उद्घाटन शत्रलाई चुनावी प्रचारको थलो बनाए कांग्रेस नेताले : शेखर, प्रकाशमान र गगनले बोल्न पाएनन्

उद्घाटन शत्रलाई चुनावी प्रचारको थलो बनाए कांग्रेस नेताले : शेखर, प्रकाशमान र गगनले बोल्न पाएनन्
तस्बिर कृष्पा श्रेष्ठ

काठमाडौँ : नेपाली कांग्रेसको लामो राजनीति गरे पनि बिचमा मधेसवादी दलतिर लाग्दा विजयकुमार गच्छदारको पकड गुमिसकेको छ पार्टीमा। त्यसमा पनि ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतमा भएको मुद्दाले उनको अलि-अली जोगिएको राजनीतिक साख पनि खिया लागिसकेको छ।

वडादेखि जिल्ला हुँदै क्षेत्रीय निर्वाचनले कांग्रेसमा गच्छदार कति कमजोर भइसकेछन् भन्ने देखियो नै। कांग्रेससँग एकीकरण गरेपछि उनी पार्टीको उपसभापति त भएका छन्। तर त्यही पदमा पुन दोहोरिन उनलाई त्यति सहज छैन।

एक त महाधिवेशन प्रतिनिधि बनेर आएका नयाँ पुस्तामाझ उनी त्यत्ति लोकप्रिय छैनन्। पार्टी सभापति शेरबहादुर देउवाको प्यानलमा परे पनि मत पाउन उनलाई कति सकस छ भन्ने महाधिवेशनको उद्घाटन शत्रमा उनले आफूले किन कांग्रेस छाडेर अनि किन कांग्रेस फर्किएको भन्ने स्पष्टीकरणमा दिएको समय र मिहिनेतले पनि देखाउँछ नै।

आफू जुन दलमा गए पनि रगतमा भने काङ्ग्रेसै रहेको र जय नेपाल शब्दसँग कति धेरै मोह थियो भनेर महाधिवेशन प्रतिनिधीहरुलाई विश्वास दिलाउन धेरै प्रयास गरे उनले। आफूलाई २ नेताले वाचा गरेर ल्याएको भन्दै देउवा र रामचन्द्र पौडेललाई देखाइरहेका थिए। तर अहिले देउवा आफ्नै नेताहरूको गुट व्यवस्थापनको सकसमा छन्। पौडेल त उम्मेदवार बन्न नसकिने भएपछि पार्टी नै छाड्ने धम्की दिने अवस्थामा पुगिसकेका छन्। अब आफैँ सङ्कटमा परेका यी नेताले उनको के उद्धार गर्लान् र।

उनले आफू थाकेर नआएको भन्दै पार्टीलाई एक ढिक्का बनाउन आफ्नो तर्फबाट सहयोग हुने बताइरहे। उनले स्वच्छ प्रतिस्पर्धा हुनु राम्रो भए पनि पार्टीमा प्रतिशोधात्मक प्रतिस्पर्धा भइरहेको भन्दै कतै आफूलाई १४ औँ महाधिवेशनबाट हुत्ताउने पो हो कि भन्ने डर देखाइरहे। उनी अझै लामै बोल्न चाहन्थे। तर कार्यक्रम सञ्चालक बनेका विश्वप्रकाश शर्माले पटक-पटक सङ्केत गरेपछि मनको बह धेरै खोलिन भन्दै सम्बोधन सक्काए।

पार्टीका अर्का नवप्रवेशी नेता सुनिल थापाको अवस्था पनि कम निरीह देखिएन। राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका उनी अहिले सह-महामन्त्री छन्। अब सह-महामन्त्रीबाट प्रमोसन हुनेभन्दा त्यही सह-महामन्त्री पद जोगाउनै समस्या देखियो।

त्यसैले त उनले पनि अब आफू बदलिएर पक्का कांग्रेसी बनिसकेको पुष्टि गर्न उद्घाटन शत्रमा धेरै बल लगाए। थापाले कांग्रेस मुलुकको अग्रणी लोकतान्त्रिक पार्टी भएको, अनि देशमा दिगो शान्ति स्थापना कांग्रेसले मात्रै गर्न सक्ने भन्दै महाधिवेशन प्रतिनिधीहरुलाई मक्ख बनाउने प्रयास गरिरहे।

उनले बिपी कोइरालादेखि सुशील कोइरालासम्मलाई स्मरण गरे। अब हुने तीन तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमत जुटाउने सबैको अभिभारा रहेको सुनाए। पुरानै कांग्रेसी सह-महामन्त्री डा. प्रकाशशरण महतले पनि मञ्चमा बोल्ने अवसरलाई महाधिवेशन प्रतिनिधीहरुसँग भोट माग्ने अवसरकै रूपमा उपयोग गर्ने प्रयास गरे।

देउवा समूहबाट महामन्त्रीका दाबेदार उनले नेताको अनुहार नहेरी कामको मुल्याकंन  हुने पद्धति बसाउने दाबी गरिरहेका थिए। जबकी कांग्रेसमा उनको छवि भने कट्टर गुटका संरक्षकका रूपमा छ।

कार्यकर्ताले नेताको ढोका धाउनु नपर्ने कांग्रेस बनाउने उनको दाबी सुनेर उनीको स्वभावसँग परिचित महाधिवेशन प्रतिनिधीहरुको हाँसो पक्कै रोकिएन होला।

उपसभापतिका आकाङ्क्षी महामन्त्री पूर्णबहादुर खड्काले पनि उद्घाटन शत्रमा बोल्न पाउँदा त्यसलाई भोट माग्ने थलोकै रूपमा उपयोग गरे। उनले यो बिचमा महामन्त्रीको रूपमा काम गर्ने क्रममा कसैको चित्त दुखाएको भए माफ पाउँ भन्दै मञ्चबाटै माफी मागे। उनले गल्ती कमजोरी भएको भए आगामी दिनमा सुधार गर्ने बताएर भोट फकाउने प्रयास गरे।

सभापति देउवाको क्याम्पमा नपरेका र सभापतिमा उम्मेदवारी दिएका उपसभापति विमलेन्द्र निधिले अहिलेको सरकार बैसाखी टेकेर बनेको  भन्दै आलोचना गर्दै आफू देउवाको प्रतिस्पर्धी भएको सन्देश दिए।

उनले सबै वर्ग र समुदायको सम्मान हुने पार्टी बनाउनु पर्ने उल्लेख गर्दै अबको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नु पर्ने बताएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देउवाको आलोचना त गरे तर उनी धेरै बोल्न सकेनन्। आफ्नै समूहको लफडाले थाकेका उनले पैसाले चुनाव जित्ने काम अन्त्य गर्नुपर्नेमा अलि जोड दिएका थिए।

उनले पार्टीलाई एक ढिक्का बनाउन आफूले त्याग गर्दै आएको भन्दै अप्रत्यक्ष रूपमा सभापतिको उम्मेदवार हुन सहयोग भने मागे। महाधिवेशनको उद्घाटन शत्र समापनमा संक्षिप्त मन्तव्य दिएका देउवाले मुखै फोरेर भोट मागे। उनले एक पटकलाई सभापतिमा जिताउन भन्दै मञ्चबाटै भोट मागेका थिए।

मञ्च पाएर पनि महामन्त्री डा शशांक कोइरालाले न प्रभावशाली सम्बोधन गर्न सके न त भोटै मागे। उनी अर्थतन्त्रबारे गाँजेमाँजे भाषण गरेर गए। मञ्च पाउने २ नेताले भने फरक सम्बोधन गरे । काङ्ग्रेसकी कोषाध्यक्ष सितादेवी यादवले भने मञ्चबाटै कुनै पदको उम्मेदवार नबन्ने घोषणा गरिन्। 

उनले पार्टीको कोष पारदर्शी र व्यवस्थित नभएको समेत खुलाइन। पार्टीको अक्षय कोषमा १० करोड अनि चल्तीमा २-३ करोड रहेको खुलाइन्। पूर्व महामन्त्रिको रुपमा मञ्च पाएका कृष्णप्रसाद सिटौलाले आफ्नो लागि भोट नमागी युवा नेता भनेर प्रदीप पौडेलको नाममा भोट मागिदिए। उनी सिटौला समूहबाट देउवा प्यानलमा बसेर महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा छन्। महामन्त्रीको आकांक्षी रहेका विश्वप्रकाश शर्मा त कार्यक्रम सञ्चालकै थिए।

सभापतीको दाबेदार शेखर कोइराला अनी महामन्त्रीका उम्मेदवार गगन थापाले भने मञ्च पाएनन्। यी दुबै केन्द्रीय सदस्य मात्रै हुन्। पूर्व महामन्त्री सिटौलाले मञ्च पाउँदा अर्का पूर्व उपसभापती समेत रहेका प्रकाशमान सिंहले  मञ्च पाएनन्।

मंसिर २४, २०७८ शुक्रबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।