संस्थापनइतर समूह तीनतिर : शेखर र प्रकाशमान टीम बनाउँदै, पौडेल अन्योलमा
काठमाडौंः संस्थापनइतरबाट साझा उम्मेदवार बनाउने प्रयास विफल भएपछि सभापतिका आकांक्षीहरू टीम बनाउन व्यस्त छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबारदेखि निवासबाट निस्केका छैनन्।
शुक्रबार बिहानसम्म पौडेल निवासमा आकांक्षी र प्रतिनिधिको भेट बाक्लै छ। टीम बनाउने नबनाउने भन्ने अन्योलमा रहेका पौडेल टीमको ड्राफ्ट तयार गर्दै भेटघाटमा व्यस्त छन्।
संस्थापनइतरबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दौडमा छन्। साझा उम्मेदवार हुने सर्तमा नेता पौडेल र शशांक तयार भए पनि प्रकाशमान र शेखरले अडान कायम राखेका छन्।
बिहीबार शशांक निवास महाराजगञ्जमा बसेको बैठकले पौडेललाई नै साझा उमेदवार बनाएर एउटै टीम बनाउने निर्णय पनि गर्यो। तर निर्णय सुनाउन प्रकाशमान निवास चाक्सीबारी पुग्दा सिंहले अडान छोडेनन्।
चाक्सीबारी पुगेका युवा नेताहरूलाई सिंहले भने '१३औं महाधिवेशनमा मैले रामचन्द्र दाइलाइ छोडेको हुँ। उहाँलाई सम्मानित ठाँउ दिऔं। हुन्छ भने मेरो नाममा सहमति गरौं, नभए आ-आफ्नो हिसाबले अघि बढौं।'
महाराजगञ्जको निर्णय सुनाउन शेखर निवासमा पुग्दा त्यहाँ पनि उस्तै खाले जवाफ आयो। बिहीबार बिहानै शेखरले भनेका थिए- 'रामचन्द्र दाइको नाममा सहमति हुन्छ भने म बाधक बन्दिनँ।'
शेखरले सोही कुरा दोहोर्याए। रामचन्द्र पौडेलको लागि प्रकाशमान बाधक बने। शेखर रामचन्द्रलाई छोड्न तयार भए पनि प्रकाशमान तयार भएनन्।
'अहिले टीम बनाउने गृहकार्यमा छौं। आन्तरिक छलफल चल्दै छ। भोलिसम्म टीम तयार हुन्छ', प्रकाशमानको सचिवालयले भन्यो।
उता शेखर पनि टीम बनाउने कसरतमा छन्। आजै उद्घाटन सत्रलगत्तै टीम घोषणा गर्ने तयारीमा छन् शेखर। 'अहिले टीम बनाउने तयारीमा छौं। आज बेलुका प्रेसमिट हुन्छ', कोइरालानिकट नेताले उकेरासँग भने।
तानातानमा नेता
'शशांक गएर शेखरको टीममा चुनाव लड्दैनन् होला। उहाँ प्रकाशमानसँग आउनुहोला', सिंहनिकट एक नेताले भने, 'अर्जुननरसिंह केसी पनि शेखरकोमा जादैनन्।'
यता पुराना नेता बलबहादुर केसीले भने उम्मेदवारबारे केही सहमति नभएको बताए।
मंसिर २४, २०७८ शुक्रबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।