लुम्बिनीबाट उपसभापतिदेखि सदस्यसम्म दर्जन बढी आकाङ्क्षी तर टिममा पर्न छैन सजिलो

लुम्बिनीबाट उपसभापतिदेखि सदस्यसम्म दर्जन बढी आकाङ्क्षी तर टिममा पर्न छैन सजिलो

लुम्बिनी प्रदेशमा प्रदेशका १२ जिल्लाका नेताहरु केन्द्रीय समितिमा उम्मेदवार दिन आफ्ना निकटस्थहरुसंग छलफल र केन्द्रमा लबिङमा सक्रिय भएका छन्। पालिका, जिल्ला र प्रदेश अधिवेशनमा नेपाली काँग्रेसले २ प्यानल बनाएर निर्वाचनमा गएको थियो। केन्द्रीय समितिमा पनि संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच मुख्यतः प्रतिस्पर्धा हुने पक्का छ।

 लुम्बिनीमा संस्थापन पक्ष भन्दा संस्थापन इतर पक्ष बलियो छ। प्रदेशका ११ जिल्लाको नजिता आउँदा ९ जिल्लामा पौडेल पक्षका सभापति निर्वाचित भएका छन् भने हालै भएको प्रदेश अधिवेशनमा समेत पौडेल पक्षका अमर पुन सभापतिमा विजयी भए। अन्य प्रदेशमा संस्थापन पक्ष बलियो भए पनि यो प्रदेशमा ६०-४० अनुपातमा पौडेल र देउवा पक्षका छन्।

महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनीबाट कांग्रेस केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय समितिमा जान २ दर्जन बढी नेताले आकाङ्क्षा देखाएका छन्।

कांग्रेस महामन्त्रीमा रुपन्देहीका सांसद एवं गृहमन्त्री बालकृष्ण खाँणको चर्चा छ। देउवाका विश्वास पात्र मानिने खाँण महामन्त्रीका स्वाभाविक दाबेदार समेत हुन्। संस्थापन समूहमा उनी मुख्य रणनीतिकार भए पनि आकाङ्क्षीहरूको भिडकाविच उनी च्यापिने जोखिम पनि छ।

देउवा समूहबाटै महामन्त्रीमा उनी बाहेक रमेश लेखक, एनपी साउद, ज्ञानेन्द्र कार्की, प्रकाशशरण महतसँगै पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा समेत छन्। पार्टी महाधिवेशनमा पद व्यवस्थापन मिलाउन उनलाई गृहमन्त्री बनाएर सरकारमा लगेको भन्नेहरू पनि छन् देउवाभित्र। देउवालाई महामन्त्रीको उम्मेदवार मिलाउन सकस परेको अवस्थामा उनको टिकट काटिने जोखिम देखिन्छ।

 त्यस्तै गुल्मीका चन्द्र भण्डारीले उपसभापतिमा दाबी गरिरहेका छन्। दोस्रो संविधान सभाको निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीलाई हराएर चर्चामा आएका भण्डारी २०७४ मा भएको आम निर्वाचनमा भने ज्ञवालीसँग २७ सय मतान्तरले पराजित भएका थिए।

निर्वाचनमा पराजित भए पनि हरेक साता जसो निर्वाचन क्षेत्रमा गइरहने भण्डारी जिल्लामा लोकप्रिय नेताका रूपमा परिचित छन्। सभापति देउवा सहित संस्थापन पक्षको विपक्षमा खुलेर बोल्ने उनी पौडेल पक्षबाट उपसभापतिको प्रमुख दाबेदार हुन्।

हालै सम्पन्न प्रदेश अधिवेशनमा पौडेल पक्षले लुम्बिनी प्रदेशको जिम्मा उनै भण्डारीलाई दिएको थियो। भण्डारीले अगुवाइ गरेकै नेता अमर पुन सभापतिमा विजयी पनि भए। उनले आफू सभापतिको दाबेदार भए पनि आफ्ना सिनियर नेताहरूलाई अघि सारेर आफू उपसभापतिमा उम्मेदवारी दिन लागेको बताए। उनले नेपाली कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

तर उपसभापतिमा संस्थापन इतरभित्रै आधा दर्जन बढी आकाङ्क्षी छन्। सभापतिका आकांक्षीहरुलाई मनाउन उपसभापति दिने सम्भावना छ। त्यो बेलामा उनी ब्याक हुनुपर्ने जोखिम भने देखिन्छ।

सह महामन्त्रीमा पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेलको चर्चा छ। देउवा पक्षका उनी पूर्व गृह राज्यमन्त्री समेत हुन्। जिल्लामा प्रभावशाली नेताको रूपमा चिनिएका उनी देउवाका विश्वासिला पात्रका रूपमा परिचित छन्। उनी स्व. खुमबहादुर खड्का समूहमा लामो समय रहेका थिए।

यता पौडेल समूहबाट दाङका दीपक गिरीले सह-महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेसको १३ र १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा अत्यधिक मत ल्याएर निर्वाचित भएका गिरी संस्थापन इतर पक्षबाट सह-महामन्त्रीमा उम्मेदवारी दिने तयारी भएको उनी निकट नेता विमल रिजालले बताए।

२०३६ सालमा काठमाडौँमा विद्यार्थी आन्दोलन हुँदा उनी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य थिए। पूर्व सिचाई मन्त्री समेत रहेका नेता गिरी विद्यार्थी कालदेखि नै नेपाली काँग्रेससँगको सक्रिय राजनीतिमा छन्।

अरू क–कसको चर्चा ?

केन्द्रीय सदस्यमा रुपन्देहीबाट कांग्रेस निवर्तमान सभापति अब्दुल रज्जाकले उम्मेदवारी दिने तयारी गरेका छन्। २ पटक सम्म जिल्ला सभापति भएका रज्जाक पूर्व राज्यमन्त्री समेत हुन।

त्यस्तै रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य प्रमोद यादव पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। केन्द्रीय सदस्यमै रिता सेन, जमुना ढकालको नाम चर्चामा छ। सेन, यादव पौडेल पक्षका हुन भने अरू रज्जाक, ढकाल संस्थापन पक्षका हुन्।

पाल्पाका वीर बहादुर रानाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका रानाले आदिवासी जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए।

प्युठानका प्रा.डा. गोविन्द पोखरेलले पनि केन्द्रीय सदस्यमा जान आकाङ्क्षी देखाएका छन्। उनी पौडेल पक्षका हुन्। योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय पुर्न निर्माण प्राधिकरणका सिइओ समेत भइसकेका पोखरेल काँग्रेसको १३ औँ महाधिवेशनमा सदस्यमा पराजित भएका थिए।

दाङबाट देउवा पक्षका डिल्ली चौधरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्। लुम्बिनी प्रदेश सरकारमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन्।

बर्दियाबाट देउवा समूहबाट किशोरसिंह राठोर र पौडेल समूहबाट सञ्जय गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा छ। राठोर २ पटकसम्म केन्द्रीय सदस्य बनिसकेका छन्।

त्यस्तै बाँकेका किरण कोइराला र सुरेन्द्र हमाल केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। कोइराला पौडेल पक्षका हुन भने हमाल देउवा पक्षका हुन्। स्व. सुशील कोइरालाकी भाइ बुहारी समेत रहेकी किरण हाल जिल्ला सभापति हुन। हमाल लुम्बिनी प्रदेश सरकारमा बन, वातावरण तथा भू संरक्षण मन्त्री हुन्।

अर्घाखाँचीबाट केन्द्रीय सदस्यका आकाङ्क्षीको सङ्ख्या धेरै छ। कमल भुसाल, पुष्पा भुसाल, डा. रामबहादुर वि.सी, मान बहादुर वि.क., मुक्ति श्रेष्ठ, रेवती भुसाल लगाएकाको नाम चर्चामा छन्। वि.सी, पुष्पा भुसाल, वि.क. देउवा पक्षका हुन भने कमल भुसाल, मुक्ति श्रेष्ठ, रेवती भुसाल पौडेल पक्षका हुन्।

गुल्मीबाट केन्द्रीय सदस्यमा देउवा पक्षबाट चन्द्र केसीको नाम चर्चामा छ भने पौडेल पक्षबाट त्रिलोकप्रताप सेनको नाम चर्चामा छ।

कपिलवस्तुका वीरेन्द्र कनौडिया, अक्तर कलाम देउवा समूहबाट केन्द्रीय सदस्यका आकाङ्क्षी हुन । रोल्पाबाट पौडेल पक्षका मनोजमणि आचार्यको नाम चर्चामा छ।

मंसिर २१, २०७८ मंगलबार १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।