बोहोराटारमा गुप्तवास बसे रामचन्द्र , महाधिवेशन उद्घाटनमा आउने-नआउने टुङ्गो छैन

बोहोराटारमा गुप्तवास बसे रामचन्द्र , महाधिवेशन उद्घाटनमा आउने-नआउने टुङ्गो छैन

कांग्रेसका नेता डा रामशरण महतका अनुसार संस्थापनइतरबाट सभापतिको एकल उम्मेदवार छान्ने प्रयास सफल नभएपछि पिलपिलाउँदो अनुहार बनाएका पौडेल बिहीबारको पार्टी केन्द्रीय समितिको बैठकमा समेत गएनन्। भोलि शुक्रवारबाट पार्टीको १४ औँ महाधिवेशन सुरु हुँदै छ। दिनभर संस्थापनइतरका नेताहरू समूहगत छलफलमा बसे पनि पौडेल कसैको छलफलमा बसेनन्। उनी मोबाइल डाइभर्ट गराएर घरमै बसेका छन्।

शशाङ्क कोइरालाले पौडेल सभापतिको सभापति हुने हो भने आफ्नो समर्थन रहने भने पनि सभापतिका अर्का २ आकाङ्क्षी शेखर कोइराला र प्रकाशमान सिंहले भने मानेका छैनन्। यी दुवै उम्मेदवार बन्ने अडानमा बसेपछि पौडेल समस्यामा परेका हुन्। उनले यी दुईमध्ये एकको नाममा सहमति भए आफू पनि उम्मेदवार नबन्ने बताइसकेका छन्। तर दुवै नेता पछि हट्न राजी भएका छैनन्।

बिहीबार दियालो पार्टी प्यालेस वसुन्धरामा काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा आफू निकटका प्रतिनिधि र नेताको भेलामा शेखर सहभागी भएका थिए। त्यहाँ उनी पौडेलप्रति नरमै देखिएका थिए।

भेलामा उनले ‘वरिष्ठताको हिसाबले रामचन्द्रजीको नाममा सहमति हुन्छ भने म बाधक बन्दिन। अन्यथा म ब्याक हुने ठाउँ छैन’ भनेका थिए। तर प्रकाशमान कसैको नाममा ब्याक हुन तयारै छैनन्। उनी ‘सधैँभरि गणेशमान सिंहको परिवारले त्याग गर्नुपर्ने? कोइराला परिवारले एकपल्ट त्याग गर्न हुँदैन’ भन्दै जुनसुकै हालतमा उम्मेदवार बन्ने अडानमा छन्।

बिहीबार कुनै छलफलै हुन सकेन। केन्द्रीय समितिको बैठकमा पौडेल त गएनन् नै प्रकाशमान पनि गएनन्। पौडेलको सचिवालयका अनुसार उनले बैठकमा नआउने मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई सूचना पठाइसकेका थिए।

‘बैठकका एजेन्डा पनि जानकारी थिएन। उहाँ आज बैठकमा जानु भएन। यसबारे सभापतिलाई जानकारी थियो,’ पौडेलको सचिवालयले  उकेरालाई भन्यो। केन्द्रीय समितिको बैठकपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘ उहाँ उद्घाटन सत्रमा पनि आउनु भएन भने दुःखद हुन्छ।’

सिंहले नमाने शशाङ्क-शेखरको समर्थन पौडेललाई

सभापतिका आकाङ्क्षीहरूको संयुक्त बैठक नबसे पनि समूहगत बैठकहरू भने भइरहे बिहीबार। बिहानै शेखरले आफू निकटकाहरुसँग छलफल गरे। प्रकाशमान पनि दिनभर आफू निकट नेताहरूसँग छलफलमै व्यस्त रहे। केन्द्रीय समितिको बैठकपछि शशाङ्कले समेत आफू निकटहरूलाई बोलाएर बैठक राखेका थिए।

बैठक स्रोतका अनुसार वरिष्ठ नेता भएको र यसभन्दा अगाडि पनि उम्मेदवार बनेकाले यसपालि पौडेललाई समर्थन गरेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो। शेखरले समेत पौडेलको नाममा सहमति भए आफू बाधक नबन्ने बताइसक्दा पनि सिंहले नमानेपछि पौडेललाई नै समर्थन गरेर अगाडि बढ्नुपर्नेमा छलफलमा लगभग सहमति बनेको छ।

'सिंहलाई सभापतिमा सहमति गर्न सकिँदैन। यस्तै अवस्था रहे रामचन्द्र दाइलाई शशाङ्क र शेखरले समर्थन गर्ने सम्भावना छ,' बैठक स्रोतले भन्यो।

शेखरले आफ्नो समूहको भेलामा संस्थापनइतर समूहबाट एकल उम्मेदवारको रूपमा पौडेलको नाममा सबैले सर्वसम्मत गरे मात्र समर्थन गर्ने बताएका थिए। सिंहले उम्मेदवारी दिएमा उनी ब्याक भएर पौडेललाई समर्थन गर्ने-नगर्ने भन्ने उनले खुलाइसकेका छैनन्। पौडेलसँगको बिहीबारको भेटमा शेखरले सिंहले पनि माने आफू बाधक नबन्ने तर उनले उम्मेदवारी दिए आफू पनि उम्मेदवार हुने भन्दै सहयोग मागेका थिए। पौडेलले संस्थापनइतरबाट एकल उम्मेदवार नभए आफू उम्मेदवार नबन्ने शेखरलाई बताएका थिए।

सिटौलाको बेग्लै दुख

‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहङ्कार गरेको होइन, म जहाँ रहन्छु त्यहीबाट काँग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ,’ बिहीबार आफू निकट प्रतिनिधि र कार्यकर्तासँगको बैठकपछि कांग्रेस  नेता कृष्ण सिटौलाले दाबी गरे।

सिटौलाले आफ्ना तर्फबाट युवाहरूको नेतृत्व गर्ने जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको पनि बताए। गगन थापाले समूह परिवर्तन गरेपछि सिटौला समूह केही कमजोर बनेको पक्कै हो। त्यसैले प्रदीपमाथि पनि उनले पुरै भर गर्न सकेका भने छैनन्।

‘बैठकमा सिटौला दाइले धोकेबाज नहुनु भनेर प्रदीप पौडेलतर्फ हेरेर भन्नुभयो। नाम नतोके पनि यो गगन थापाले समूह फेरेको प्रति लक्षित थियो,’ सिटौला निकट एक नेताले उकेरासँग भने। आफूले कुन पदमा दाबी गर्ने मनोनयन अघि मात्र सार्वजनिक गर्ने सिटौलाले बताएका थिए। बैठकमा प्रदेश १ काँग्रेसका सभापति उद्धव थापाले यो समूह बाँच्ने गरी निर्णय गर्न सिटौलालाई आग्रह गरेका थिए। 

आफ्नो समूह जोगाउने सकसमा रहेका सिटौला सामु अहिले तीन विकल्प देखिन्छ।

१ -टिम म्यानेज गरेर देउवाको उत्तराधिकारी बस्ने

२ -देउवा टिमबाट उपसभापति लड्ने

३ -सभापतिको उम्मेदवार बन्ने

सिटौला कि पार्टी सभापति कि प्रधानमन्त्री बन्ने दाउमा छन्। सिटौला निकट नेताहरूले भने टिम म्यानेज गरेर यो पटकलाई आफ्नो टिमको अभिभावक बन्न सुझाव दिएका छन्। उनको समूहले १५ औँ महाधिवेशनमा देउवा खेमाबाट निर्विकल्प सभापति बन्न सुझाव दिएका छन्।

‘यो प्रस्ताव नै मेरो हो। पार्टीमा योगदान गरेका हिसाबले पनि त्यसो गर्नु मध्यमार्गी बाटो हुन्छ,’ सिटौला निकट एक नेताले उकेरासँग भने।

पौडेललाई महामन्त्री र अर्को जनालाई सह-महामन्त्री बनाएर कम्तीमा २० जना केन्द्रीय सदस्य क्लस्टरमा मनोनीत गर्ने र पूर्ण रूपमा देउवालाई सघाउन उनको समूहको सुझाव थियो।

देउवा टिमबाट सिटौला राष्ट्रपति बन्ने पनि कांग्रेस वृत्तमा चर्चा छ। यसबारे उनको समूहका एक नेताले भने' उहाँ सक्रिय राजनीति गरिरहनु भएको छ। अहिले राष्ट्रपति बन्ने पक्षमा हुनुहुन्न। उहाँको चाहना कि पार्टी सभापति बन्ने कि प्रधानमन्त्री बन्ने हो।’

सिटौला टिमलाई मिल्नुपर्दा देउवा टिममा मिल्न कार्यकर्ताको दबाब छ। यदि देउवाले महामन्त्री शशाङ्क कोइरालालाई भित्र्याएमा सिटौलाले के गर्नुहुन्न भन्ने प्रश्नमा उनी निकट नेता भन्छन् ‘यस्तो अवस्थामा जता बलियो हुन्छ उतै सपोर्ट गर्नुहुन्छ।’

उम्मेदवार छान्नै सकस छ देउवालाई

बुधवारको बैठकबाट प्रदेश तहमा दोहोर्याएर नाम हेर्न नपर्ने गरी केन्द्रीय सदस्यको सूची तयार पार्न देउवाले कमान्डर खटाएका थिए। केन्द्रीय सदस्यहरू चयन गर्न प्रदेश १ बाट ज्ञानेन्द्र कार्की,  प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो।

देउवाले क्लस्टर अनुसार नाम बढी नहुने गरी उम्मेदवारहरू चयन गर्न निर्देशन दिएका थिए। देउवाको निर्देशन पाएका कमान्डरहरू सबैजसो पदाधिकारीका आकाङ्क्षी छन्। आन्तरिक समीकरण र देउवा टिममा नपर्ने पो हो कि भन्न पिरलोमा छन् उनीहरू। त्यसैले प्रदेशको जिम्मा पाएका कुनै नेताले पनि क्लस्टर अनुसारको केन्द्रीय सदस्यको सूचीमा काम गर्न सकेका छैनन्।

‘हामी अहिले बालुवाटारमा आन्तरिक छलफलमा छौँ, प्रदेशका केन्द्रीय सदस्य बारेमा आज बैठक मात्र बस्यो सामान्य छलफल मात्र भयो। प्रगति हुने गरी केही काम भएको छैन,' जिम्मेवारी पाएका एक नेताले भने।

 छायामा परे निधी

सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधी केही दिनदेखि चर्चा बाहिर छन्। न उनले टिम बनाउन सकेका छन्। न आफ्नो व्यक्तिगत प्रचारलाई नै अगाडि बढाउन सकेका छन्। उनी सामाजिक सञ्जालमा आफ्ना पुराना अन्तर्वार्ताका क्लिप सार्वजनिक गरेर बसेका छन्। प्रदेश २ मा प्रदेश अधिवेशन नै हुन नसक्नु उनका लागि घाटा बनेको छ।

मंसिर २३, २०७८ बिहीबार २२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।