अरूलाई सुरक्षा दिने प्रहरी आफैं असुरक्षित
वीरेन्द्रनगरस्थित नगर प्रहरी कार्यालयको आफ्नै भवन छैन। जिल्ला समन्वय समिति सुर्खेतको जीर्ण भवनबाट प्रदेश राजधानीको शान्ति सुरक्षा दिन नगर प्रहरी हरदम तैनाथ छ।
टिनका पाता पनि खिया लागेर प्वाल परिसकेका छन्। काठ कुहिएका छन्, इँटा फुटेका छन्। भवन पुरानो भएर बीचबीचबाट चिरा परेका छन्। भत्किन लागेका ठाउँमा टेको लगाएर नगर प्रहरी कार्यालय बसेको छ।
त्यही जीर्ण भवनबाट ४० जनाले राजधानी वीरेन्द्रनगरको सुरक्षा दिन्छन्। पर्याप्त कोठा पनि नहुँदा अहिले २० जना मात्रै त्यो कार्यालयमैं बस्छन्। अन्य २० जना भने कोठा भाडा लिएर बस्ने गरेका छन्।
‘प्रदेश राजधानीका नागरिकको सुरक्षा दिने नगर प्रहरी जीर्ण घरमा आफैं असुरक्षित छ। यसले प्रहरीको कार्यक्षमतामा पनि प्रभाव पारेको छ,’ नगर प्रहरी कार्यालयका इन्चार्ज एवं प्रहरी निरीक्षक लालबहादुर सुनारले भने, ‘पानी आउँदा सिधै ओछ्यानमैं पुग्छ। भूकम्पपछि त झनै जोखिम थपिएको छ। ठाउँ-ठाउँमा टेका लगाएर बसिरहेका छौं।’
यहाँको समस्याबारे आफ्नो संगठनका माथिल्लो स्तरका कमाण्डरसँग कुरा गरेको इन्चार्ज सुनारले बताए।
जिल्ला समन्वय समितिको जग्गा भए पनि भोगाधिकारका लागि संघीय सरकारको कार्यक्षेत्र पर्ने भएकोले पनि जग्गाको समस्याकै कारण भवन निर्माणमा कठिनाइ भएको इन्चार्ज सुनारको भनाइ छ।
प्रदेश राजधानीको नगर प्रहरी बस्ने कार्यालय मात्रै होइन, कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय र चौकीहरुको हालत पनि उस्तै छ।
नगर प्रहरीको भवन लगायत जिल्लामा प्रहरी चौकी भवन अभाव भएका ठाउँको जानकारी केन्द्रमा पठाइसके पनि विभिन्न समस्याका कारण काम हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए।
‘यहाँको समस्याका विषयमा माथि कुरा राखिसकेका छौं। कतिपय ठाउँमा जग्गाका कारण भवन बन्न सकेका छैनन्,’ उपरीक्षक विष्टले भने, ‘नगर प्रहरी कार्यालयको विषयमा जग्गा नगर विकासको रहेछ। त्यो जग्गा नेपाल प्रहरीको नाममा गरे मात्रै भवन बन्नका लागि बजेट आउँदो रहेछ। यसको आवश्यक प्रक्रियाका लागि पनि हामीले सोचिरहेका छौं।’
कतिपय ठाउँमा प्रहरीका भवनहरु जीर्ण र साँघुरा छन् भने कतिपय ठाउँमा भाडाका घरबाटै कार्यालयहरु सञ्चालनमा ल्याइएका छन्।
अधिकांश प्रहरी चौकी र कार्यालयका भवन जीर्ण छन्। कतिपय प्रहरीका आफ्नै कार्यालय भवन नै छैनन्।
मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, डोल्पा, जुम्ला, हुम्ला र कालिकोटका केही प्रहरी कार्यालयहरु निर्माणधीन अवस्थामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। उनका अनुसार रुकुमपश्चिम र सल्यानमा पनि केही प्रहरी कार्यालयहरु निर्माण कार्य सम्पन्न भएका छन् भने कतिपय ठाउँमा भवनको अभाव छ।
विशेषगरी दुर्गम क्षेत्रमा कार्यरत प्रहरीलाई निकै सास्ती छ। जीर्ण भवनमा बस्न र सुत्न सक्ने अवस्था छैन। कतिपय स्थानमा आफ्नै कार्यालय भवन नहुँदा प्रहरी इकाइहरु भाडाका घरमा छन्।
जग्गा र भवन नहुँदा नेपालगञ्जमा कार्यालय
जग्गा र भवनकै अभावमा कर्णाली प्रदेश प्रहरी कार्यालयका चार वटा प्रहरी युनिट लुम्बिनी प्रदेशको नेपालगञ्जमैं छन्। संघीय प्रहरी इकाइ, प्रदेश तालिम केन्द्र, सशस्त्र प्रहरी गण/दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गुल्म नेपालगञ्जमैं बसिरहेका छन्।
चार कार्यालयका लागि तत्कालै जग्गा र भवन नभएको र यहाँबाट सेवा प्रवाह गर्नसक्ने अवस्था नभएकाले ती कार्यालयहरु नेपालगञ्जमै रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठ बताउँछन्।
मंसिर २१, २०७८ मंगलबार १२:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।