कोषको नेतृत्वबाट हटाएको क्षण सम्झँदै रोइन् कलाकार वसुन्धरा
काठमाडौँ : चलचित्रकर्मी कल्याण कोष गठन गर्न कलाकार वसुन्धरा भुसालले गरेको दुख सम्झिसाध्दे छैन। ५-१० रुपैयाँ उठाएर कलाकार समस्यामा पर्दा केही रकम सहयोग गर्न कोष बनाउनुपर्छ भन्दै उनी जताततै दौडिइन्।
उनको मिहिनेतले बनेको कोषमा अहिले पाँच करोड रुपैयाँ जम्मा भइसकेको छ। यो बिचमा एक पटक उनलाई कोषबाट हटाइयो। उनी २१ वर्षदेखि निरन्तर कोषको अध्यक्ष भएको भन्दै केही कलाकारले लबिङ गरेपछि उनी हटाइन्।
पछि चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई आएपछि उनले भुसाललाई पुन नेतृत्वमा फर्काएका थिए। कोषका लागि स्वयंसेवकको रूपमा काम गर्दा पनि के-के न गरेको झैँ गरेर आफूलाई हटाएको क्षण सम्झँदै हालै उनी रोइन् नै।
चलचित्र विकास बोर्डले कोषका लागि २ लाख रकम दिएको थियो। सरकारले समेत केही रकम दिएको थियो। कलाकारहरूसँग उनले सहयोग उठाएर कोषमा राख्दै आएकी छिन्। उनले मुख्य कलाकारहरूलाई धेरै आग्रह गरे पनि एक फिल्मको पारिश्रमिकै १० लाख लिने दाबी गर्ने कलाकारहरूले समेत सय रुपैंया सहयोग गर्न नचाहने प्रवृत्ति देखिएको छ।
भुसालका अनुसार कोषले अहिले जटिल रोग लागेर उपचारमा समस्या परेका कलाकारलाई मासिक पाँच हजार दिने गरेको छ। कलाकारको शबदाहदेखि किरिया गर्ने कामको काम कोषले गर्ने गरेको छ। सुटिङ गर्दागर्दै कसैको मृत्यु भएमा एक लाख, कसैलाई क्यान्सर भएमा एक लाख दिने गरेको कोषले बढी प्राविधिकहरूलाई सहयोग गर्ने गरेको छ।
हालै विकास बोर्डले कोषको सञ्चालक समितिमा कलाकार दीपाश्री निरौलालाई नियुक्त गरेको छ। उनले नियुक्तिसँगै कोषमा २ लाख रकम सहयोग गर्ने घोषणा गरेकी थिइन्।
मंसिर २१, २०७८ मंगलबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।