राजीव कोइराला असन्तुष्ट हुँदा हारे गुरुराज
इटहरीः नेपाली कांग्रेस प्रदेश १को सभापतिमा गुरुराज घिमिरे पराजित भएपछि फरक/फरक विश्लेषण सुरु भएका छन्। संस्थापन पक्षका उम्मेदवार उद्धव थापासँग उनी २ मतले हारेका हुन्।
आफ्नै टीमका नेताहरूले भोट नदिएको कारण नै उनी पराजित भएका हुन्। ४ केन्द्रीय नेताहरू सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसी र डा. शेखर कोइरालाले भोट नदिएकै कारण घिमिरे पराजित भए।
त्यससँगै टीमका नेताहरूको व्यवस्थापकीय क्षमतामा पनि प्रश्न उठेको छ। प्रदेश सभापतिको उम्मेदवारको टुङ्गो लगाउन गरेको ढिलाइले असन्तुष्टि बढायो।
केन्द्रीय सभापतिको दावी गरिहेका डा. कोइरालाले भोट नहाल्नु गल्ती भएको स्वीकार गरेका छन्। कानूनी परामर्श गर्दा भोट नहाल्नु उपयुक्त हुने बुझेर मतदान नगरेको उनको तर्क छ।
उनैको पहलमा उम्मेदवार भएका घिमिरे कांग्रेस केन्द्रीय सदस्य भइसकेका नेता हुन्। प्रदेशमा जित्नसक्ने उम्मेदवार छनोट गर्दा कोइरालाले घिमिरेलाई नै जोडबल गरेका थिए।
लामो समयदेखि प्रदेश सभापतिको चर्चामा रहेका राजीव कोइरालाले पनि सभापतिको तयारी गरेका थिए। नेताहरूकै परामर्शमा तयारी गरेको बताएका उनले अन्तिम समयमा उम्मेदवार भएनन्।
उम्मेदवारको निर्णय ढिलो हुँदा उद्घाटन सत्रको कार्यक्रम रोकियो। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राजीवले पार्टी वडास्तरसम्म चिराचिरा परेकाले पार्टी एकता गराउन नसक्नेले ठाउँ छाड्न पनि आग्रह गरे।
उनको असन्तुष्टि सुनसरीका कार्यकर्तास्तरमा फैलियो। निकै प्रचार गरेका राजीवले टिकट नपाउँदा आक्रोशित भए। नेताहरूले सुरुमै हुँदैन भनेको भए आफू तयारीमा नलाग्ने तर अन्तिम समयमा निर्णय आउँदा समस्या भएको उनको भनाइ छ।
उनले टीमको पक्षमा खुलेर भोट मागेनन्। गुरुराजलाई समर्थन रहेको बताए पनि सक्रिय देखिएनन्।
उनको मौनता पनि घिमिरे पराजयमा अर्को कारण बन्यो। राजीवनिकट दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र इनरुवाका मेयर राजन मेहेताले सिटौला र विजयकुमार गच्छदारसँगको भेटघाट बढाए।
सोही दिनको भेटले घिमिरेको पराजयमा मलजल गर्योँ। राजीवले टिकट नपाएकोमा असन्तुष्ट देखिएका उनीहरूले आफ्नै हिसावमा निर्णय गर्ने छुट पाए। जसको फाइदा थापालाई पुग्यो।
घिमिरेको उम्मेदवारीसँगै टीममा असन्तुलन देखापर्यो । मोरङबाट धेरै उम्मेदवार नहुने भए पनि उर्लाबारीमा मेयर खड्ग फागो सिटौलाको टीममा लागे।
कोइराला टीमका प्रभावशाली नेताको रूपमा चिनिएका उनी सिटौलाकै आग्रहमा सहमहामन्त्रीको उम्मेदवार भए। सर्वाधिक मतसहित विजयी भएका फागोको व्यवस्थापन नहुनु पनि घिमिरेको पराजयको एक कारण हो।
यता सुनिल शर्माले कोइराला टीममा प्रभुत्व कायम गरेको भन्दै आफू अन्यत्रै लागेको उनको भनाइ छ। टीममा शर्माकै बोलबाला चल्न थालेपछि विकल्प खोजेको उनले सुनाए।
मोरङ क्षेत्र नम्बर ३बाट प्रतिनिधि सभामा पराजित शर्मा कोइराला टीमको हर्ताकर्ताको रूपमा उदाएका छन्। नोबेल मेडिकल कलेजका सञ्चालक उनले कांग्रेसभित्र प्रभुत्व कायम गर्ने कोसिस गरिरहेका छन्।
उनकै दबाबमा राजीवले टिकट नपाएको सुनसरीका नेता कार्यकर्ताको बुझाइ छ। १५० बढी मतान्तरले विजयी हुने दावी गरेको कोइराला समूहलाई घिमिरेको पराजयले झट्का दिएको छ।
झापामा विश्वप्रकाश शर्मा समूहले खुलेर सहयोग गर्ने आशा गरे पनि त्यसो हुनसकेन। मतदानकै समयमा ओखलढुङ्गा र इलामका महाधिवेशन प्रतिनिधिले घिमिरेप्रती आपत्ति जनाएका थिए।
आफूहरू घिमिरेलाई मतदान गर्न आएको भए पनि उनले असहयोग गरेको उनीहरूको तर्क थियो।
मंसिर २०, २०७८ सोमबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।