कांग्रेस महाधिवेशनमा दुई महामन्त्री : नीतिबारे छलफल भएन कोइराला, गल्ती भए क्षमा माग्छु खड्का
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले महाधिवेशनमा नीतिबारे छलफल नभएको गुनासो गरेका छन्।
पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा महामन्त्री कोइरालाले नयाँ अठोटका साथ पार्टीको रणनीति बन्नु पर्नेमा नेतृत्व चयनको मात्रै बहस भएको भन्दै गुनासो गरे।
उनले संविधान जारी भएपछि सिद्धान्तको लडाइ समाप्त भएको बताए। ‘संविधानमा लकिरको फकिर हुँदैन, धर्म निरपेक्षता हुँदैन,’उनले भने,‘धर्म स्वतन्त्र हुन्छ।’
उनले कृषिमा २ प्रतिशत मात्रै बजेट विनियोजन भएको भन्दै २५ देखि ३० प्रतिशत बजेट विनियोजन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिए।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले चार वर्ष महामन्त्री हुँदा भएका कमी कमजोरी प्रति क्षमा मागे। ‘कमी कमजोरी भएको भए क्षमा चाहन्छु,’ उनले भने, सुधार गर्ने प्रण गर्छु।’ खड्काले नेकपाको सर्वसत्तावादी सत्ता ढाल्ने काम कर्णालीबाट सुरु भएको बताए।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले आफूले विगतको महाधिवेशनमा युवा प्रति ध्यान केन्द्रित गरेको बताए। उनले निजी स्वार्थ भन्दा माथि उठ्न सक्नु पर्ने बताए। सिटौलाले अबको चुनाव शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउनु पर्ने र चुनाव जित्ने अभियानमा लाग्नु पर्ने बताए।
निजी स्वार्थमा लिप्त नरहन कांग्रेसका युवालाई सिटौलाले सुझाव दिए।
मंसिर २४, २०७८ शुक्रबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।