो बेला मानसिक समस्या छ भन्ने आँटै गरिनन् उनले। चिकित्सक नै भए पनि करिब २० वर्षपछि मात्रै आफू मानसिक समस्यामा परेको खुलाएकी थिइन्।

डा. अरुणाले आफूलाई मानसिक समस्या भएकोबारे पत्रिकामा लेखेपछि एक जना चिनेका मान्छेले बाटोमा भेटेर तपाइँ त बहुला हुनुभएको थियो, ठिक हुनुभयो भनेर समेत सोधे। त्यो प्रश्नले उनलाई लाग्यो, मानसिक समस्याको बारेमा अब बोल्नुपर्छ।

त्यसपछि मानसिक स्वास्थ्यका विषयमा पनि जनचेतना जगाउन थालिन्। यस विषयमा वकालत गर्न थालिन्।

३० भन्दा बढी दैनिकी लेखिएका डायरी 
२०१७ सालमा काठमाडौंमा जन्मिएकी अरुणालाई बाल्यवस्थामा आर्थिक अभाव थिएन। उनका बुबा चन्द्रधर उप्रेती वकालत पेसा गर्थे। आमा माधुरी उप्रेती भारतीय मुलकी हुन्।

अरुणाका बुबा सधैं पढाइ–लेखाइमा जोड दिन्थे। छोरी डाक्टर बनोस् भन्ने बुबाको इच्छा थियो। लेखनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने अर्ति दिइरहन्थे। आफूले थाहा पाएको कुरा लेखिहाल्नुपर्छ भनेर बुबाले डायरीको व्यवस्था गरिदिन्थे। बुबाको उपदेश तथा प्रेरणा अनुरुप नै अरुणाले दैनिक गरेका क्रियाकलापका बारेमा डायरीमा टिप्दै गइन्। 

जहाँ गए पनि त्यो ठाउँ तथा गतिविधिका बारेमा उनी डायरीमा उतार्थिन्। अहिले पनि उनको त्यो बानी गएको छैन। डा. अरुणाका घरमा अहिले पनि यस्ता दैनिकी लेखिएका डायरीको संख्या ३० भन्दा बढी नै पुगिसकेका छन्। उनी नौलो लागेको कुनै कुरा डायरीमा टिपिहाल्छिन्।

प्रशंसा पाउन अध्ययनमा जोड
अरुणा सानैदेखि अध्ययनमा निकै मिहिनेत गर्थिन्। उनले अध्ययनमा मिहिनेत गर्नेको पनि कारण रहेछ। परिवारका अन्य सदस्यको तुलनामा अरुणा नराम्री ठहरिएकी थिइन् रे। उनलाई कुरुप भन्थे। बाँदरनी, कैली भन्दै जिस्क्याउँथे। आफूलाई आफन्त तथा साथीहरुले गिज्याएको सम्झँदै उनी भन्छिन्, ‘कसैले त यति नराम्री छ। यसलाई कसले विवाह गर्ला समेत भन्थे।’ सबैले कुरुप भनेपछि उनी ऐना पनि हेर्दैनथिइन् रे।

सबैले गिज्याउन थालेपछि अरुणा कसरी प्रशंसनीय काम गर्न सकिएला भन्ने सोच्न थालिन्। उनको बाल मनोविज्ञानले निष्कर्ष निकाल्यो, राम्रो पढ्नुपर्छ। त्यसपछि तारिफ पाइन्छ।

उनले स्कुल पढ्दा नै पाठ्यक्रम बाहेकका मनग्य पुस्तक पढिन्। आफूले पढेका पुस्तकका बारेमा साथीभाइ, आफन्त तथा शिक्षकहरुसँग कुरा गर्थिन्। नभन्दै उनी पढ्नेको कोटीमा पर्न थालिन्। अरुणा स्कुल पढ्दै कविता पनि लेख्थिन्। जसले गर्दा सबैको प्रशंसा पाउन थालिन्। 

यसले उनको अनुहारको सुन्दरता गौण हुँदै गयो। त्यही पढ्ने लेख्ने बानीले नै अहिले पनि उनी लेखपढ नगरी बस्नै सक्दिनन्।

बाल्यकालमा मन नदुखेको भए अहिले आफूले उत्कृष्टता देखाउन सक्दिनथें होला भन्ने लाग्छ उनलाई। त्यो बेला अरुले कुरुप भनेर गिज्याउनु नै आफ्ना लागि वरदान भएको उनको अनुभव छ।

अरुणाले २०३३ सालमा ज्ञानेश्वरस्थित महेन्द्र भवन स्कुलबाट एसएलसी उत्तीर्ण गरिन्। तर अध्ययन राम्रो हुँदाहुँदै पनि अक्षर नराम्रो भएका कारण उनले दोस्रो श्रेणीमा चित बुझाउनु प¥यो। त्यसमाथि पनि आफूलाई सजिलो लाग्ने विषय अंग्रेजी र नेपालीमा नै उनको नम्बर कम आएछ।

एसएलसीपछि एचए
एसएलसीपछि अरुणाले चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस) मा २०३३ मा हेल्थ असिस्टेण्ट विषय अध्ययन थालिन्। त्यो ब्याचमा भर्ना भएका दुई सय विद्यार्थीमध्ये ६ जना मात्र छात्रा थिए। उनको ब्याचमा अहिलेका नेता प्रकाशशरण महत, नारायणकाजी श्रेष्ठले पनि एचए पढेका थिए।

२०३६ मा एचए अध्ययन पूरा गरेकी अरुणा कालिकास्थानबाट महाराजगञ्ज हिँडेरै ओहोरदोहोर गर्थिन्। घरबाट दैनिक दुई रुपैयाँ पाउँथिन्। तर, खर्च नगरी बचाउँथिन्। त्यो बेलाको हिंड्ने बानीले गर्दा नेपालका दुर्गम ठाउँहरुमा जाँदा हिंड्न गाह्रो नभएको उनको अनुभव छ। उनी नेपालका ७३ जिल्ला पुगिसकेकी छन्।

रसियामा एमबिबिएस
एचए अध्ययनपछि २०३७ मा अरुणा एमबिबिएस अध्ययनका लागि रसिया पुगिन्। रसियामा पढ्दा चिकित्सा विज्ञान मात्रै नभएर इतिहास पढ्नुका साथै त्यहाँ सामाजिक स्वास्थ्य विषय पनि अध्ययन हुन्थ्यो। जसले गर्दा उनलाई समुदाय स्तरमा पुगेर काम गर्न सहज भयो। 

सामाजिक विषयको अध्ययनले  रसियामा बिरामीलाई अनावश्यक औषधि तथा भिटामिन प्रयोग गर्न नहुने र विवेकशील ढंगले औषधि चलाउनुपर्ने ज्ञान सिकेको उनले सुनाइन्। बिरामीले घरमा कस्तो खानपान गर्छन् तथा कस्तो जीवनशैली अपनाउँछन् भन्ने कुरालाई पनि ख्याल गनुपर्छ भन्ने रसियाको अध्ययनबाट राम्रो ज्ञान पाइन् उनले।

रसियामा अध्ययन गर्दा युरोपका विभिन्न ठाउँ पनि घुमिन अरुणा। रसियाको खार्कोभ मेडिकल युनिभर्सिटीबाट सात वर्षे एमबिबिएस अध्ययन पूरा गरी २०४३ मा नेपाल फर्किइन्। रसियाबाट फर्किएको एक महिनापछि नै अरुणाले प्रसूति गृहमा करारमा काम गर्न थालेकी थिइन्।

एउटा टर्निङ प्वाइन्ट
प्रसूति गृहबाट निकालिएपछि डा. अरुणाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका परिवार नियोजन महाशाखामा करार जागिरेका रुपमा काम गर्न थालिन्।

छोरी जन्मिएको दुई महिनापछि उनले परिवार नियोजन महाशाखामा काम करार जागिरेका रुपमा काम गर्न थालिकी हुन्। त्यहाँ उनले सात वर्ष विताइन्। महाशाखा अन्तर्गत रहेको वीर अस्पतालमा काम गरिन्। 

साना छोरीहरुलाई छोडेर उपत्यका बाहिर गइरहनुपर्ने भएकाले उनले त्यहाँको जागिर छाडिन्। परिवार नियोजन महाशाखामा काम गर्दा नै उनले विभिन्न जिल्ला तथा गाउँ गएर काम गर्ने मौका पाएकी हुन्। 

परिवार नियोजन महाशाखामा काम गर्नु नै डा. अरुणाका लागि जीवनको टर्निङ प्वाइन्ट बन्यो। त्यहाँ काम गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग जोडिएर काम गर्ने मौका पाइन् उनले।

परिवार नियोजन महाशाखामा काम गर्दा पनि गाउँगाउँमा गएर महाशाखाका चिकित्सकले गर्भपतन गराएको उनले देखिन्। गर्भपतन गराएर बन्ध्याकरण गराएको देखिन्। त्यो सरकारको नीति नै नमिलेको उनले देखिपछि गर्भपतनका विषयमा थप आवाज उठाइन्।

असफलताले नै आफू सफल भएको डा. अरुणाको अनुभूति छ। 

असफलताबाट सफलताको बाटो
परिवार नियोजन महाशाखामा काम गर्दा डा. अरुणाले सन् १९९७ मा समाजशास्त्र विषय अध्ययनका लागि नेदरल्याण्ड पुगेर १६ महिने कोर्ष गरिन्। त्यसपछि नेपालमा जर्मन संस्था जिटिजेटमा कन्सल्ट्यान्टका रुपमा काम गरिन्।

सो संस्थामा काम गर्दा अछाम, डोटी लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला घुम्ने अवसर पाइन्। त्यहाँको स्वास्थ्य समस्याको बारेमा अध्ययन गरिन्। नेपालका पश्चिमका क्षेत्रहरुमा पाठेघर खस्ने समस्याको बारेमा अध्ययन गरी रिपोर्ट बुझाएपछि सरकारले सन् २००६ बाट पाठेघर खसेका महिलाको निःशुल्क उपचार गर्ने नीति बनाएको उनले सुनाइन्। 

जर्मन संस्थानमा केही समय काम गरेपछि इन्टरनेसनल मेडिकल कोर नामक अमेरिकन संस्थाबाट सन् २००२ मा अफगानिस्तान गएर काम गरिन्। त्यहाँ उनले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा काम गरिन्। 

शरीर नै ढाकेर बुर्का लगाएर हिँड्दा उनलाई सुरुमा निकै असहज भएको थियो। असुरक्षाका कारण जथाभावी हिँड्न डर हुन्थ्यो। नेपालमा जस्तो त्यहाँ खुलेर बोल्न पनि उनलाई असहज भयो। बस्न मन लागेन। अरुणा अफगानस्तानमा करिब ६ महिना काम गरेर फर्किन्। अहिले त्यहाँ कसरी काम गरें हुँला जस्तो लाग्छ उनलाई। 

अफगानस्तानपछि अक्सफाम नामक संस्थामार्फत सन् २००४ मा इरान पुगिन्। तीन महिना इरानमा टेन्टमा बसेर काम गरिन्। तर इरान बस्दा भने अफगानस्तानभन्दा महिला निकै स्वतन्त्र तथा सक्रिय रहेको देखिन्। त्यसपछि सोही संस्थामार्फत केही महिना काम गरिन्।

त्यसैगरी उनले सुडान, लाओस, चीन, श्रीलंका जस्ता मुलुकमा रहेर सन् २०१० सम्म काम गरिन्। त्यसपछि भने उनी नेपालमा नै बसेर काम गर्न थालिन्। केही आर्थिक जोहो पनि भयो। 

त्यसपछि भने उनले नेपालमा नै बसेर काम गर्ने निधो गरिन्। ब्रिटेन नेपाल मेडिकल ट्रष्टमा प्राविधिक सल्लाहकारका रुपमा २०११ देखि २०१४ सम्म तीन वर्ष काम गरिन्। नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा पनि अक्सफाममा आवद्ध भएर करिब ६ महिना काम गरिन्। त्यसपछि भने उनले जागिर खान छाडिन्। 

विभिन्न संस्थाहरुमा आवद्ध भएर सल्लाहकारका रुपमा काम गरिन्। पोषणका बारेमा कलम चलाउन थालिन्। उनले पोषणका विषयमा धेरै काम गरेकी छन्। धेरैले त उनलाई पोषणविद्का रुपमा समेत चिन्छन्। तर आफू पोषणविद् नभएको उनी सुनाउँछिन्। धेरै लेख्ने भएकाले कयौंले त पत्रकार भन्ने गरेको समेत सुनाउँछिन् डा. अरुणा। 

नेपालमा सन् २००२ देखि अस्पतालमा बिरामी जाँच्न छोडे पनि समुदायस्तरमा गएर बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेको उनी बताउँछन्। अस्पतालको बिरामीको उपचारको अभ्यासका कारण नै जनस्वास्थ्यको विषयमा वकालत गर्न सकेको उनको अनुभूति छ।

जनस्वास्थ्यको विषयमा वकालत गरेर गर्भपतनसँग सम्बन्धित कानुन लगायत जनस्वास्थ्यसँग सम्बन्धित नीति तथा कानुन स्थापित गर्न सफल भएकोप्रति उनलाई गर्व लाग्छ। उनी भन्छिन्, ‘मेडिकल अभ्यासमा काम गरेको हुनाले नै मलाई जनस्वास्थ्यमा काम गर्न प्ररित ग¥यो।’

डा. अरुणाका विभिन्न मिडियामा सयौं लेख प्रकाशित छन् भने ‘खाना खानुभयो?’, ‘भ्रमपूर्ण विज्ञापन’ र ‘हाम्रो स्वास्थ्य’ पुस्तक प्रकाशित छन्। डा. अरुणा उप्रेतीले विभिन्न पुस्तकको अनुवाद पनि गरेकी छन्।

मंसिर २५, २०७८ शनिबार १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।