देउवालाई संस्थापनइतर मिल्ने डर, आफ्नो नाममा सहमति गराउन पौडेललाई शशाङ्कको भर

देउवालाई संस्थापनइतर मिल्ने डर, आफ्नो नाममा सहमति गराउन पौडेललाई शशाङ्कको भर

काठमाडौँ : पार्टी नेतृत्वमा दोहोरिने रणनीतिमा लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो टिम मिलाउने सकस मात्रै छैन,संस्थापनइतर समूहतिर पनि उत्तिकै नजर लगाउनै परेको छ। उनको समूहका बिमलेन्द्र निधि समेत सभापतिको उम्मेदवार बन्ने दौडमा छन्।

उता संस्थापनइतरमा देखिएको चार उम्मेदवारबिच सहमति नभए उनलाई सहज हुनसक्छ। तर उताबाट एकल उम्मेदवार आए दोहोरिने सपना पुरा नहुन सक्छ। त्यसैले सकेसम्म देउवाको शक्ति इतर समूहलाई एक हुन नदिन पनि लाग्ने नै देखिन्छ।

मङ्गलवार संस्थापनइतर समूहका सभापतिका उम्मेदवारहरू बसेर गरेको छलफलमा २ आकाङ्क्षी केही सफ्ट भए पनि उनीहरूले मैदान छाडेका छैनन्। प्रकाशमान सिंह निवास चाक्सीवारिमा भएको बैठकमा एकल उम्मेदवारमा सहमति भए आफू बाधक नबन्ने सन्देश दिए वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशाङ्क कोइरालाले अर्का २ आकाङ्क्षीमध्ये एकमा सहमति बने आफ्नो दाबेदारी छाड्ने सन्देश दिएका छन्। उनको जोड सभापतिमा पौडेल देखिएका छन्।

मङ्गलवार बैठक टुंग्याउँदासम्म शेखर कोइराला र सिंह सभापतिको दाबेदारमा अडिग देखिएका छन्। सभापतिका आकांक्षीहरुलाई मङ्गलवार रातभरको समय दिएर बुधवार जसरी पनि उम्मेदवार तय गर्ने भनेर नेताहरू बैठकबाट उठेका छन्।

संस्थापन इतरमा सभापति मात्र छानेर सुख छैन। उपसभापति, महामन्त्री अनि सह महामन्त्रीदेखि भावी सरकार बने कसले नेतृत्व गर्ने अनि राष्ट्रपति को हुने भन्नेसम्म टुङ्ग्याउनुपर्ने दबाब छ। सबैभन्दा ठुलो सकस सभापतिपछि उपसभापति र महामन्त्रीका उम्मेदवार टुङ्ग्याउनै पर्ने दबाबमा छ।

‘हामी ३ वर्षदेखि मेहनत गरिराखेका छौँ, कुनै पनि हालतमा ब्याक हुँदैनौ,’ डा शेखरको सचिवालयले अधिवेशनको सुरुदेखि भन्दै आएको कुरा हो यो। सम्भव भए महामन्त्री नभए सह महामन्त्रीमा चित्त बुझाउने मनसायमा रहेका युवा नेता गुरु घिमिरेलाई प्रदेश १ को सभापतिमा दाबी गर्न तयार बनाएको शेखर समूहले उनलाई जिताउन भने सकेन। १ सय ५० मतले जित हासिल हुनेमा ढुक्क यो समूह २ मत अन्तरले हारेपछि भोट हाल्न नगएकोमा शेखरले माफी माग्नुपर्यो। यो केसले शेखरलाई ब्याक फायर गरेको छ।

मगंलबारबाट सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका सिंहलाई कार्यालय उद्घाटन गर्दै गर्दा उकेराको प्रश्न थियो 'साझा उम्मेदवारको नाममा पटक पटकको वार्ताले निचोड दिन सकेन अब सहमतिको सम्भावना टरेको हो?'

सिंहको जवाफ थियो, ‘होइन हामी आज पनि छलफलमा छौँ। सहमति नभएसम्म छलफलमा हुन्छौँ। सजिलै मिल्ने कुरा होइन यो।’

छोड्नको लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा सिंहले भने, ‘मैले छोड्ने भए यो कार्यालय किन बनाइरहन्थे अन्तिमसम्म सम्भावना हेरौँ।’

मङ्गलवारको इतर पक्षको आकाङ्क्षीको बैठकमा समेत सिंहले सो कुरा राखेका थिए। आफ्नै नाममा इतर पक्षको साझा उम्मेदवार होस् भन्ने चाहन्छन्, पौडेल, डा शेखर र सिंह। सिंहको अडान प्रधानमन्त्रीको लागि बार्गेनिङ हुन सक्ने चर्चा इतर पक्षका अन्य आकाङ्क्षीमा छ।

सो समूहबाट उप सभापतिमा सभापतिको उम्मेदवार भनेर दाबी गरिरहेका डा रामशरण महत र अर्जुननरसिंह केसी उपसभापतिका आकाङ्क्षी छन्। उपमा नअटे महामन्त्रीमा चित्त बुझाउने उनीहरूको रणनीति छ।

उपसभापतिमा युवा नेतृत्वबाट नेतृत्वलाई साझा सभापतिको उम्मेदवार खडा गर्न दबाब दिइरहेको डा चन्द्र भण्डारीको पनि दाबी छ। गगन थापालाई महामन्त्री बनाएर अन्य आकाङ्क्षीलाई ८ वटा कोटा रहेको सह महामन्त्रीमा व्यवस्थापन गर्न सकिने गृहकार्यमा सो समूह लागेको छ।

रामचन्द्र पौडेलको नाममा सहमति भएमा सिंह प्रधानमन्त्री तथा उपसभापतिमा डा शेखर कोइराला र महामन्त्री वा उपसभापतिमा शशाङ्क कोइराला बनाउने विकल्प छ समूहसँग। तर, लामो समयसम्म सहमति गर्न नसकेको सो समूहमा आफैँमा ध्रुवीकरणमा पर्ने खतरा पनि उक्तिकै छ।

मङ्गलवारको बैठकबाट निस्कँदा पौडेलको भनाइ छ, ‘हामीले सबै दृष्टिकोणबाट छलफल गर्यौँ। अबको यो चुनौतीको सामना हामी कसरी गर्छौँ, महाधिवेशनमा हामी कसरी पार्टी जोगाउन सफल हुन्छौँ, सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ।’

उनले भने, ‘केही प्रक्रिया पूरा गर्न बाँकी छ। त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौँ। भोलिसम्म साझा उम्मेदवार तय हुन्छ, हामी तय गर्छौँ।’

सभापति निर्विकल्प तर अन्य पदमा को?

संस्थापन पक्षले सभापतिमा दोहोरिने माहौल देखिएको भन्दै आएको छ। सोमबार सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भने, ‘मेरो यो अन्तिम पटक सभापति हुने हो, तपाईँहरूले सहयोग गर्दिनुपर्यो। अब पार्टीलाई पूर्ववत् अवस्थामा पुर्याएर युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्छु।’

 ६ वटा प्रदेशको नतिजा आएकोमा ४ वटा आफ्नो पक्षमा परेकाले संस्थापन पक्ष जित्नेमा ढुक्क झैँ छन्। तल्ला तहदेखि इतर समूहलाई माथि आउन नदिने सो समूहको रणनीति देखिन्छ। इतर पक्षभित्र खेलेर आफ्नो पक्षमा नतिजा ल्याउन कतिसम्म खेल्न सक्छ संस्थापन भन्ने त प्रदेश १ को नतिजाबाटै देखियो। प्रदेश निर्वाचन परिणामपछि नै इतर समूह अलि चिन्तित देखिएको कारण पनि उनीहरूको रणनीति नै हो।

सो समूहमा सभापतिमा विवाद नरहे पनि समूहै छाडेर सभापतिको उम्मेदवार बन्न हिँडेका निधिलाई मनाउने चुनौती छ। त्यसमा पनि पदाधिकारीका आकाङ्क्षी व्यवस्थापनमा भने महाभारतै छ।

विजयकुमार गच्छदार, नेता गोपालमान श्रेष्ठ, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी सावद, रमेश लेखकलगायत नेता पदाधिकारीमा अट्न चाहन्छन्।

सभापतिमा दाबी गरेका श्रेष्ठले देउवालाई सभापति नलड्न सुझाएका छन् । संस्थापनबाट गच्छदार र खड्का उपसभापतिका आकाङ्क्षी छन्। गृहमन्त्री खाँण, महत, कार्की, सावद र लेखकको दाबी महामन्त्रीमा छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि महामन्त्रीको दाबेदार बनेका छन्। सावद र शर्मा समूहमा नहटे समूहबाट बाहिरिएर भए पनि उम्मेदवार हुने कसरतमा छन्।

आफ्नो जोखिम कम गर्न इतर पक्षका प्रभावशाली नेतालाई उपसभापति र महामन्त्रीको ‘अफर’ गरेर तान्ने कसरतमा छन् देउवा। महामन्त्री समेत इतर पक्षका असन्तुष्ट नेतालाई तानेर आफ्नो पल्ला भारी बनाउन संस्थापन लागिपरेको देखिन्छ।

नेता व्यवस्थापनकै लागि ८ वटा सह महामन्त्रीलाई बढाएर ११ वटा बनाउने देउवाको कसरत पौडेलको असहमतिले पार हुन सकेको छैन।

देउवाको अर्को चुनौती कृष्णप्रसाद सिटौला पक्षको आकाङ्क्षीको व्यवस्थापन पनि हो। सिटौला पक्षले सभापतिमा देउवालाई सघाउने भएपछि पदाधिकारी र केन्द्रीय सदस्य बढी भन्दा बढी सङ्ख्यामा माग गरिरहेको छ।

‘२ पदाधिकारी र २० केन्द्रीय सदस्यमा हाम्रो पहिलेदेखि नै दाबी हो। यसमा आवश्यकता अनुसार लचक हुन सकिन्छ। तर अर्को महाधिवेशनमा सिटौला दाइ देउवाको ठाउँमा सभापतिको उम्मेदवार बन्न पाउनुपर्छ,’ सिटौला निकट एक नेताले उकेरासँग भने।

सो नीति अनुसार सिटौला उपसभापतिको उम्मेदवार हुने तयारीमा छन्। आफू उपसभापति हुन नसके  महामन्त्रीमा प्रदीप पौडेल र सह महामन्त्रीमा शिव हुमागाईँलाई अघि सारेका छन्। न्यूनतम २० केन्द्रीय सदस्य चाहिने सिटौला समूहको रणनीति देखिन्छ।

एक महिनाअघि देखि केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिहरूको सूक्ष्म रेकर्ड राखिराखेको छ देउवा सचिवालयले। सो काम इतर समूहमा सामूहिक छैन। व्यक्तिगत मात्र छ। डा शेखर कोइराला, रामचन्द्र पौडेल अनि महामन्त्रीका दाबेदार गगनलेको सचिवालयले विश्लेषणको काम गरिरहेको छ।

१३ औँ महाधिवेशनमा सिटौलाको समर्थनमा दोस्रो चरणको निर्वाचनमा विजयी भएका देउवा सचिवालयको रिपोर्टको आधारमा २ भन्दा बढी उम्मेदवार भएको खण्डमा पहिलो चरणमा निर्वाचन जित्न सहज हुने भन्दै पहिलो चरणमा नतिजा निकाल्ने रणनीतिमा देखिन्छ।

पौडेल पक्षका नेताहरूले आफ्नो पक्षबाट एक मात्र साझा उमेद्वारा दिन नसके फेरी नेतृत्व देउवालाई नै बुझाए हुन्छ भनिरहेका छन्। उनीहरू पनि आफ्नो समूहबाट एकल उम्मेदवार चयन गर्न सके पहिलो चरणमै नतिजा आउनेमा विश्वस्त देखिन्छन्। तीन उम्मेदवार भएर निर्वाचन दोस्रो चरणमा गए नेतृत्व चयनमा तेस्रो हुने उम्मेदवारको निर्णय निर्णायक हुने देखिन्छ १३ औँ महाधिवेशनमा झैँ।

मंसिर २१, २०७८ मंगलबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।