पाको अनुभव र युवा जोस मिश्रित नेतृत्व आओस्

बुटवल : नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा प्रतिनिधिहरु काठमाडौं जाने क्रम सुरु भएको छ।
महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्दैछ। नेतृत्वका लागि थुप्रै नेता आकांक्षी देखिएका छन्। केन्द्रीय सभापतिमा संस्थापन पक्षबाट वर्तमान सभापति समेत रहेका शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने इतर पक्षबाट साझा उम्मेदवार तय गर्न छलफल चलिरहेको छ।
हालै सम्पन्न एमाले महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा दोहोरिए भने राप्रपामा युवा नेता राजेन्द्र लिङ्देल अध्यक्षमा निर्वाचित भए। यही बेला हुन लागेको सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ला भन्ने सबैको चासोको विषय बनेको छ।
आज हामीले १४औं महाधिवेशनबाट आउने कांग्रेको नेतृत्व कस्तो हुनुपर्छ भनेर राजनीतिभन्दा बाहिर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सोधेका छौं।
कविराज पौडेल, साहित्यकार
नेपाली कांग्रेसको अबको नेतृत्वले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न मरिमेटेर लाग्नुपर्ने छ। संघीयता र संविधानको रक्षाका लागि कुनै पनि किसिमको सम्झौता अब आउने नेतृत्वले गर्न हुँदैन।
हजारौंको बलिदानीले ल्याएको संघीयता र संविधान सभाले ल्याएको संविधानको रक्षा गर्न कांग्रेस नेतृत्व प्रतिवद्ध भएर उभिनुपर्छ। देशलाई कुनै पनि राष्ट्रले हस्तक्षेप गर्नुहुँदैन। त्यसमा पनि कांग्रेसले अडान लिनुपर्छ।
भारतसँगका राष्ट्रघाती सम्झौतालाई पुनरावलोकन गराउन कूटनीतिक राख्नसक्ने दूरदर्शी नेतृत्व आवश्यक छ। एमसिसी सम्झौता राष्ट्रहितमा छ कि छैन भनेर मूल्यांकन गर्नसक्ने नेतृत्व अहिलेको आवश्यकता हो।
रामराज पोख्रेल, अध्यक्ष, पत्रकार महासंघ रुपन्देही
नेपाली कांग्रेस इतिहास बोकेको पार्टी हो। जहानियाँ राणा शासनदेखि अहिलेसम्मका हरेक परिवर्तनमा अगुवाइ गर्दै आइरहेको कांग्रेसको पछिल्लो नेतुत्वले बाटो विराएको आभास आम कार्यकर्ता र जनताले गरेका छन्।
नेतृत्व जहिले पनि अग्रगामी र दूरदृष्टि राख्नसक्ने हुनुपर्छ। तसर्थ अबको नेतृत्व स्पष्ट दृष्टिकोण र भिजन भएको आउनुपर्छ। जसले मुलुक भित्रै हाम्रो भविष्य छ भन्ने कुराको जनतालाई विश्वास दिलाउन सकोस्। विदेशमा जाने युवा शक्तिलाई रोकेर स्वदेशमै आफ्नो ज्ञान, सिप र सिर्जनशीलतामार्फत मुलुकको विकास र समृद्धि सम्भव छ भनेर विश्वास दिलाउन सकोस्।
हरि अर्याल, व्यापारी
नेपाली कांग्रेसको अबको नेतृत्व पाका पुस्ताको अनुभव र युवाको सिर्जनशीलतालाई मिलाएर देशलाई समृद्ध बनाउनतर्फ केन्द्रित हुनुपर्छ। उमेर, भूगोल र समावेशी नेतृत्व अहिलेको आवश्यकता रहेकाले अबको नेतृत्व चयन गर्दा यसमा पनि विचार पुर्याउनुपर्छ।
देशको इतिहास बोकेको पार्टीले नेपालमै रोजगारी सिर्जना गर्न पहलकदमी गर्नुपर्छ। युवाहरुलाई देशभित्रै टिकाइराख्नसक्ने भिजन भएको नेतृत्व अहिलेको आवश्यकता हो।
कृष्ण चौहान क्षेत्री, रक्तसञ्चार अभियन्ता
नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो। धेरै पटक सरकारको नेतृत्वमा पुगेको छ। २०४६ सालको जनआन्दोलनको नेतृत्व, २०६२/६३ को जनआन्दोलनको नेतृत्व, तत्कालीन विद्रोही माओवादीलाई विस्तृत शान्ति सम्झौताको नेतृत्व, संविधानसभामार्फत नेपालमा पहिलो संविधान जारी गर्ने पार्टी समेत नेपाली कांग्रेस हो।
अहिलेको महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीले समग्र देशको विकास, नेपाली नागरिकको जीवनस्तर उकास्नसक्ने नेतृत्व अघि सार्नुपर्छ। पार्टीभित्र आन्तरिक सुशासन, भ्रातृ संस्थाहरुको व्यवस्थापन, कार्यकर्तामा उत्साह, प्रतिपक्षलाई समेत विश्वासमा लिएर अघि बढ्न सक्ने सबल, सक्षम नेतृत्व आजको आवश्यकता हो।
मञ्जु आचार्य, कलाकार
नेपाली कांग्रेसको अबको नेतृत्वले देश र जनताको भावना बुझेर देशमा केही नयाँ गर्ने मिसन बनाउनुपर्छ। अहिले पनि देशमा सामाजिक, आर्थिक, जातीयता असमानता कायम छ। यसलाई निर्मुल पार्न नेतृत्वले अगुवाइ लिनुपर्छ।
शिक्षित नेतृत्व भए परिणामुखी काम गर्नसक्ने भएकाले नेतृत्वमा शिक्षित युवा पुस्तालाई स्थान दिनुपर्छ। नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टचार हो। भ्रष्टाचार निर्मुल पार्नसक्ने नेतृत्व आउनुपर्छ।
मंसिर २२, २०७८ बुधबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।