कांग्रेसका गुट सङ्कटमा : देउवा समूहमा विद्रोहको चेतावनी, संस्थापनइतर छिन्नभिन्न
काठमाडौँ : कांग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनको समय सुरु भयो तर उम्मेदवारी परेको छैन। नेताहरू समूहमा बाँडिएर कसलाई कुन पदमा उम्मेदवार बनाउने छलफलमै छन्।
संस्थापनले सभापति टुंग्याएपनि अन्य पदको उम्मेदवार टुङ्ग्याउन सकेको छैन। बालुवाटारमा बैठक बसिरहेको छ। कृष्णप्रसाद सिटौला समूहलाई महामन्त्री दिने सहमतीले शेरबहादुर देउवा आफै समस्यामा परेका छन्।
शुक्रवार उद्घाटन सत्र पछि सिटौला र सभापति देउवा छलफलमा बसेर पौडेललाई महामन्त्री र उमाकान्त चौधरिलाई सह महामन्त्रीको उम्मेदवार बनाउन सहमत भएका थिए। बन्द सत्रमा भेटिएका प्रदीप पौडेललाई सन्चरकर्मीको प्रश्न थियो देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्दै हुनुहुन्छ ? उनको जवाफ थियो ' ८० प्रतिशत स्योर हो बाँकी हेरौँ ।'
बन्द सत्र पछि मध्यरात १२ बजेसम्म देउवा सिटौला वार्ता भयो । तर अझै पक्कापक्की भने नभएको एक नेताले बताए।
पौडेललाई महामन्त्री दिँदा देउवा समूहमा विद्रोहको जोखिम बढेको छ। बालकृष्ण खाँण बढी आक्रोशित देखिएको बैठक स्रोतले बतायो। खाँणले पौडेललाई महामन्त्री बनाए आफू ब्याक नहुने चेतावनी दिएका थिए।
'बैठक माहौल सिटौला अनुकूल छैन। भोट हेरेर मात्र निर्णय गर्ने भए हाम्रो नि भोट देखाउँछौँ भनिरहेका छन् आकाङ्क्षी' देउवा बैठक स्रोतले उकेरासँग भन्यो।
संस्थापनइतर सभापतिमै अड्कियो
रामचन्द्र पौडेल निवास बोहराटारमा संस्थापनइतर समूहको बैठक जारी छ। शुक्रवार गौशाला बैठकमा संस्थापनइतरबाट शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउन सहमति नजिक पुगे पनि प्रकाशमान सिंहले नमानेपछि सहमति हुन सकेन।
जसरी पनि सहमति हुनुपर्छ भन्दै केन्द्रीय सदस्य र कार्यकर्ताले दबाब दिएपछि सिंह बैठकको बिचबाटै निस्किएका थिए। उनी सुजाता कोइरालालाई उपसभापति बनाउने गरी प्यानलको तयारी गरिरहेका छन्। उनी महामन्त्रीमा विश्वप्रकाश शर्मालाई राख्ने प्रयासमा छन्।
उता शेखर कोइराला पनि प्यानल बनाउने कसरतमा छन्। कोइराला समूहले केन्द्रीय सदस्य उम्मेदवारको नाम टुङ्ग्याएर पदाधिकारीमा रामचन्द्र पौडेलको सहमति पर्खिएका छन्। तर सभापतिमा उठ्न पौडेल आफै दबाबमा छन्।
अलमलमा आकाङ्क्षी
सभापति को भन्ने टुङ्गो नलाग्दा संस्थापनइतरका आकाङ्क्षीहरू कुन पदमा उम्मेदवारी दिने निर्णय गर्न सकेका छैनन्। सभापतिमा एक भन्दा बढी उम्मेदवार बनेमा पदाधिकारीमा दाबी गरेकाहरू सदस्यमा उम्मेदवारी दिने सोचमा छन्।
'उपसभापति उठ्ने सम्भावना छ। तर त्यसमा कुरा नमिले केन्द्रीय सदस्यमा मात्र उठ्छु । पौडेलको टिम नहोला। शेखर र प्रकाशमानकोमा के गर्ने ?' कांग्रेस नेता डा रामशरण महतले उकेरासँग भने।
नेता अर्जुननरसिंह केसीले अन्तिमसम्म सहमति हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै भए पदाधिकारी नभए नभए सदस्यमा बस्ने बताए। नेता बलबहादुर केसीले सहमतिको सम्भावना नभएको बताए।
निर्णयको पर्खाइमा सिटौला
देउवाले सहमति गरे पनि समूहबाट पौडेल र चौधरीको पदबारे नटुङ्गिएसम्म पक्का नहुने भएकाले सिटौला देउवा समूहको निर्णयको पर्खाइमा छन्।
देउवा समूहमा पौडेललाई महामन्त्री बनाउनेबारे विवाद छ। कतै सिटौला नै उपसभापतिको उम्मेदवार बन्छन् कि भन्ने आंशका पनि छ।
तर सिटौला समूहका एक नेताले सिटौला पदाधिकारीमा नउठ्ने बताउँदै प्रदीप पौडेलको व्यवस्थापन नै उनको मुख्य प्राथमिकता भएको दाबी गरे।
'उहाँ पदाधिकारी उठ्नु हुन्न। प्रदीपको व्यवस्थापन प्राथमिकता हो। देउवा टिमबाट निर्णय आएपछि दाइले आफ्नो निर्णय लिनुहुन्छ,' सिटौला निकट एक नेताले उकेरासँग भने।
प्रदीप पौडेल सहित युवा टोलीको छुट्टै बैठकपछि सिटौला आफ्नो टिमको छलफलमा छन् ।
मंसिर २५, २०७८ शनिबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।