राजनीति छाड्ने मुडमा रामचन्द्र पौडेल, शशाङ्क तान्ने दाउमा देउवा

राजनीति छाड्ने मुडमा रामचन्द्र पौडेल, शशाङ्क तान्ने दाउमा देउवा

काठमाडौँ : सभापतिका आकाङ्क्षी तथा आफू निकटका नेताहरूको बुधवारको बैठकबाट बाहिरिँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए,' सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ। केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौँ।'

पौडेले भनेका भोलिको समय त आयो तर परिस्थिति फेरिएन। बुधबार गौशालाको अनुपम फूडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्य, प्रदेश तहका पदाधिकारी तथा प्रतिनिधिको बैठकबाट इतर पक्षका ४ सभापतिबाट २ मा त झर्यो तर सहमति भएन।

महामन्त्री डा शशाङ्क कोइरालाले मंगलवारको चाक्सीवारि बैठकमै रामचन्द्र पौडेललाई अघि बढाऔँ भन्दै ब्याक भएका थिए। पौडेल सहमति भए आफू पनि पछि हट्ने अभिभावकीय भूमिकामा देखिएका थिए। तर डा शेखर कोइराला र प्रकाशमान सिंह कुनै हालतमा ब्याक नहुने अडानमा बसेपछि रामचन्द्र दिक्क भए।

गौशाला बैठकले उनीहरूमध्ये एक उम्मेदवार भए पनि हुने सुझाव दिएको थियो। बैठक अघि काँग्रेस नेता चन्द्र भण्डारीले भनेका थिए, ‘उहाँहरू (शशाङ्क बाहेक)लाई एक जना राष्ट्रपति बन्नुस्, एक जना प्रधानमन्त्री बन्नुस् एक जना पार्टी सभापति बन्नुस्। पार्टी पदाधिकारीमा युवालाई ठाउँ दिनुस् भन्ने हो। यसो हुँदा मिल्न सक्छ।’

युवाहरूले दबाब बढाए पनि डा शेखर र सिंह पार्टी सभापति उम्मेदवार बनिछाड्ने अडानमा कायमै रहे बुधवार। गोप्य मतदान गरेर भए पनि एकल उम्मेदवार बनाउने युवा नेताहरूको प्रस्तावमा धेरै छलफल हुन सकेन। यसले थप विभाजन ल्याउने वरिष्ठ नेताहरूको शङ्का छ।

सहमति भएमा आफू ब्याक हुन तयार रहेको शंशाकले मङ्गलवारै बताएका थिए। बुधवारको बैठकमा पौडेलले सभापतिमा सघाउन आग्रह गरेका थिए। तर प्रकाशमान र शेखर राजी भएनन्। अनि रामचन्द्र पौडेल भावुक भए। बैठकमा एकल उम्मेदवारीमा सहमति नभए कि आफू पनि उम्मेदवार बन्ने या पार्टीबाट बिदा लिएर घरमा बस्ने बताए पौडेलले।

उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उम्मेदवार बनाउन दबाब बढाएका थिए बैठकमा। तर त्यसको प्रभाव देखिएन।

‘सबै जना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु। म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,’ नेता डा रामशरण महतले पत्रकारसँग कुरा गर्दै भने, ‘अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन। सबै जना आ आफ्नो अडानमा हुनुहुन्छ।’

बैठकमा सभापतिका दाबेदार सिंहले आफू राजनीतिमा पुरानो पुस्ता भएको र नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको बताएका थिए। शेखरले १३ औँ महाधिवेशनको नतिजा आएसँगै आफूले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेर तयारी गरेकाले ब्याक हुनै नसक्ने बताउँदै आएका छन्।

बुधवारको बैठकमा सिंह र कोइरालाबिच सहमति हुन नसकेपछि पुन बिहीबार बिहान ८ बजे बैठक बस्ने भन्दै नेताहरू बैठक स्थलबाट बाहिरिए।

देउवातिर पनि उस्तै सकस

देउवा निवास बुढानीलकण्ठमा बुधवार सभापति शेरबहादुर देउवा समूहको बैठक बस्यो। बैठकले केन्द्रीय सदस्यहरूको उम्मेदवार तय गर्न शीर्ष नेताहरूलाई जिम्मा दियो।

नेताहरूले विभिन्न क्लस्टरबाट महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । केन्द्रीय सदस्यहरू चयन गर्नका लागि प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिएको छ।

बैठकमा सभापति देउवाले क्लस्टर अनुसार नाम बढी नहुने गरी उम्मेदवारहरू चयन गर्न निर्देशन दिएका थिए। निर्देशन अनुसार नेताहरू जोड घटाउमा व्यस्त छन्।

‘दाइ साँझदेखि आन्तरिक काममा व्यस्त हुनुहुन्छ । बैठक चलिरहेको छ,’ गण्डकी प्रदेशको जिम्मा पाएका नेता गोपालमान श्रेष्ठको सचिवालयले उकेरालाई बतायो। 

तानातानमा प्रभावशाली नेता

बुधवारै वरिष्ठ नेता पौडेल अर्का नेता कृष्ण सिटौलालाई भेट्न उनकै निवासमा पुगेका थिए। आफ्नो समूहमा आकाङ्क्षीहरू मिलेमा आफू त्याग गर्न तयार रहेको बताइसकेका नेता पौडेलले आफ्ना नाममा सहमति हुने र त्यसमा सिटौला सहभागी गराउन सके बलियो हुने आशामा सहयोग माग्न सिटौलाकोमा गएका थिए।

भेटमा सिटौलालाई आफ्नो नाममा सहमति भइदिन पौडेलले प्रस्ताव राखेका थिए। तर सिटौला राजी भएनन्। उनले सहमतिको आधार मागे जुन पौडेलसँग थिएन।

‘रामचन्द्र दाइले सहयोग गर्न र सहमति जनाउन आग्रह गर्नुभयो, के आधारमा सहमति गर्ने ? सहमतिको आधार ल्याउनुस् न भनेर ठोस प्रस्ताव कृष्ण दाइले माग्नुभयो,’ सिटौला निकट एक नेताले उकेरासँग भने। पौडेल र सिटौलाबिच थप छलफल हुने छ।

शशाङ्क तान्ने दाउमा देउवा

संस्थापन इतर समूहमा सभापतिको दौडबाट शशाङ्क बाहिरिएपछि १५ औँ महाधिवेशनमा सभापति बनाउने सर्तमा उनलाई आफ्नो समूहमा ल्याउने कसरतमा संस्थापन पक्ष सक्रिय भएको छ।

तत्काल उपसभापति दिएर निर्वाचनपछि कार्यवाहक दिने र १५ औँ महाधिवेशनमा सघाउने प्रस्ताव सहित देउवाको कोर टिम शशाङ्क फकाउन सक्रिय भएका छन्। तर देउवाकै टिममा पदाधिकारीका लागि मारामार छ। यता शशाङ्कलाई ल्याउँदा आफ्नै समूहका नेताहरूले पनि समूह परिवर्तन गर्ने सक्ने भय उनमा देखिन्छ।

महामन्त्रीमा दाबी गरिरहेका एनपी साउदले टिममा नपरे आफू स्वतन्त्र भए पनि महामन्त्रीको उम्मेदवार बन्ने सन्देश देउवालाई दिइसकेका छन्। शशाङ्कको प्रवेश संस्थापन समूहमा भए १५ औँ महाधिवेशनमा देउवाको उत्तराधिकारीको रूपमा सभापति बन्ने आसमा साथ दिइरहेका सिटौला संस्थापनइतर समूहमा जाने जोखिम पनि उत्तिकै छ। बिहीबारको बैठकमा सहभागीहरूले देउवालाई सिटौलालाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए।

मंसिर २२, २०७८ बुधबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।