धुलाम्मे बुटवल : क्षेत्राधिकार भित्र पर्दैन भन्दै उम्कन्छन् मेयर

धुलाम्मे बुटवल : क्षेत्राधिकार भित्र पर्दैन भन्दै उम्कन्छन् मेयर

बुटवल : आर्थिक र व्यापारिक नगरीको रुपमा परिचित बुटवल यतिबेला अस्तव्यस्त र धुलाम्मे बनेको छ। नागरिकले सडक छिटो सम्पन्न गर्न घरअगाडिको ‘सिंहदरबार’लाई ध्यानार्कषण गराइरहेका छन्। तर ‘सिंहदरबारका सिंह’ सडक आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै पन्छिइरहेका छन्।

बुटवलको चौराहदेखि गोलपार्कसम्म, कालिकापथ, संगमपथ लगायतका धुलाम्मे सडकका कारण आम जनता आजित भएका छन्। यतिसम्मकी यस क्षेत्रमा रहेका २० वटा संघ-संस्थाहरु सडक छिटो सम्पन्न गर्न दबाब दिँदै मुख्यमन्त्री कार्यालयसम्म पुगेका छन्।

छिमेकी नगरपालिका तिलोत्तमाको मुख्य राजमार्ग झिलिमिली भइरहँदा बुटवलका नागरिक भने धुलोबाट आजित छन्। बारम्बार उपमहानगरपालिकालाई सडक छिटो सम्पन्न गर्न दबाब दिइरहेका छन्। तर बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी मुख्य राजमार्ग आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उम्कन खोजिरहेका छन्।

संघ सरकार मातहत रहेको सडक निर्माणमा ठेकेदारले लापरबाही र ढिलासुस्ती गर्दा नगरप्रमुख सुवेदी तारो बनिरहेका छन्। तर नगर प्रमुख सुवेदीले ठेकेदारलाई दबाब दिन र कम्तीमा पनि धुलोलाई रोक्न पहल गरेका छैनन्। उनलाई सडकबारे स्पष्टीकरण दिन भ्याइनभ्याइ छ।

‘धुलो उडेर कुहिरीमण्डल हुँदा समेत ट्याङकरमा पानी राखेर खन्याउन उपमहानगरपालिकालाई चासो छैन। भोट त्यहीँका जनताले दिए। धुलो त्यहीँका जनताले खाँदा क्षेत्राधिकार होइन भनेर उम्कन पाइन्छ?,’ बुटवलका स्थानीय अर्जुन श्रेष्ठले भने।

ठेकेदार कम्पनीले पानी सडकमा राखे पनि पर्याप्त छैन। उपमहानगरपालिका आफैंले पानी नराखे पनि सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई बारम्बार पानी राख्न उपमहानगरपालिकाले दबाब दिनुपर्ने श्रेष्ठले बताए।

उपमहानगरपालिकाको क्षेत्राधिकारमा नपर्ने भन्दै सामान्य पानी राख्न नखोज्ने मेयर सुवेदीलाई उनकै कार्यकर्ताले भने काँध थापेर हिँडेका छन्। आम जनताको चासोको विषयलाई एमाले बुटवल नगर समितिले राजनीतिक पूर्वाग्रह राखेर सडक छिटो सम्पन्न गर्न भन्दै डिभिजन सडक कार्यालय, इलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन्।

‘आफ्नै पार्टीको अध्यक्ष नगर प्रमुख छन्। कम्तीमा धुलो नउडाउँदै ठेकेदारलाई काम गर्न दबाब दिनुपर्नेमा उनैको पार्टीले सडक छिटो सम्पन्न गर्न ज्ञापनपत्र बुझाउँदै हिँडेको छ। जनताको आम चासोको विषयमा कति राजनीति गर्न सकेको?,’ गोलपार्कका राजेन्द्र केसीले प्रश्न गरे।

बुटवल–बेलहिया व्यापारी सडक आयोजना अन्तर्गत चौराहदेखि गोलपार्कसम्म साढे ३ किलोमिटर सडक निर्माणको क्रममा छ। लामो समय त्यस क्षेत्रका घरधनीहरुले मुद्दा–मामिला गर्दा चौराहदेखि गोलपार्कसम्मको सडकको काम रोकिएको थियो। चौराहदेखि बेलहियासम्मको सडक सम्पन्न भए पनि उक्त सडक खण्डमा हालै मात्र काम भइरहेको छ।

सडक क्षेत्राधिकारभित्र घर बनाउने ३ सय बढी घरधनीको मुद्दा आयोजनाले जितेपछि सडक निर्माणको काम सुरु गरेको हो। काम सुरु भए पनि सडकको निर्माणको जिम्मा लिएको द कञ्चनजंगा बिरुवा जेभी काठमाडौंले सडक निर्माणप्रति बेवास्ता गर्दै आएको छ।

२०७४ साल चैत ३० गते कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा निर्माणको सम्झौता गरेको ठेकेदार कम्पनीले निर्माणमा बेवास्ता गर्दा आम नागरिकले सास्ती पाइरहेका छन्।

डिभिजन सडक कार्यालयका प्रमुख जयलाल मरासिनीले पटकपटक सडक निर्माणको लागि ताकेता गरे पनि निर्माण कम्पनीले अटेर गर्दै आएको बताए। ‘नागरिकको उपमहानगरपालिका मात्र होइन प्रशासन, हामीतिर दबाब छ। तर ठेकेदारले कामै नगरेपछि बुटवल अस्तव्यस्त बनेको हो,’ उनले भने।

अहिले ठेकेदार कम्पनीले चौराहदेखि माथि काम गरिरहेको छ। तर बीचमा भत्काएर लथालिंग बनाएको छ। पाँच वर्षअघि ठेक्का सम्झौता गरिएको सडकको तेस्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै छ। अहिलेको ठेकेदारको काम गराइले असारमा पनि सम्पन्न हुन गाह्रो भएको उनले बताए।

मरासिनीका अनुसार ठेकेदार कम्पनीसँगै केही स्थानीयबासीको अवरोध र सुरुमा गरिएको गलत डिजाइनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो। उनका अनुसार २०७३ सालमा सडकको डिजाइन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो।

तर, मन्त्रालयले नाली थप गरी भेरिफिकेसन अर्डर स्वीकृत नगर्दा निर्माण कम्पनीले आलटाल गर्ने अवसर पाएको छ। मरासिनीका अनुसार भेरिफिकेसन अर्डर सडक विभागले स्वीकृत गरि मन्त्रालयमा पठाए पनि त्यहाँबाट अगाडि बढ्न सकेको छैन।

मंसिर २५, २०७८ शनिबार ०९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।