बन्द सत्र छोडेर संस्थापन र संस्थापनइतर समूह छुट्टा छुट्टै छलफलमा

काठमाडौँ : नेपाली कांग्रेसको उद्घाटन सत्र सकिएपछि बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा शीर्ष नेताहरू भने सहभागी छैनन्। शीर्ष तहका नेताहरू आ आफ्नो गुट भेलामा जुटेका छन्।
सभापति शेरबहादुर देउवाले बालुवाटारमा कृष्ण सिटौलासँग छलफल गरिरहेका छन् भने संस्थापनइतर समूहको बत्तिसपुतलीमा भेला सुरु भएको छ।
महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्रीमा प्रदीप पौडेललाई अगाडि सारेका सिटौलाले पदको बार्गेनिङ गर्न देउवासँग छलफल गरिरहेका हुन्।
संस्थापनइतर समूह भने सभापतिको साझा उम्मेदवार चयन गर्न बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा भेला भएका छन्।
सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन नसकेको पौडेल पक्षले सभापतिका आकांक्षीहरुसँग छलफल गर्न लागेको हो। सभापतिका आकाङ्क्षी पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छलफलमा सहभागी हुँदै छन्।
भेलामा पौडेल र प्रकाशमान पुगिसकेका छन् भने शेखर पनि पुग्दै छन्। उनीहरूले आज जसरी पनि संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउने बताएका छन्।
कांग्रेस महाधिवेशनमा भोलि शनिवार उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यतालिका छ। उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म पनि संस्थापनइतर समूहले सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन।
मंसिर २४, २०७८ शुक्रबार १९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।