जुधेको जुध्यै अर्जुनकुमार र स्वस्तिमा

जुधेको जुध्यै अर्जुनकुमार र स्वस्तिमा

काठमाडौंः 'चपली हाइट ३'का निर्माता अर्जुनकुमार र यही फिल्मकी नायिका स्वस्तिमा खड्काबीच 'शीत युद्ध' चलिरहेको कुरा फिल्म वृत्तका लागि नौलो होइन। अर्जुनकुमारले त फिल्मका दुई हिरोइन सुपुष्पा भट्ट र स्वस्तिमा खड्कासँग आउने फिल्महरूमा झुक्किएर पनि काम नगर्ने बताउँदै आएका छन्।

अर्जुनकुमारका अनुसार स्वस्तिमाको 'नखरा' फिल्म छायांकनको पहिलो दिनबाटै सुरु भएको थियो। *

आइतबार भएको पत्रकार सम्मेलनमा पनि उनीहरूबीचको असन्तुष्टि छर्लङ्गै देखियो। उनीहरूको विचार काममा मात्रै हैन, फिल्म चलाउने विषयमा पनि बाझियो। अर्जुनकुमार साउथ फिल्म 'पुष्पा' आए आफ्नो फिल्म नचलाउने बताइरहेका छन् भने स्वस्तिमा फिल्म राम्रो भए अरूसँग डराउन नपर्ने बताइरहेकी छिन्।

स्वस्तिमाको तर्क छ- सुरुमा फिल्म चलाउन डराएर बलिउड फिल्म सूर्यवंशी कुरेर बस्ने अनि फिल्म लगाउने समयमा भने हिन्दी फिल्मको विरोध गर्ने प्रवृत्ति राम्रो होइन। अर्जुनकुमारको तर्क छ- चपली हाइट अल्लु अर्जुन, सलमान, शाहरुख, अमिरहरूको फिल्मसँग लड्न सक्दैन।

सुरुको शीत युद्धलाई 'पब्लिसिटी स्टन्ट' ठानेका सञ्चारकर्मीहरू भने विचारमा समेत बेमेल भएपछि यी दुईको सम्बन्धबारे चाख लिइरहेका छन्। दुई पक्षलाई लडाउन र लडेको हेर्न कस्लाई पो मज्जा नआउला र!

*सच्याइएको

मंसिर २०, २०७८ सोमबार १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।