आफ्नै समूहमा कुरा नमिलेपछि' उद्घाटन सक्काएर बसौँला भन्दै छलफलबाट उठे देउवा

आफ्नै समूहमा कुरा नमिलेपछि' उद्घाटन सक्काएर बसौँला भन्दै छलफलबाट उठे देउवा

काठमाडौँ : उपसभापति सहितको टिम फाइनल गर्न बसेको शेरबहादुर देउवा समूहको बैठक विना निष्कर्ष सकिएको छ। बालुवाटारमा देउवासहित उनको समूहका नेताहरू उपसभापति, महामन्त्री, सह महामन्त्री र केन्द्रीय सदस्यहरूको नाम चयन गर्न छलफलमा बसेका थिए। तर आकाङ्क्षी धेरै हुँदा सहमति हुन सकेन।

सबैले दाबी गरेपछि अब उद्घाटन शत्र पछि बसौला भनेर देउवा उठेपछि छलफल टुङ्गिएको छ। काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन आज हुँदै छ।

संस्थापन समूहमा सभापतिमा देउवा सर्वसम्मत भए पनि अन्य पदमा भने अझै कुरा मिल्न सकेको छैन।

देउवा सकेसम्म संस्थापनइतर समूहले गर्ने निर्णय कुर्ने पक्षमा छन्। इतर समूहले उम्मेदवार टुङ्ग्याएको खण्डमा असन्तुष्ट कसैलाई आफ्नो समूहमा ल्याउन सकिन्छ कि भन्ने उनको दाउ देखिन्छ। देउवालाई कृष्णप्रसाद सिटौला समूहलाई समेटेर लैजानुपर्ने चुनौती छ।

उता संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारमै कुरा मिल्न सकेको छैन। सभापतिमा प्रकाशमान सिंह अडिग बसेपछि शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन्। रामचन्द्र पौडेल भने इतर समूहबाट आफू उम्मेदवार हुने पक्षमा छन्। तर उनी आफ्नै समूहबाट दोस्रो उम्मेदवार उठेमा उम्मेदवार नबन्ने मुडमा छन्।

मंसिर २४, २०७८ शुक्रबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।