बिपीको बाटोमा कांग्रेस हिँड्न सकेन, पुष्पलालको बाटोमा हामी हिँड्न सकेनौं
बिपीको अग्रगामी सोच थियो। बिपीको बाटोमा कांग्रेस हिँड्न सकेको छैन। पुष्पलालको बाटोमा हामी हिँड्न सकिरहेका छैनौं। नेपालको दुर्भाग्य यही हो। अहिले जनतामा उत्साह उमङ्ग हुनुपर्ने, जोस, जाँगर हुनुपर्ने हो।
यत्रो गणतन्त्र आयो, संघीयता आयो, समानुपातिक, समावेशी तर आज जनतामा जुन निरासा छ, किन भयो भने पुष्पलालको बाटोमा हामी हिँड्न सकेनौं। बिपीको बाटोमा कांग्रेस हिँडन सकेन। 'क्लियर' कुरा यही हो।
हामी पनि कोसिस गर्दैछौं। कांग्रेसमा पनि एकथरी मान्छेहरू कोसिस गरिरहेका छन्। बिपीकै विरासतलाई पछ्याएर इतिहासलाई सम्मान गरेर अगाडि बढोस् भन्ने चाहना कांग्रेसभित्र पनि छ। निष्ठा, इमान्दारीता, नैतिकता कायम गर्ने मान्छे माओवादीमा पनि छन्। एमालेमा पनि छन् केही। ती चाहिँ अहिले कमजोर छन्। निष्ठाको बाटोमा हिँड्ने अहिले कमजोर अवस्थामा छन्।
बिपीको बाटोमा हिँड्नुपर्छ भन्ने छैन। इतिहासको सम्मान गर्ने हो। बिपीले गरेका कामले मात्र अहिले पुग्दैनन् नि। पुष्पलालले गरेका काम अहिले पुग्छ त? तर, हामीले त्यसलाई सम्मान गर्न सकेनौं।
प्रचण्डले एउटा काम चाहिँ गरे। पुष्पलालको जन्मथलो भंगेरी (पुष्पलाल र गंगालालको जन्मथलो रामेछाप)मा पर्यटन केन्द्र बनाउन प्रचण्डकै नेतृत्त्वमा सरकार हुँदा पहल भयो। बिपीको दुम्जामा पनि प्रचण्डकै नेतृत्त्वमा पहल भयो।
अहिले ८० रोपनी जग्गा अधिग्रहण गरेर दुम्जामा पर्यटन केन्द्र बनाउने पहल भइरहेको छ। सरकारले गरिसक्यो। लगानी गरिरहेको छ। भंगेरीमा ५० रोपनी जग्गा अधिग्रहण गरेर अगाडि बढायो। नत्र दुम्जाको हालत कस्तो थियो। भंगेरीको हालत कस्तो थियो। मैले र विद्यानाथ कोइरालाले पहल गरेको हो त्यो। त्यो कति वर्षपछि भयो? त्यतातिर किन आँखा गएन?
इतिहासप्रति गर्व नगर्ने, बुवाआमालाई सम्मान नगर्ने मान्छेले के गर्न सक्छ? बाउआमालाई सम्मान नगर्ने छोराछोरी काम लाग्दैन।
बिपीको इतिहासलाई कांग्रेसले बिर्सिसक्यो। पुष्पलालको इतिहासलाई हामीले बिर्सिसक्यौं।
उनीहरूभन्दा अगाडी हामी बढ्न सकेनौं। छोराछोरी त बुवाआमाभन्दा अगाडि हुनुपर्ने। बिपी र पुष्पलालभन्दा अगाडी हामी जान सकेनौं।
हामी पछाडि नै छौं। बिपीलाई र पुष्पलालाई सबैले सम्मान गर्छन्। हामीलाई त गाली गर्छन् अहिले।
(माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग उकेराकर्मी उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)
मंसिर २४, २०७८ शुक्रबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।