चलचित्रका कलाकारलाई पनि सामाजिक कोषमा समेट्ने मन्त्रीको वचन
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बचन दिएका छन्।
मन्त्रालयमा ज्ञापन पत्र बुझाउन गएका चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध सङ्घ-संस्थाका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताएका हुन्।
मन्त्री श्रेष्ठले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताए। योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने उनको भनाई छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरूको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गरेका थिए। चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले चलचित्रमा पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रूपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने बताए।
नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरस महामारीका कारण चलचित्र निर्माण ठप्प भएसँगै प्राविधिकहरू बेरोजगार बनेको बनाए। कलाकार र प्राविधिक सम्बद्ध सङ्घ-संस्थाका पदाधिकारीहरूले नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।
मंसिर २२, २०७८ बुधबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।