एक लाख ५० हजारमा लाइसेन्स बेचेको आरोप लागेका लुम्बिनी यातायातका प्रमुख कारबाहीमा पर्ने भएपछि सचिवकै सरुवा गराए
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को भदौ १३ गतेको निर्णयबाट स्थापना भएको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको सचिवमा कुमार प्रसाद दाहाल आएपछि उनले सवारी चालक अनुमति पत्र वितरणमा भएको बदमासीको छानबिन सुरु गरेका थिए। उनले कारबाहीका लागि यादवलाई २ पटक पत्र काटेका थिए। तर छानबिन टुङ्गोमा पुग्नु अगाडि नै उनको सरुवा भयो।
जानकार श्रोत यादवकै जोडबलमा दाहालको सरुवा भएको बताउँछ। केही महिना अघि हेभी ईक्वीपमेन्टको लाईसेन्सनका लागि २ सय १३ जनाले परीक्षा लिइएकोमा २ सय ३७ जना उत्तीर्ण भएका थिए। यादवले पैसा लिएर परीक्षामा सहभागी समेत नभएकाहरुलाई समेत लाइसेन्स दिएको उजुरीको आधारमा मन्त्रालयले छानबिन अगाडि बढाएको थियो।
यादवले परीक्षामा सहभागी समेत नभएकासँग १ लाख ५० हजारसम्म लिएर हेभी ईक्वीपमेन्ट चलाउन पाउने सवारी चालक अनुमति पत्र दिएको उजुरी परेको थियो। प्रमाण सहित मन्त्रालयमा उजुरी परेपछि दाहालले यादवमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका थिए।
२०७८ कात्तिक २८ कात्तिकमा लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दाहालले पत्रकार सम्मेलन गर्दै लाइसेन्स वितरणलाई पारदर्शी बनाउने दाबी गरेका थिए। दाहाललाई लाइसेन्स वितरणमा भएको अनियमितताबारे गुनासो आएको र त्यसबारे यथार्थ जानकारी लिन उनले २ पटकसम्म यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयका कार्यालय प्रमुख तेज नारायण यादवलाई जवाफ दिन पत्र पठाएका थिए। तर पत्रको जवाफ नदिएका यादवले ३ महिनामै काम गर्न असहयोग गरेको भन्दै दाहालको सरुवा गराए।
पत्रकार सम्मेलनमा दाहालले लाइसेन्स वितरण सम्बन्धी गुनासा भए सिधै सम्पर्क गर्न मोबाइल नम्बर नै सार्वजनिक गरेका थिए। सवारी चालक अनुमति पत्रलाई व्यवस्थित बनाउने भन्दै लागेका दाहाल यादवकै अगुवाइमा सरुवा गरिएको उनी निकटस्थहरू बताउँछन्।
दाहालले यादवलाई लाइसेन्स वितरणको अनियमितता बारेमा पहिलो पटक असोज २२ मा ३ दिन भित्र जवाफ दिन पत्र पठाएका थिए। तर महिना दिनसम्म जवाफ नआएपछि २५ कात्तिकमा पुन पत्र पठाएर ताकेता गरेका थिए। तर यादवले जवाफ पठाउनुको सट्टा उनकै योजनाअनुसार दाहालको सरुवा भयो।
दाहाल निकट स्रोत भन्छ–‘मन्त्रालयमा पत्रकार सम्मेलन सकेपछि दाहाल विरुद्ध आक्रोशित यादव उनको सरुवाका लागि काठमाडौँ सम्म पुगेर मन्त्रालयमा लबिङ गरिरहेका थिए । त्यही अनुसार दाहाल सरुवा हुनु परेको हो।’
शक्तिशाली यादव
तेज नारायण यादव कति शक्तिशाली हुन भन्ने उनको नियुक्तिले पुष्टि गर्छ। यातायात व्यवस्था कार्यालय बागमतीमा रहँदा गरेको अनियमितता छानबिनमा परेपछि दुई वर्ष अघि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए उनी। अहिले उनी सवारी चालक अनुमति पत्र कार्यालयमा कार्यालय प्रमुखको रूपमा छन्। सत्तारुढ दलका नेताको चाकडीले उनी शक्तिमा रमाइरहेका छन्।
मङ्सिर ८ मा उकेरा प्रतिनिधिलाई आएको एक गोप्य सूचना अनुसार नेताहरूलाई रिझाउनका लागि ९ जना आसेपासेलाई करारमा नियुक्ति गरेका थिए। सूचना बारे जानकारी लिन कार्यालय पुगेका उकेरा प्रतिनिधिलाई उनले सेवा करारमा ५ लाख रुपैयाँसम्म सिधै व्यक्तिलाई राख्न पाउने नियम अनुसार १० जना ३ महिनालाई नियुक्ति गरेको बताएका थिए। उनले भने–‘यसरी करार राख्दा पार्टी र जाती सबै मिलाएर राखेको छु।’
अहिले सेवा करारमा नियुक्त गरिएका भनिएकाहरू सवारी चालक अनुमति पत्रको जिम्मामा छन्। आफ्ना निकटस्थहरुलाई करारमा नियुक्त गरेका यादवले करार नियुक्ति गरेका व्यक्तिहरूलाई परिचालन गरेर कार्यालयबाट रकम असुल्ने गरेको एक कर्मचारीले बताए ।
यादव कार्यालयमा आएपछि १० वर्षदेखि कार्यरत सेवा करारका ५ जना कर्मचारीलाई काम गर्न नसकेको भन्ने आरोप लगाएर हटाएर १० जना कर्मचारी नियुक्त हुन। ती मध्ये मुख्यमन्त्री कुल प्रसाद केसीका २ जना, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेगाका ३ जना, कांग्रेस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणका २ जना र १ जना एमालेका एक स्थानीय नेताले पठाएका छन्।
म गरे जसरी बोल्ने यादव कार्यालयमा आएपछि श्रृङखलाबद्ध रूपमा अनियमितता गरेको कर्मचारीको दाबी छ। उनको अनियमितताबारे गुनासो आएपछि मन्त्रालयका सचिव दाहालले उनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएका थिए। तर उल्टै उनै दाहाललाई नेताको प्रयोग गरेर सरुवा गराए। हाल मन्त्रालयमा दीपक नेपाल सचिवका रूपमा आएका छन्।
मंसिर २१, २०७८ मंगलबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।