लुम्बिनी प्रदेश सभापतिमा शाहको पराजय: गृहमन्त्रीले 'डबल क्रस' गरेको नेताहरूको शंका
बुटवलः रुपन्देहीमा जिल्ला अधिवेशन हुनुअघि नै संस्थापन पक्ष बालकृष्ण खाँण समूह र भरतकुमार शाह समूहमा विभाजित थियो। अधिवेशनका दौरान संस्थापन पक्ष विभाजित भएको कुरा सतहमै आयो।
गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना सहोदर भाइ रामकृष्ण खाँणलाई जिल्ला सभापतिमा अगाडि बढाएपछि शाह समूहले पनि आफ्नो तत्कालीन उपसभापति फणिन्द्र शर्मालाई जिल्ला सभापतिमा अघि सारेको थियो।
तर नेतृत्त्व निर्वाचनबाट चुनिएन। सर्वसम्मत भयो। रामकृष्ण खाँण सभापति बने। दुई पटक जिल्ला सचिव बनेका रामकृष्ण खाँण सभापति निर्वाचित हुनु दाईको कारण नभई उनकै राजनीतिक योगदानले भएको चर्चा उनीनिकटहरू गर्छन्।
तर शाह र पौडेल पक्षका नेताहरू भने खाँणले राजनीतिमा परिवारवाद लादेको आरोप लगाउँछन्।
यता भरत शाहकी श्रीमती अनिता शाह उपसभापति भइन्। खाँण र शाहको दूरी कम गराउन अनितालाई पदाधिकारीमा लगेको पनि 'गाइँगुइँ' चल्दै आएको छ।
वडा, पालिका हुँदै जिल्ला अधिवेशनसम्म पनि शाह खाँणका गतिविधिले खुशी थिएनन्। श्रीमती जिल्ला उपसभापति भए पनि भरत शाह केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने सोचमा थिए।
तर शक्तिशाली पद प्रदेश सभापति रहेकाले आफ्नो समूहबाट बलियो पात्र भन्दै गृहमन्त्री खाँण, नेता देवेन्द्रराज कँडेल लगायतका नेताले सभापतिमा भरत शाहलाई अघि सारे।
प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लाको नेतृत्त्व आउँदा संस्थापन इतर हावी भइरहेको थियो। यस्तोमा शाहले केही मत क्रस गरेर भए पनि सभापतिमा बाजी मार्ने आकलन पनि गरिएको थियो।
गृहमन्त्री खाँण समेत उनलाई जसरी पनि सभापतिमा निर्वाचित गराउनुपर्छ भन्दै लबिङ गरिरहेका थिए। प्रदेशभरबाट आएका प्रतिनिधिले खाँणको लबिङ वास्तै गरेनन्। खाँणले अघि सारेका पात्रलाई हराइदिए।
जनताबाट निर्वाचित पार्टीभित्र पराजित
रुपन्देही क्षेत्र नं.५ का प्रतिनिधि सभा सदस्य भरतकुमार शाह पार्टीभित्रको आन्तारिक निर्वाचनमा पराजित भए पनि उनी मतदातासामु लोकप्रिय मानिन्छन्।
४० वर्षअघि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शाह अहिले प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिका सभापति समेत हुन्।
०५६ सालको निर्वाचन, ०७० सालको दोस्रो संविधान सभा निर्वाचन र ०७४ सालको आम निर्वाचनमा विजयी भएका शाह पार्टीको आन्तरिक निर्वाचनमा भने पराजित भएका छन्।
उनको यो पराजयलाई कांग्रेस नेताहरूले ‘बालकृष्ण खाँणको पराजय’ समेत भनेका छन्।
कतिपयले त संस्थापन पक्षकै नेताको असहयोगका कारण शाह पराजित भएको टिप्पणी समेत गरेका छन्। नेपाली कांग्रेसका एक नेताले भने– ‘जिल्लाभित्र संस्थापन समूह छुट्टै बनाएर शाह शक्तिशाली बन्दै थिए। यस्तोमा खाँण पक्षकै नेताहरू उनको व्यवहारप्रति खुशी थिएनन्। त्यसैले उनलाई शक्तिशाली हुनबाट पार्टीभित्रबाटै असहयोग भएको हुन सक्छ।’
मंसिर २०, २०७८ सोमबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।