के रियल, के फेक : रियालिटी शो बुझ्नै गाह्रो
काठमाडौँ : रियालिटी शो कति रियल अनि कति फेक ? बढो समस्यामा पार्छ यस्ता कार्यक्रमले। विजेता कता हराउँछन् कता। जो प्रतिस्पर्धी हुन्छ उ चम्किन्छ जस्तो निशान भट्टराई।
पब्लिक भोटिङलाई बढी नै महत्वदिँदा जसले पैसा खर्चियो उहीँ अन्तिमसम्म टिक्ने अनि उस्तै परे जित्ने पनि हुन्छन्। तर प्रतियोगिता त जित्छन् जब भोटिङबिनाको प्रतिस्पर्धामा आउँछन् हराउँछन्।
सारेगामाप लिटिल च्याप्सको लक्षण पनि त्यस्तै देखिइरहेको छ। राम्रो गाउने बाल प्रतिभा कम भोट पाएर बाहिरिँदै छन्। शुक्रवार प्रसारण भएको कार्यक्रमको नतिजा निकै निराशाजनक देखियो। गत हप्ताको प्रस्तुतिको आधारमा ग्रान्ड जुरी, जज र दर्शकको भोटको आधारमा दिया सोनार, आदित्य विश्वकर्मा र सञ्जीव चौधरी बटम थ्रीमा परे। त्यसमा पनि चौधरी पुछारमा।
यी तीनमध्ये एक शनिवार बाहिरिने छन्। तीनमध्ये दिया र सञ्जीव अब्बल तहका प्रतिभा हुन्। अझ दिया त सङ्गीत विध्याबाट पोख्त। स्वर उस्तै मीठो। गत साता उनको गीत छनौट मिलेको थिएन स्वर अनुसार। नतिजा त्यसैको हुनसक्छ।
पर्वतका अरुण सुनार हाइएस्ट स्कोरर भए गत साताको मूल्याङ्कनमा उनी गाउन पनि मीठो गाउँछन्। शुक्रवार उनले सत्य-स्वरूपले गाएको अलि,अलि पिउँदा पिउँदै गाए। केही अलाप बिगार्दा स्कोर अलि कम आयो।
झापाकी रोशा फुयाँल र कृपा पौडेलले मीठो गाएका थिए। परिधी परियारले रक फ्लेवरको गीत गाएर ग्रान्ड जुरीबाट ९५ र जजबाट ४९ नम्बर पाइन्। बटम थ्रीमा परिरहने जिग्मी छ्योकी घिसिङले पनि मीठो गाइन्।
विशेऋ अतिथि रमेश प्रसाईँले जीवनका तिता मिठा अनुभव बाँडे। प्रोमोमा उनले रक सङ्गीतबारे नकारात्मक बोलेको मात्र प्रसारण भएको थियो। तर अनुमान मिल्यो। उनले रक मन नपरे पनि परिधीले गाउँदा भने मन परेको प्रतिक्रिया दिएका थिए।
बाँकी सहभागीले शनिवार प्रस्तुति दिने छन्। पछिल्लो समय जजहरू अलि सुस्त देखिन थालेका छन्। कमेन्ट गर्दा पनि अल्छी मानीमानी बोलेझैँ। शुक्रवार पनि त्यस्तै देखियो। कतै नेपाल आइडलको झल्को पो आयो कि !
मंसिर २५, २०७८ शनिबार ०१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।