महानगरको टोलीले गर्‍यो 'अनाधिकृत पार्किङ'को अनुगमन 

महानगरको टोलीले गर्‍यो 'अनाधिकृत पार्किङ'को अनुगमन 

काठमाडौं महानगरपालिकाको टोलीले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) क्षेत्रमा भइरहेको पार्किङको अनुगमन गरेको छ। 

गत मङ्सिर ९ गते उकेराले वीर अस्पताल अगाडि नै जाम : एम्बुलेन्स समेत छिर्न नदिने गरी महानगरको अनुमतिमा पार्किङ शीर्षकमा समाचार प्रकाशन गरेको थियो। अस्पताल क्षेत्रमा भएको पार्किङ र त्यसले निम्त्याएको समस्याबारेको समाचारपछि महानगरको टोलीले सो क्षेत्रमा अनुगमन गरेको हो। 

आइतबार दिउँसो महानगरपालिकाको टीमले सर्जिकल भवन र आकस्मिक कक्ष अगाडि सडकमा भइरहेको पार्किङको अनुगमन गरेको हो। आइतबार साँझ करिब ४ बजे उकेराकर्मी अस्पताल क्षेत्रमा पुग्दा महानगरको टीम अनुगमनकै क्रममा थियो। 

महानगरपालिकाका नगर प्रहरी बल प्रमुख धनपति सापकोटाले भने, ‘वीर अस्पतालको डाइरेक्टर साब र हाम्रो टीमले सो क्षेत्रको भिजिट गरेको छ।’

अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेतले पनि महानगरपालिकाको टोलीसँग पार्किङ हटाउने विषयमा गृहकार्य भएको जानकारी दिए। 

उनले भने, ‘महानगरको टीम आउनु भएको थियो। उहाँहरूले धेरै होमवर्क गरेर जानु भएको छ।’ बस्नेतका अनुसार महानगरपालिकाको करिब १५ जनाको टीम अनुगमनमा पुगेको थियो।

अस्पताल क्षेत्रको सरसफाइदेखि पार्किङको व्यवस्थापनको सुरुआत भइसकेको सापकोटाको भनाइ छ। अस्पतालको दुई भवनबीचको बाटो हुँदै असन क्षेत्रमा प्रवेश गरेर सामान ओसारपसार गर्ने चारचक्के गाडीलाई बिहान ९ बजे र बेलुका ७ बजेपछि मात्रै ओहोरदोहोर गर्ने प्रावधान ल्याइसकेको उनले जानकारी दिए। 

सो प्रावधान मङ्सिर १५ गतेबाट नै लागू भएको उनले बताए। सापकोटाले भने, ‘त्यसमा अटेर गर्नेलाई ट्राफिकले चिट काटिरहेको छ।’ 

पार्किङ शुल्क लिएर पार्किङ भइरहेको अस्पतालको उत्तरपट्टिको भाग(सर्जिकल भवनतर्फको भाग)लाई पार्किङ सीमित गरिने उनको भनाइ छ।

नगर प्रहरी प्रमुख सापकोटाले सर्जिकल भवनतर्फको दुई लाइन पार्किङ भने राख्न दिने सुनेको बताए। ‘मेडिकल पसलहरू भएको जुन ठाउँ छ, त्यो लाइनमा पे-पार्किङ अलरेडी दिएको छ,’ उनले भने, ‘जे दिएको हो त्यसैमा लिमिट गर्ने। त्योभन्दा अरू थप गर्न नदिने। मैले दुई लाइन दिने भन्ने सुनेको छु। अहिले हेर्दा पनि दुई लाइन नै छ।’

अस्पतालको पुरानो भवनतर्फको आकस्मिक कक्ष प्रवेश गर्ने क्षेत्रको पार्किङ भने पूरै हटाइने सापकोटाको भनाइ छ। उनले भने, ‘रोडको उत्तरपट्टिको भागको पार्किङलाई पनि लिमिट गर्ने। दक्षिणपट्टिको सबै भाग खुला गर्ने।’

यता डा. बस्नेतले अनुगमन टोलीले अस्पतालको दुई भवन बीचमा दुई लाइन मोटरसाइकल पार्किङ भएकोमा एक लाइनमा झारिदिएको बताए। तर, अनुगमनपछि पनि दुई लाइन मोटरसाइकल राखेर पार्किङ शुल्क उठाइरहेको देखिन्थ्यो। 

यसको अर्थ सर्जिकल भवनतर्फको भागको पार्किङ महानगरले अझै हटाउने तत्परता देखाएको देखिँदैन। 

यस्तै चार पाङ्ग्रेको सवालमा अस्पताल प्रवेश गर्ने सडकको मुखमा पाँच वटासम्म ट्याक्सी बस्न दिइने तर पार्किङ गर्न नपाइने सापकोटाको भनाइ छ। 

डा. बस्नेत पनि अनुगमनका क्रममा चार पाङ्ग्रे गाडीलाई अस्पतालबीचको भवनको बाटोबाट भित्र छिराउन नदिनका लागि महानगरपालिकाले निर्देशन दिएको बताए।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले वीर अस्पताल क्षेत्र पार्किङ निषेधित भएकाले अनुगमन गरिएको जानकारी दिए। उनले भने, ‘वीर अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्र छ। पार्किङ गर्न पाइँदैन भनेको छ। त्यो ठाउँ पार्किङ गरियोकी भन्ने आशयमा अनुगमन गरेको हो।’

सर्जिकल भवन अगाडि पनि पार्किङ गर्न नपाइने डंगोल बताउँछन्। भने, ‘त्यहाँ पनि पार्किङ निषेध नै छ। त्यहाँ पार्किङ गर्न पाइँदैन। त्यो ठाउँमा नगर्ने नै भन्ने हो।’

तर यसअघि 'ह्वील्स ट्रयुली योर्स' कम्पनीका प्रबन्ध निर्देशक शैलेशराज कुँवरले महानगरपालिकासँग सम्झौता भएअनुसार नै वीर अस्पताल र सर्जिकल भवनको बीचको सडकमा पार्किङ वापतको शुल्क लिने गरिएको दावी गरेका थिए। 

तर, टेण्डर पर्दैमा अस्पताल क्षेत्रमा पार्किङवापतको शुल्क उठाउन नहुने महानगरका प्रवक्ता डंगोल बताउँछन्। उनले त्यहाँ पार्किङवापतको शुल्क उठाउनका लागि महानगरले अनुमति नै नदिएको पनि बताए। 

उनले भने, ‘त्यो ठाउँ(अस्पताल क्षेत्र) महानगरपालिकाले टेण्डर दिएकै छैन। त्यहाँ पार्किङ शुल्क उठाउन पाइँदैन।’

मंसिर २०, २०७८ सोमबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।