तोकिएकै समयमा रंगशाला निर्माण गर्न मुख्यमन्त्री शाहीको निर्देशन

तोकिएकै समयमा रंगशाला निर्माण गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेतः वीरेन्द्रनगरमा निर्माण हुने भनिएको रंगशालाको काम तोकिएको समयभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्देशन दिएका छन्। सोमबार रंगशालाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको गौरवको आयोजना भएको हुँदा ३० महिनाभित्र निर्माणको काम सक्न निर्देशन दिएका हुन्।

‘प्रदेशकै गौरवको आयोजना समयमै सम्पन्न गर्नुहोला नत्र यसले अर्थ राख्दैन,’ मुख्यमन्त्री शाहीले भने, ‘समयलाई उचित व्यवस्थापन गर्न नसक्दा यहाँका थुप्रै विकास निर्माणका काममा ढिलाइ भएका छन्। नेपाली समय हो भन्दैमा ढिलो गर्न पाइँदैन।’ 

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै आयोजना गर्नेगरी १० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न लागिएको हो। यसका लागि परिषद्ले १ अर्ब ५९ करोड रुपैयाँमा  ठेक्का सम्झौता गरेको छ।

मुख्यमन्त्री शाहीले शिलान्यास भएको भोलिपल्टैदेखि रंगशाला निर्माणस्थलमा निरन्तर काम सुचारु गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्यालय वा मन्त्रालयबाट प्रतिनिधि खटिइ प्रत्येक दिन रंगशाला निर्माणको अनुगमन गरिने चेतावनी पनि दिए।

प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने योजना अघि सारेको भन्दै खेलाडीको प्रोत्साहनका लागि कार्यविधि बनाउन कार्यक्रम स्थलबाटै सामाजिक विकास मन्त्रालयका सचिवलाई मुख्यमन्त्री शाहीले निर्देशन समेत दिएका छन्।

कर्णालीले पदक पाउन धेरै मेहनत र संघर्ष गर्नुपर्ने भएकोले अब हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार, खेलाडीको छनोट र व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ।

मंसिर २०, २०७८ सोमबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।