पार्टीबाट संन्यासको घोषणा भएको रामचन्द्रको विज्ञप्ति कसले रोक्यो ?

पार्टीबाट संन्यासको घोषणा भएको रामचन्द्रको विज्ञप्ति कसले रोक्यो ?
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ : महाधिवेशनको अघिल्लो दिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए 'छिटो गर्ने योजना छ। ३ घण्टा जतिमा सकिन्छ।' त्यसपछि सञ्चारकर्मीको प्रश्न गरे' ढिलो सुरु गर्ने, ढिलो अन्त्य गर्ने कांग्रेसको चलनै छ। त्यस्तै त हुने होइन?' शर्माले हाँस्दै जवाफ दिएका थिए'त्यस्तो नहोला।'

तर भयो त्यस्तै। दिउँसो १ बजे उद्घाटन गर्ने भनिए पनि तोकिएको १ घण्टा अघिसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन समारोहमा आउने नआउने टुङ्गो थिएन। आफ्नो समूहमा 'म हुँदिन, तपाईँहरू सर्वसम्मत गर्दा हुन्छ भन्दै उनले कांग्रेस पार्टी छाडेको विज्ञप्ति नै ड्राफ्ट गरिसकेका थिए।

यता पार्टी उद्घाटन शत्रमा व्यस्त रहेको बेला बुधवार बेलुकाबाट घरमा गुप्तवास बसेका उनले २४ गते बिहान ८ बजे विज्ञप्ति निकालेर उद्घाटन समारोहमा नजाने तयारी गरिसकेका थिए। उनी आफ्ना पक्षका नेताहरूसँग भने सम्पर्कमा थिए।

अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाल डा रामशरण महत लगायत नेताहरू पौडेल निवासै गए। उद्घाटन शत्रपछि सहमति गर्ने र प्यानल बनाउने कुरामा उनीहरूले पौडेललाई मनाउन सफल भएकाले उनको विज्ञप्ति रोकियो।

त्यही बेलामा उता बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा समूहको पनि बैठक बसिरहेको थियो। त्यो बैठक पनि निष्कर्षमा पुगेन। देउवा त्यत्तिकै बैठक छाडेर महाधिवेशन स्थलतिर लागे। कृष्ण प्रसाद सिटौला पनि आफ्नो गुटको बैठक सकेर महाधिवेशन स्थल भृकुटीमण्डप पुगे।

सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र डा शेखर कोइराला पनि आफ्नो गुटको बैठक सकेर उद्घाटन शत्रमा सहभागी भएका थिए। पौडेललाई फकाउन सभापतिका अर्का आकाङ्क्षी विमलेन्द्र निधिले समेत फोन गरेर फकाएका थिए। उनले १३ औँ महाधिवेशनमा नेतृत्व गरिसकेकालाई दोहोर्याउन नदिने गरी सहमति गर्न भन्दै पौडेललाई समर्थन गर्ने तर देउवाले प्रस्ताव राख्नुपर्ने असम्भव सर्त राखेका थिए। तर जे होस् उनको पनि फोन जाँदा पौडेलको मन बदलिन सघायो नै।

उद्घाटन सत्रमा पार्टी सभापति देउवाले सभापतित्व ग्रहण गर्दा २:१९ बजिसकेको थियो। उद्घाटन शत्रमा नेता सिटौलाले आफ्नो कुरा १५ गते उम्मेदवारी दिएपछि राख्ने बताए। उनले प्रदीप पौडेललाई अघि सारेको र युवाहरू अघि बढेको हेर्न चाहेको बताएका थिए। उम्मेदवारी दिने र दोस्रो चरणमा देउवालाई सघाउने नीति सिटौलाले अख्तियार गरेका छन्। उद्घाटन सत्रमा बोल्दै सिटौलाले मञ्चबाटै अब छोराछोरीको पुस्तालाई अगाडि बढाउने भन्दै आफ्ना लागि हैन पौडेलको सेटलको सर्त राखे।

उद्घाटन समारोहमा आएका अतिथि र पार्टीका नेताहरूको पालो सक्काएर वरिष्ठ नेता पौडेलको पालो आउँदा ६:१३ बजेको थियो। पौडेलले प्रतिपक्षीहरूको समेत सामना गर्न सक्ने कांग्रेस बनाउनेलाई पार्टी सभापति चुन्नुपर्ने बताएर आफ्नो उम्मेदवारीको कारण अप्रत्यक्ष रूपमा पेस गरे।

'यो एउटा यस्तो घडी हो, जुन घडीमा हाम्रो भविष्य निर्धारण गर्नुपर्छ। हाम्रो पार्टीलाई प्रतिपक्षीसँग सामना गर्ने कांग्रेस बनाउन कसरी सक्छौँ ? यो देशको भरपर्दो शक्ति कसरी बनाउन सक्छौँ ? अब महाधिवेशनबाट यही निर्णय गर्नुपर्ने छ,' उनले भने।

'गौरवका साथ उभिने पार्टी कसरी बनाउने ? सैद्दान्तिकरुपमा बहस गरेर कम्युनिस्टलाई छेउ लगाउने कांग्रेस कसरी बनाउने ? आज सवाल यही छ,’ उनले थपे। उनी आर्थिक नीतितिर लम्किए। १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ है भन्ने दरिलो सन्देश भने दिन सकेनन् प्रतिनिधि।

देउवाले सम्बोधन सुरु गर्दा ६:३४ बजेको थियो। देउवा पोडियममा आउने बित्तिकै कार्यकर्ताले देउवाको समर्थमा नारा लगाए। देउवाले भाषण सुरु गरे।

उनले सुरुमा भने' विश्व प्रकाशले आफ्नै विरुद्ध बोल्न लगाउँछ। रामचन्द्रजीले चिसोको कारणले बोल्न सक्नुभएन।'

देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष गरेर पौडेलले उठाएको प्रश्नको जवाफ दिने प्रयास गरे।

देउवाले भने 'एक पटक मलाई जिताइदिनुस्। कुनै पनि हालतमा डर-त्रासबाट मुक्त शासन ल्याएर छोडिन्छ। ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु। तपाईँहरू मलाई साथ दिनुस्।'

शेरबहादुर देउवा बोल्दा बोल्दै उनका समर्थकहरूले शेरबहादुर देउवा जिन्दाबाद भन्दै नारा लगाए। उनले भयो भयो भन्दै रोक्ने प्रयास गरे।

देउवाको मन्तव्य सकिदा ६:३८ भएको थियो। छोटो बोले पनि देउवाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दै गरेको र किन उम्मेदवार बन्ने भन्ने पनि भन्न भ्याए महाधिवेशन प्रतिनिधिमाझ।

करिब ५ घण्टा सार्वजनिक रूपमा सँगै रहेका पौडेल देउवा कार्यक्रम शुरु हुनुभन्दा अगाडि केही समय कुराकानी गरेका थिए। पहिला देउवासँगै बसेका रामचन्द्र केपी ओली आएपछि अली पर सरेका थिए। चकचके स्वभावका देउवाले दायाँबायाँ हेरिरहँदा पौडेल गम्भीर मुद्रामा देखिएका थिए।

मंसिर २४, २०७८ शुक्रबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।