छायामा माओवादी केन्द्रको अधिवेशन
इटहरीः देशका प्रमुख राजनीतिक दलहरूलाई हाल महाधिवेशनको चटारो छ। नेकपा एमाले र राप्रपाले हालसालै महाधिवेशन सम्पन्न गरे भने हाल कांग्रेस महाधिवेशन सुरु गर्न जुटेको छ।
नेपाली कांग्रेसले पनि वडादेखि प्रदेशसम्म ६ तहको अधिवेशन सम्पन्न गरिसकेको छ। केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।
यही बेला माओवादी केन्द्रको अधिवेशन पनि जारी छ। महाधिवेशन पुस ११ गतेबाट सुरु हुँदैछ। तर माओवादी केन्द्रको अधिवेशन भने हाल छायामा परेको छ।
कोठामा हुने अधिवेशनको कुनै प्रचारप्रसार हुन सकेको छैन। पहिलो पटक वडादेखि अधिवेशन सुरु गरेको माओवादीले लोकतान्त्रिक अभ्यास अगाडि बढाउन खोजेको छ।
वडादेखि नगरसम्मको अधिवेशन सम्पन्न गरेको माओवादीले यही २५ गते प्रदेश १ को अधिवेशन गर्ने भएको छ। एक हजार एक सय ४० जना प्रतिनिधि सहभागी हुने अधिवेशनले पहिलो प्रदेश समिति गठन गर्नेछ।
आयोजक समितिका सचिव हेमराज भण्डारीका अनुसार अधिवेशनको उद्घाटन सत्रपछि सोही दिन बन्द सत्र सुरु हुनेछ। ‘राजनीतिक र सांगठनिक प्रतिवेदनबारे भोलिपल्ट बिहानसम्म बहस हुने र प्रतिवेदनहरू पारित हुनेछन्’, भण्डारीले भने, ‘समिति निर्माणको काम सकेसम्म सहमतिमै २६ गते टुङ्गो लाग्नेछ।'
नेतृत्त्वको विषयमा सहमति नभए निर्वाचनको प्रकृया अपनाइने पनि उनले सुनाए।
प्रदेश अधिवेशनले एक सय ७५ जनाको कार्यसमिति निर्वाचित गर्ने र एक सय जनाको हाराहारीमा राष्ट्रिय सम्मेलनका प्रतिनिधि चयन हुनेछन्।
जिल्लालाई समन्वय समितिको मात्र जिम्मा दिएको माओवादीले प्रदेश र नगरका सदस्यहरूबाट समन्वय समिति बनाउने भएको छ।
उता जिल्लाका पदाधीकारीहरू धमाधम नगर समितिको उम्मेदवार बन्दा विवाद बढ्दै गएको छ। धरान उपमहानगरमा उद्घाटन भए पनि अहिलेसम्म समिति तय हुन सकेको छैन। अध्यक्षमा फोक्वाहाङ सुब्बा र उद्धव लिम्बूको उम्मेदवारी परे पनि अहिलेसम्म निर्वाचन हुन सकेको छैन।
उता इटहरीमा तीन जना अध्यक्षका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमध्ये राजन काफ्ले र मणिराम गिरीले छलफल गर्ने समय माग गरे।
एक दिनको लागि समय माग गरेर उनीहरू हलबाट बाहिरिए। तर निर्वाचन समितिले समय निर्धारण भइसकेकाले तलमाथि नहुने भन्दै निर्वाचन गरायो।
निर्वाचन कार्यक्रममा तेस्रा उम्मेदवार बहादुरसिंह तामाङ मात्र सहभागी भए। पछी उनै तामाङको पक्षमा चुनावी परिणाम आयो।
एकलौटी निर्वाचन गरेको भन्दै काफ्लेको अध्यक्षतामा अर्को समानान्तर समिति गठन भएको छ। निर्वाचन समितिको मिलेमतोमा धाँधली गरेको उनको आरोप छ।
विराटनगर महानगरमा भने सर्वसम्मत नेतृत्त्व चयन भएको छ। नवीन पौडेलेको अध्यक्षतामा ९९ सदस्यीय समिति गठन भएको हो। पार्टी खिइँदै गए पनि विवाद बढ्दै गएका छन्।
मंसिर २२, २०७८ बुधबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।