वीर अस्पतालमा मिति नाघेका ‘एक्स-रे फिल्म’ र सुई प्रयोगमा रोक

वीर अस्पतालमा मिति नाघेका ‘एक्स-रे फिल्म’ र सुई प्रयोगमा रोक

काठमाडौं : कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) ले मिति नाघेका (डेट एक्स्पायर) ‘एक्स-रे फिल्म’ र सिटी स्क्यान गर्दा प्रयोग हुने सुई (सिरिन्ज) प्रयोगमा रोक लगाएको छ। 

युनिफाइड केन्द्रीय अस्पतालका निमित्त कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले मिति नाघेका एक्स-रे फिल्म र सिटी स्क्यान गर्दा प्रयोग हुने सुई प्रयोग गर्न बन्द गरिएको जानकारी दिए। उनले उकेरासँग भने, ‘डेट एक्स्पायर एक्स-रे फिल्म र सिरिन्ज प्रयोग बन्द गरेका छौं। अब प्रयोग गर्दैनौं।’

उकेराले करिब एक महिनाको खोजपछि अस्पतालमा मिति नाघेका एक्स-रे फिल्म र सिटी स्क्यान गर्दा प्रयोग हुने सुई  प्रयोग भइरहेको प्रमाणसहित शुक्रबार समाचार सम्प्रेषण गरेको थियो। 

समाचार सम्प्रेषण भएपछि मिति नाघेका स्वास्थ्य सामग्री प्रयोग भइरहेकोबारे वीर अस्पतालमा मात्र हैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत खैलाबैला मच्चिएको थियो। 

समाचार सम्प्रेषण भएपछि स्वास्थ्य मन्त्रालयले मिति नाघेका एक्स-रे फिल्म र सुई प्रयोग नगर्न डा. बस्नेतलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले अस्पतालमा  मिति नाघेका एक्स-रे फिल्म र सुई प्रयोग नगर्न डा. बस्नेतलाई निर्देशन दिएको जानकारी दिए। उनले दोहोर्याएर यस्ता हर्कत नगर्न पनि निर्देशन दिएको बताए।

विज्ञ सल्लाहकार डा. ढकालले मिति नाघेका सिरिन्ज प्रयोग गर्नु जघन्य अपराध भएको बताए। ‘सिरिन्ज (मिति नाघेको) उनीहरुले युज गरे, त्यसो गर्नै हुँदैन,’ उनले भने, ‘त्यो जघन्य अपराध हो। स्वदेश वा विदेश जहाँसुकै भए पनि प्रयोग गर्नै मिल्दैन।’ 

डा. बस्नेतसँग मिति नाघेका एक्स-रे फिल्म किन प्रयोग गरिएको हो? भन्ने प्रश्नमा अस्पतालको खर्च बचाइदिन प्रयोग गरिएको भन्ने जवाफ पाएको डा. ढकालले बताए। उनले भने, ‘मैले सोध्दा जिम्मेवारीबाट पन्छिएर उनीहरुले (बस्नेतले) राज्यकै बचाइदिन खोजेको जस्तो कुरा गरे। त्यो उनीहरुको दायित्वभित्र पर्दैन।’

तर, मिति नाघेका ती एक्स-रे फिल्ममा राम्रै ‘पिक्चर’ आइरहेकोले प्रयोग गरिएको डा. बस्नेतको भनाइ छ। उनले भने, ‘खिएर जाने कुरालाई सदुपयोग गर्नु भनेको त अस्पतालको सम्पत्तिको वचत नै हो नि।’

एक्स-रे फिल्म दुई वर्ष पहिले टेन्डर गरेर किनेको तर कोभिड-१९ को समयमा धेरै खपत नभएको आफूले थाहा पाएको डा. बस्नेत बताउँछन्। वीर अस्पतालका तत्कालीन निर्देशक डा. केदार सेन्चुरीका पालामा ती एक्स-रे फिल्म खरिद भएको उनले जानकारी दिए। डा. बस्नेतले भने, ‘दुई वर्ष पहिले डा. सेन्चुरी हुँदा खरिद भएको रहेछ।’

मिति नाघेका एक्स-रे फिल्म किन चलाउनुभएको? भनेर डा. बस्नेतसँग जिज्ञासा राख्दा उनले स्टक भएकाले चलाएको बताएको विज्ञ सल्लाहकार डा. ढकालले जानकारी दिए। तर पैसा तिरेर किनेका फिल्म सप्लायर्सलाई फर्काउनुपर्ने उनको भनाइ छ। 

डा. ढकालले मिति नाघेका एक्स-रे फिल्म पनि प्रयोग गर्न नहुने बताए। उनले भने, 'क्वालिटी कम्प्रमाइज हुन्छ। बिरामीलाई त हानि हुँदैन। तर एक्स-रे फिल्म राम्रो देखिँदैन।’ 

कुराकानीको क्रममा डा. बस्नेतले मिति नाघेको एक्स-रे फिल्म र सुई प्रयोग गर्न रोक्ने वचन दिएको विज्ञ सल्लाहकार डा. ढकालले जानकारी दिए। डा. बस्नेतसँग भएको कुराकानी विज्ञ सल्लाहकार ढकालले सुनाए, ‘भुपेन्द्र डाक्टरसाबलाई दाइ यस्तो न्युज आएको छ के हो? भनेर सोध्दा त्यतिबेला त थिइनँ म। प्रयोग गर्न रोक्छु भन्नुभयो उहाँले।’ 

सुरुमा रिपोर्ट राम्रै आएकाले चलाइएको बताए पनि डा. बस्नेतले आइतबार बेलुका उकेरासँगको कुराकानीमा पनि मिति नाघेका एक्स-रे फिल्म प्रयोग गर्न रोकिने जानकारी दिएका छन्। उनले करिब दुई हजार मिति नाघेका ‘एक्स-रे फिल्म’ बाँकी रहेको समेत जानकारी दिए।

डा. बस्नेतले मिति सकिएका सुई भए पनि चलाएकोबारे थाहा नभएको बताएका थिए। तर आइतबार बेलुका भने उनले मिति सकिएका सुई पनि प्रयोगमा रोक लगाइएको जानकारी दिए। उनले भने, ‘मिति नाघेका सिरिन्ज चलाएका छैनौं। र, चलाउँदैनौं पनि।’

यस सम्बन्धमा उकेराले प्रकाशित गरेको अन्य सामग्री

मंसिर २०, २०७८ सोमबार १४:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।