अलमलिएको कांग्रेस : व्यवस्था बदल्न सफल, समाजको अवस्था बदल्न असफल

अलमलिएको कांग्रेस : व्यवस्था बदल्न सफल, समाजको अवस्था बदल्न असफल

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भइसक्यो। नेताहरू आ–आफ्ना गुट, उपगुटमा बाँडिएर नेतृत्त्व चयन गर्ने चरणमा छन्। लामो समय सत्ता चलाएको कांग्रेसका नेता/कार्यकर्ता समाज रूपान्तरणमा पार्टीको ठूलो भूमिका रहेको दावी गर्दै आएका छन्।

नेपालका ठूला राजनीतिक परिर्वतनमा नेतृत्त्व कांग्रेसले गर्यो। २००७ सालको राणाविरुद्धको आन्दोलन होस् या ०४६ या ०६२-०६३ कै राजनीतिक आन्दोलन होस् यसको नेतृत्त्वको अग्रपङ्तिमा कांग्रेसै रह्यो। 

तर जसरी राजनीतिक परिवर्तनमा सफल नेतृत्त्व गरेको देखिन्छ समाजवादी नीति लिए पनि समाज रूपान्तरणमा भने पार्टी त्यति सफल देखिन्न।

समाजशास्त्री मीना उप्रेतीका अनुसार लोकतान्त्रिक आन्दोलनमा पार्टी सफल भए पनि समाज रूपान्तरणमा असफल हुनुको कारण पार्टीभित्र रहेको अलोकतान्त्रिक विचार हो। पार्टीभित्रको किचलो अनि अलोकतान्त्रिक पद्धतिको प्रभाव नेपाली समाजमा परेको उनको विश्लेषण छ।

‘कांग्रेस ऐतिहासिक दल भएर पनि आफ्नो ऐतिहासिकत्व बचाउन सक्षम रहेन,’ मीना भन्छिन्, ‘समाजलाई कांग्रेसले मोड्न सक्थ्यो तर सकेन। पार्टीको आन्तरिक समस्याले कांग्रेसले जनविश्वास जोगाइरहन सकेको देखिँदैन। यसको पछाडि कांग्रेसभित्रको अलोकतान्त्रिक पद्धति नै जिम्मेवार देखिन्छ।’

महिलालाई नेतृत्त्वमा नल्याउनु, जनचाहनालाई नबुझ्नु, गुट, उपगुटमा रम्नु र शक्ति केन्द्रित राजनीतिको पछि लाग्नुले कांग्रेसले समाजमा आफ्नो प्रभाव जमाउन नसकेको उनले बताइन्।

समाजमा वितृष्णा बढाउन जिम्मेवार
राणा शासनविरुद्ध सशस्त्र संर्घष गरेर २००७ सालमा कांग्रेस नेतृत्त्वमा आयो। नेपालको प्रजातान्त्रिकीकरणको चरण कांग्रेसको भूमिका उल्लेख नगरी पूर्ण हुनै सक्दैन।

विभिन्न काल खण्डमा समाजमा राजनीतिक चेत बढाउन उसले नेतृत्त्वकारी भूमिका निभाएको छ। लोकतन्त्र उसको मूलमन्त्र झैं देखिन्छ। तर व्यवहार लोकतन्त्रमैत्री हुन नसक्दा समाजका सबै वर्गलाई उसले समेट्न सकेको छैन। समाजवादी भनिने दल पुँजीवादमा जकडिदा समाजमा बढेको असन्तुष्टिमा खेलेर माओवादीले सशस्त्र संघर्ष चर्काएको तथ्य लुकेको छैन। 

पुस्तान्तरण, महिला, दलित, पिछडिएको वर्गको प्रतिनिधित्व बढाउन पनि पार्टी चुकेको समाजशास्त्रीहरूको मत छ। लोकतन्त्रमा विश्वास गर्ने पार्टीका भातृ संगठनमा लामो समयदेखि निर्वाचित नेतृत्त्व आउन सकेको छैन। 

१४औं महाधिवेशन गर्नै हम्मेहम्मे पर्यो। यदी संवैधानिक बाध्यता नहुन्थ्यो भने अहिले पार्टीको महाधिवेशन हुन्थ्यो भन्ने आधार देखिन्न।

‘कांग्रसले अहिलेसम्म जोगाउन सकेको उदार लोकतन्त्र नै हो,’ समाजशास्त्री दिनेश प्रसाईं भन्छन्, ‘तर, त्यसैमा पनि प्रश्न उठ्नु धातक हो पार्टीका लागि।'

जनभावना अनुसार नीति बनाएर अगाडि बढ्न नसक्नु कांग्रेसको सबैभन्दा कमजोर पक्ष रहेको प्रसाईं बताउँछन्। उनका अनुसार कांग्रेसले समाज रूपान्तरणमा जीवन्तता कायम राख्न सकेन। समाजलाई आशावादी बनाउन सकेन। जसकारण राजनीतिप्रती नै समाजमा वितृष्ण बढाउनुमा कांग्रेसको प्रमुख भूमिका रह्यो।

‘जनतामा पर्न गएको राजनीतिक वितृष्णको प्रमुख जिम्मेवार कांग्रेस हो,’ प्रसाईं भन्छन्, ‘धेरै समय सत्तामा बसेको पार्टीले समाजलाई निराशा मात्र दियो। आक्कलझुक्कल राम्रा काम भए होलान्। तर त्यतिले मात्र लोकतान्त्रिक आचरण बढाउन र समाज रूपान्तरण गर्न सकेन। कांग्रेसले आफ्नो कामको समीक्षा गर्न सकेन। समाजलाई निराशा मात्र दियो।'

भन्ने मात्र लोकतन्त्र
समाजलाई गतिशील बनाउन, सामाजिक रूपान्तरण गर्न कांग्रेस चुकेको समाजशास्त्री टीका कैनीको विश्लेषण छ। वैचारिक अन्तर्क्रिया नहुने अनि सत्ता केन्द्रित मात्रै हुँदा कांग्रेस समाज रूपान्तरणमा चुकेको उनले बताए।

‘जहाँ स्वतन्त्ररूपमा विचारको अन्तरक्रिया हुँदैन त्यहाँ प्रगतीशीलता कहाँ हुन्छ र?’ समाजशास्त्री कैनी भन्छन्, ‘लोकतान्त्रिक पार्टीले त विचारलाई स्थान दिनुपर्यो। सिद्धान्तअनुसार चल्न पर्यो।’

देश अप्ठ्यारो अवस्थामा रहँदा भने कांग्रेसले नेतृत्त्व गरेर पार लगाएकोमा उनी सहमत छन्। तर राजनीतिक समस्या पार लगाउन सफल भए जस्तै सामाजिक समस्या पार लगाउन भने उसैगरी असफल भएको उनको मत छ।

‘अप्ठ्यारो अवस्थामा कांग्रेसले देश सम्हालेको छ। अघि बढाएको छ। तर ऊ आफैंभित्र भने अस्तव्यस्त छ। १४औं महाधिवेशनका सन्दर्भमा हालकै गतिविधीले पनि यो प्रष्ट बनाउँछ,’ कैनी भन्छन्, ‘पार्टी समाजको आवश्यकताले जन्मन्छन्। त्यसका नीति तथा कार्यक्रम समय अनुकुल हुनुपर्छ। तर कांग्रेस समयअनुसार चल्न सकेन। आफैँ अलोकतान्त्रिक हुँदै गयो।’

राजनीति केका लागि ?
हिजो जो राजनीतिमा लागे उनीहरूको लक्ष्य प्रष्ट थियो। २००७ सालमा लागेकाहरूको लक्ष्य राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउनु। पञ्चायतकालमा लागेकाहरूको लक्ष्य पञ्चायत ढालेर बहुदलीय प्रजातन्त्र ल्याउनु। २०६२-०६३ मा राजनीतिमा लागेकाहरूको लक्ष्य राजतन्त्र ढालेर गणतन्त्र ल्याउनु, संघीयताको अभ्यास मार्फत शक्ति विकेन्द्रित गर्नु अनि समाजवेशी समाजको निर्माण गर्नु।

अहिलेको राजनीति अगाडि बढ्ने मुख्य आधार २०६२-०६३ कै म्यान्डेट हो। तर २०६२-०६३ को आन्दोलनको नेतृत्त्व गरेको कांग्रेसले समावेशी समाज निर्माणको नेतृत्त्व भने गर्न सकेन। किन?

‘नेतृत्त्व परिर्वतन हुँदैमा सोचाइ परिर्वतन हुन्छ भन्ने हुँदैन। कुनै पार्टी चल्ने अनुहार वा उमेरले होइन। भिजनले हो। सिद्धान्तले हो,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘आजको युवापुस्ता राजनीतिमा आउनुको कारण के हो? के युवापुस्ता सिद्धान्तबाटै आकर्षित भएर आइरहेका छन् या आर्थिक रूपमा बलियो हुन सजिलो माध्यम देखेर आएका छन्?'

लोकतन्त्रको बलियो आधार तर समाज रुपान्तरणमा असफल
कांग्रेस नेपाली राजनीतिको महत्त्वपूर्ण अंग हो भन्नेमा कुनै विवाद छैन। राणा शासनको अन्त्य होस्  या प्रजातन्त्रको अन्त्य होस् या गणतन्त्र ल्याउन बन्दुक बोकेर जंगल पसेको राजनीतिक शक्तिलाई शान्तिपूर्ण आन्दोलनमा ल्याएर व्यवस्था परिवर्तन गर्न होस् ऊ केन्द्रमा नै रह्यो। तर त्यही रूपमा कांग्रेसले समाज रूपान्तरण भने गर्न सकेन।

कांग्रेस सहमत भएकाले गणतन्त्रको आएको सत्य हो। तर गणतन्त्र चाहिन्छ भन्ने समाजमा चेतना फैलाउने काम माओवादीले नै गरेका हुन्। 

संघीयता कांग्रेसको नेतृत्त्वको सरकारले स्वीकार गरेको हो। तर संघीयता स्वीकार्न बाध्य बनाउने काम मधेश केन्द्रित दलहरूले गराएका हुन्। ३३ प्रतिशत महिलाको सहभागीताको जस एकल कांग्रेसको भागमा जाँदैन। 

विचारमा अझै पुरातन नै देखिन्छ पार्टी। यसैले देखाउँछ कांग्रेस जसरी राजनीतिक रूपान्तरणमा सफल भएको छ समाज रूपान्तरणमा उसरी नै असफल छ।

‘राजनैतिक परिर्वतनमा उसको भूमिका महत्त्वपूर्ण छ,’ समाजशास्त्री प्रसाईं भन्छन्, ‘सुरुमा कांग्रेस आवश्यकताले जन्मियो। तर यो विस्तारै नातावाद, कृपावादमा घेरियो। सत्ता र शक्तिको पछिमात्र लाग्दा समाज रूपान्तरणमा चुक्यो।'

मंसिर २५, २०७८ शनिबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।