राजनीतिक शक्तिको केन्द्रमा झापा

राजनीतिक शक्तिको केन्द्रमा झापा

देशको एउटा लोकतान्त्रिक गणतन्त्रवादी वामपन्थी पार्टी र राजतन्त्रात्मक व्यवस्थाको माग गर्ने दक्षिणपन्थी पार्टीको नेतृत्त्व भने एकै जिल्लाका दुई व्यक्तिले गर्दैछन्।   

यी दुवै नेता झापाका हुन्। यी दुवैको मतदाता पनि झापाकै हुन्। यसै कारण पनि झापा हाल राष्ट्रिय राजनीतिको केन्द्रमा देखिएको छ।  

यता आजबाट सुरु हुन गइरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पनि महामन्त्रीका बलिया उम्मेदवार विश्वप्रकाश शर्मा झापाकै हुन्।

यता कांग्रेस प्रदेश १को अध्यक्षमा पनि झापाकै उद्धव थापा निर्वाचित भइसकेका छन्। मोरङका प्रभावशाली उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै थापाले नेतृत्त्व सम्हाल्ने मौका पाएका हुन्। 

नवौं महाधिवेशनमा एमाले अध्यक्ष भएका ओली तीन पटक प्रधानमन्त्री भए । त्यसअघि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसााद सिटौला गृहमन्त्रीसम्म भएका थिए। 

०७२ सालमा संविधान जारी गर्ने बेला संविधान मस्यौदा समितिको सभापति थिए सिटौला । माओवादी युद्धको व्यवस्थापन, त्यसपछिको शान्ति प्रकृयालगायतमा पनि सिटौला महत्त्वपूर्ण भुमिकामा रहे। 

झापाको राजनैतीक विरासत यतिमै टुङ्गिदैँन। झापा आन्दोनल र कांग्रेसको विद्रोहसँग पनि झापाको निकट सम्बन्ध छ। स्वर्गीय चक्र बाँस्तोलाको गृहजिल्ला हो झापा। पञ्चायतविरोधी आन्दोनलका अग्रणी नेता बाँस्तोला बिपी कोइरालाका निकट कार्यकर्ता हुन्। 

कांग्रेसका वैचारिक नेता तथा चिन्तक सिके प्रसाईं झापाकै हुन्। रामबाबु प्रसाईं पनि झापाले नै जन्माएको हो। 

माओवादी केन्द्रका नेता तथा  पूर्वसञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापाबाटै स्थापित भए। प्रदेश १ का पूर्वआन्तरिक मामिमा तथा कानूनमन्त्री हिक्मत कार्कीको गृहजिल्ला पनि झापा नै हो। 

कांग्रेसबाट सरिता प्रसाईं, सुधीरकुमार सिवाकोटी, अमृतलाल राजवंशी, उषा गुरुङ्ग र महिन्द्राकुमारी सुब्बा, मेदिनी सिटौला उदीयमान नेता हुन्। 

नेकपा मालेका महासचिव सिपी मैनाली पनि झापा आन्दोलनकै उत्पादन हुन्। हाल कुनै दलमा आवद्ध नभए पनि राजनीतिमा बलियो प्रभाव पारेका राधाकृष्ण मैनालीको उदय झापाबाटै भयो। 

झापा आन्दोलनको क्रममा २०२९ फागुन २१ गते ५ युवाको हत्या भयो। इलाम र झापाको बीचमा पर्ने सुखानीको जंगलमा ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षका नेत्र घिमिरे, ३१ वर्षका विरेनसिंह राजवंशी, १८ वर्षीय कृष्ण कुइँकेल र १७ वर्षीय नारायण श्रेष्ठको हत्या भयो। 

त्यसपछि झापा आन्दोलन झनै चर्कियो। त्यसैको बलमा एमाले स्थापित भयो। सोही आन्दोलनले जन्माएका नेता ओली अहिले एमाले अध्यक्ष भएका छन्। 

नेपाली कांग्रेसले तीन दशकपछि २०४८ साल फागुनमा झापाको गलबलगुढीमा आठौं महाधिवेशन गर्यो। बहुदलपछिको पहिलो महाधिवेशन निकै प्रचारात्मक र अर्थपूर्ण थियो।

मंसिर २४, २०७८ शुक्रबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।