रामचन्द्रले आँखा पुछ्दै भने' शशाङ्कले त मानेका थिए, शेखर र प्रकाशमानले मानेनन्

रामचन्द्रले आँखा पुछ्दै भने' शशाङ्कले त मानेका थिए, शेखर र प्रकाशमानले मानेनन्

काठमाडौँ : पार्टीको संस्थापनइतर समूहमा सभापतिको एकल उम्मेदवारीमा सहमति नजुटेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवारीबाट पछाडि हटे। उम्मेदवारी दर्ताको दिनसम्म पौडेलसहितका नेता उनलाई सर्वसम्मत या डा शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एक उम्मेदवार बनाउन लागिपरे पनि सफल भएनन्।

कोइराला र सिंह सभापतिको उम्मेदवार बन्ने नै भनेर तयारीमा लागेपछि अन्तिममा पौडेल पछाडि हटे। प्रकाशमान सिंहले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाएर आफ्नो उम्मेदवारी घोषणा गरिसके। शेखर टिम बनाउन लागिरहेका छन्। उनको समूहबाट महामन्त्रीमा गगन थापा फाइनल भए पनि अन्य पदाधिकारी फाइनल भएको छैन।

पार्टी सभापतिमा उम्मेदवारी नदिने भन्दै पौडेलले बोहोराटारमा आफ्नो घरको आँगनमा पत्रकारहरूसँग कुरा गर्दै प्रकाशमान र शेखरले सभापतिको उम्मेदवार बन्न अड्डी कसेपछि आफू यो दलदलमा नफस्ने भन्दै सभापतिको उम्मेदवारी नदिने निर्णय गरेको बताए।

'साथीहरू म पनि लड्छु भनेर लाग्नुभयो। मैले कि मलाई साथ दिनुस् कि २ जानमध्ये मिलेर एक जना लड्नुस् भन्दा मान्नुभएन,' उनले भने' ए बाबा एक जना भइदिनुस् खुलेर सहयोग गर्छु भन्दा डा शशाङ्क कोइरालाले मलाई मान्नुभयो तर शेखर र प्रकाशमानले अड्डी लिनुभयो।'

उनले शेखर र प्रकाशमानले नमानेपछि भइगयो भनेर आफू दलदलमा फस्न नचाहेको बताएका थिए।

'कि मलाई सहयोग गर्नु कि एक जना हुनुस् भन्दा तयार नभएपछि भइगयो त भनेर तपाइहरू राजनीति गर्नुस्, म यो दलदलमा पस्न चाहन्न भने,' उनले भने।

मंसिर २५, २०७८ शनिबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।