देउवाका मतदाता हेलिकप्टरमा गएर भोट हाल्छन्, पौडेलका 'घरमा सुतेर' बस्छन्
काठमाडौँ : काँग्रेस बागमती प्रदेश निर्वाचनमा संस्थापन समूहका उम्मेदवार इन्द्र बानियाँलाई मतदान गर्न केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत हेलिकप्टर लिएर हेटौँडा पुगेका थिए। उनले हेलिकप्टर प्रयोग गरेको दिनको मतदानबाट निर्णय हुन सकेन। दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर समूहको पकड रहेको भनिएको बागमतीको प्रदेश अध्यक्ष भए उनै बानियाँ।
वडादेखि प्रदेशसम्मको निर्वाचनमा संस्थापन पक्षका नेताहरू निकै सक्रिय देखिन्छन् १४ औँ महाधिवेशनमा आफ्नो समूहका उम्मेदवार जिताउन। तर संस्थापन पक्षभन्दा बलियो रहेको दाबी गर्ने संस्थापन इतरका नेताहरू भने आफ्नो समूहका उम्मेदवारप्रति कस्तो हेलचेक्राई गर्छन् भन्ने देखियो प्रदेश १ को निर्वाचनमा।
प्रदेश १ को निर्वाचनमा संस्थापन इतरका तीन मतदाता शेखर कोइराला, सुजाता कोइराला अनि महेश आचार्य भोट हाल्नै गएनन्। शेखर केन्द्रीय सभापतिका दाबेदार अनि आचार्य उपसभापतिको। तीन मतदाताले मताधिकार प्रयोग गर्न अल्छी गर्दा उनीहरूकै पक्षका उम्मेदवार गुरुराज घिमिरे २ मतले पराजित भए। उनले पुन मतगणनाका लागि निवेदन त दिएका छन्। तर यी तीन नेताले अल्छी नगरी भोट हाल्न गएका भए अहिले प्रदेश १ मा संस्थापन इतरको नेतृत्व हुने थियो।
सभापतिका आकाङ्क्षी डा कोइरालाले सामाजिक सञ्जालमा लेखे :
'काँग्रेस १४औँ महाधिवेशनमा प्रदेश स्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषय सुरु देखि नै “संशय” थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यस क्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमा प्रार्थी छु । सभापतिका आंकाक्षी कोइरालाको आकांक्षमा एउटा धक्का हो ।
तर उनलाई आफ्नै पार्टीको विधानबारे जानकारी रहेनछ भन्ने देखियो।
काँग्रेसको विधानको परिच्छेद ४को धारा १३ (१) (ग) मा भनिएको छ' सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्र र केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशनका सदस्य।'
यो प्रावधान पढेको भए उनले सामाजिक सञ्जालमा यति लेख्ने थिएनन् होला।
देउवाकै पल्ला भारी
पहिलो पटक प्रादेशिक संरचनाको निर्वाचन गरिरहेको काँग्रेसको प्रदेश २ मा बाहेक बाँकी ६ वटै प्रदेशको निर्वाचन सकिएर परिणाम समेत आइसक्यो। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा बागमती, कर्णाली र सुदूरपश्चिममा संस्थापन पक्षको नेतृत्व आएको छ।
गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूहले नेतृत्व पायो। प्रदेश १ मा संस्थापन समूहसँग सहकार्य गरिरहेको कृष्णप्रसाद सिटौलाको उम्मेदवारले जिते। प्रदेशको निर्वाचनको परिणाम हेर्दा संस्थापन इतर समूहभन्दा संस्थापन समूह बलियो देखियो।
प्रदेश १ : २ मतको अन्तर
काँग्रेस प्रदेश १ मा तेस्रो धार मानिने सिटौला समूहका उद्धव थापा देउवा समूहको सहयोगमा निर्वाचित भए। थापाले संस्थापन इतर (पौडेल र शेखर कोइराला) समूहबाट मैदानमा उत्रिएका घिमिरेलाई दुई मतले हराए। थापाले ८४४ मत ल्याउँदा इतरका घिमिरेले ८४२ ल्याएका थिए। तर अहिले घिमिरे समूहले पुन गणनाको माग राखेको छ। घिमिरेको माग प्रदेश निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराएको छ।
बागमती प्रदेश : दोस्रो चरण निर्णायक
बागमती प्रदेश सभापतिमा पार्टी सभापति देउवा पक्षका इन्द्र बानियाँ निर्वाचित भए। बानियाँले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीलाई १५८ मतले पराजित गरे। बानियाँले १ हजार ८५ मत ल्याएर विजयी भए भने केसीले ९२७ मत प्राप्त गरे।
केसी पहिलो ५ सय मत गणना हुँदासम्म अग्रता लिए पनि १ हजार मत गणना गर्दा पछि परे। संस्थापन पक्षका बानियाँ र तेस्रो धार कृष्णप्रसाद सिटौला निकट भीमसेनदास प्रधानको समर्थनमा निर्वाचित भएका थिए। चुनाव अघि केसीले पहिलो चरणमा नै ५० प्रतिशत मत ल्याउने दाबी गरेका थिए। तर सकेनन्।
शनिवार भएको पहिलो चरणको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा प्रधानले समर्थन गरे। प्रधानको समर्थनमा बानियाँ प्रदेश सभापति बने। मकवानपुरका बानियाँ बागमती प्रदेशसभा काँग्रेस संसदीय दलका नेतासमेत हुन्।
सुदूरपश्चिम प्रदेश : फराकिलो जित
सुदूरपश्चिम प्रदेश संस्थापन (सभापति शेरबहादुर देउवा) समूहका वीरबहादुर बलायरले जित हात पारे । उनले संस्थापन इतरबाट प्रतिस्पर्धामा उठेका नारायणदत्त मिश्रलाई चार सय आठ मतले पछि पार्दै विजयी भए।
बलायरको पक्षमा ६८८ मत थियो भने मिश्रले २८० पाएका थिए। देउवा पक्षले क्लीन स्वीप गरेको यो प्रदेशमा उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने विजयी भएका छन्।
कर्णाली प्रदेश : बिमलेन्द्रको उपस्थिति मात्रै
कर्णाली प्रदेश सभापतिमा देउवा पक्षका ललितजंग शाही विजयी भएका छन्। उनले इतर (पौडेल समूह)का भूपेन्द्र जङ्ग शाहीलाई १०५ मतान्तरले पराजित गरेका हुन्। ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत प्राप्त गरे।
बिमलेन्द्र निधि पक्षका अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए। पदाधिकारीमा संस्थापन समूहकै वर्चस्व रह्यो। उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की, महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया, सह महामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही विजयी भए।
गण्डकी र लुम्बिनीमा भने संस्थापन इतर समूहको नेतृत्व आयो।
गण्डकी प्रदेश : साख जोगियो
गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भए। शनिवार सम्पन्न निर्वाचनको मत परिमाण आइतबार आएको थियो। शर्माले ६ सय १२ मत ल्याएर विजयी भए भने अर्जुनप्रसाद जोशीले ५ सय २८ मत मात्र ल्याए। शर्मा वरिष्ठ नेता पौडेल र शंशाक कोइरालाको समर्थनमा सभापति बनेका हुन। जोशी देउवा समूहका हुन्।
उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेको थियो। उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ, सह महामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भए ।
लुम्बिनी प्रदेश : जोड चलेन भरतको
लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर (पौडेल) समूहका अमर पुन विजयी भए। पुनले ८५२ मत ल्याउँदा उनका प्रतिद्वन्द्व भरत शाहले ७ सय ६७ मत पाए। पुन समूहका अधिकांश पदाधिकारी निर्वाचित भएका थिए।
मंसिर २०, २०७८ सोमबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।