कांग्रेस महाधिवेशन : प्रतिनिधि ४ हजार ७४३,खाली हलले पारित गर्‍यो प्रतिवेदन

कांग्रेस महाधिवेशन : प्रतिनिधि ४ हजार ७४३,खाली हलले पारित गर्‍यो प्रतिवेदन

काठमाडौँ : नेपाली कांग्रेसको महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधिको नाम सार्वजनिक भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन उद्घाटनका दिन प्रतिनिधिको अन्तिम नामावली प्रकाश गरेको हो। 

पार्टीको १४ औँ महाधिवेशनका प्रतिनिधि ४ हजार ७४३ भए पनि बन्द सत्र चलिरहँदा प्रतिनिधिको सङ्ख्या निकै कम छ। प्रतिनिधिका लागि राखिएका कुर्सी अधिकांश खाली छन्। 

कांग्रेसको बन्द सत्रले कोषाध्यक्ष र महामन्त्रीद्धयको प्रतिवेदन पारित गरेको छ। कांग्रेसका अधिकांश प्रतिनिधिलाई चुनाव लागेको छ। प्रतिनिधिहरू भोट माग्न व्यस्त हुँदा बन्द सत्रमा उपस्थिति न्यून देखिएको हो।

पार्टी महाधिवेशनको उद्घाटन सत्र सके लगत्तै बन्द सत्र सुरु गर्ने भने पनि सभापति शेरबहादुर देउवा बालुवाटारमा र वरिष्ठ नेता रामचन्द्र पौडेल बत्तिसपुतलीमा छुट्टा छुट्टै छलफलमा जुटेका थिए। 

न्यून सङ्ख्यामा उपस्थिति प्रतिनिधिहरूको बन्द सत्रमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस भएको छ। यस्तै महामन्त्रीको विधान संशोधन र बाधा अड्काउ फुकाऊ प्रस्ताव पेस गरेका छन्। 

कांग्रेस महाधिवेशनमा भोलि शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवार मनोनयनको तालिका छ।

मंसिर २४, २०७८ शुक्रबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।