कहाँको करण जौहर, कहाँको सुमन कोइराला
काठमाडौँ : सोमबारबाट नयाँ टक शो थपिएको छ कफी र कोइराला। कार्यक्रम प्रसारण हुने च्यानल ओएसआर रियालिटी। अनि प्रस्तोता स्ट्यान्ड अप कमेडियन सुमन कोइराला।
पहिलो एपिसोडको फर्म्याट हेर्दा अतिथिलाई बोलाउने र उनको विगत, वर्तमान अनि योजनाबारे छलफल गर्ने। हसीमजाँक गर्ने । सेट ठिकै देखिएको छ। नाम चैँ रिदम मिलाएको हो या भारतीय फ्लेवर प्यारो भएको हो कुन्नि कफी विथ करणसँग मिल्न पुग्यो।
ओएसआर रियालिटीमा प्रसारण हुने कमेडी च्याम्पियन पनि नामदेखि कार्यक्रम शैलीसम्म भारतीय रियालिटी शोबाट प्रभावित हो नै।
कमेडी च्याम्पियनकै उत्पादक हुन् सुमन। दले दाइको उपनामले चर्चित उनैलाई लिएर यो कम्पनिले डान्स च्याम्पियन लिटिल च्याम्पस् पनि ल्याउने घोषणा गरेको थियो। अहिले चैँ डान्स च्याम्पियन चलिरहेको छ जुन त्यति जम्न सकेको छैन।
कफी र कोइराला कार्यक्रमको पहिलो गेस्ट बनेर आए सजन श्रेष्ठ। रियाक्सन भिडियो र स्ट्यान्ड अप कमेडीबाट चिनिएका हुन् उनी।
युट्युबमा टक शो पनि चलाउँछन् उनी। सुमन र सजनबिच गेस्टमा आलोपालो झैँ देखिन्छ। उनी सजनको कार्यक्रममा पनि गएका थिए।
कार्यक्रम तीन भागमा बाँडिएको छ। दोस्रो भाग चैँ सिधा सवाल। त्यसमा गेस्टका फ्यानले प्रश्न सोध्न सक्छन्। सजनलाई भरतमणि पौडेलले पनि प्रश्न सोधेका थिए। पब्लिकमा गएर सजनलाई केही सोध्न पाए के सोध्नुहुन्छ भन्दा एक जनाले उत्तर दिन्छन्' केही पनि सोध्दिन।'
तेस्रो भागमा उहीँ करण शैलीमा एक प्रश्न दुई अप्सन यो कि त्यो पाराको र्यापिड फायर। पहिलो एपिसोड ठिकै हो। सुधार गर्नुपर्ने पक्ष टन्नै छन्।
एक क्षेत्रमा राम्रो हुँदैमा हरेक क्षेत्रमा अब्बल हुन सकिँदैन। सुमन स्ट्यान्ड अप कमेडीमा राम्रा कमेडियन हुन्। तर कार्यक्रम प्रस्तोताको रूपमा यही फरम्याटमा यो कार्यक्रम टिक्ने सम्भावना चैँ देखिन्न।
कार्यक्रम मि टिभी एचडीमा प्रसारण हुनेछ।
मंसिर २१, २०७८ मंगलबार ००:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।