आफ्नै प्यानलका यी तीन नेताले भोट नहाल्दा हारे गुरु घिमिरे

आफ्नै प्यानलका यी तीन नेताले भोट नहाल्दा हारे गुरु घिमिरे

इटहरी : आफैंलाई उम्मेदवार बनाउने तीन जना केन्द्रीय नेताले भोट नहाल्दा नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा गुरुराज घिमिरे पराजित भएका छन्।

क‌ांग्रेसका तीन जना नेता डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य भोट हाल्न नगएपछि घिमिरे २ मतले पराजित भएका हुन्।

संस्थापन (देउवा-सिटौला) प्यानलका उद्धव थापासँग पराजित भएका घिमरेले पुनः मतगणनाको लागि निवेदन दिएका छन्।

अर्का केन्द्रीय नेता एवं रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले भने क्षेत्र नम्बर १ को सभापतिका लागि मतदान गरेका थिए।

नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्। उनीहरुले नगरदेखि केन्द्रसम्म नै भोट हाल्ने अधिकार पाउँछन्।

यसैबीच सुनसरी जिल्ला सचिवमा पनि संस्थापन (देउवा) प्यानका रन्जेश भट्टराई १ मतले पराजित भए। सुनसरीमै रहेका ३ केन्द्रीय सदस्यले उनलाई भोट दिएनन्।

संस्थापन पक्षका प्रभावशाली नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा र विजयकुमार गच्छदार भोट दिन गएनन्। घरैमा कार्यकर्तालाई बोलाएर निर्देशन दिएका उनीहरुले मतदान नगर्दा टिममा उम्मेदवार पराजित भए। इतर प्यानका माधव घिसिङ सचिवमा विजयी भए। 

मतगणनामा धाँधली भएको भन्दै संस्थापन पक्षले पुनः मतगणना माग गरेको छ। तथापि भट्टराईले निर्वाचन समितिमा हस्ताक्षर गरिसकेका कारण पुनः मतगणना हुने सम्भावना देखिएको छैन। त्यही विवादलाई लिएर सुनसरी जिल्ला सदस्यको मतगणना रोकिएको छ।

मंसिर २०, २०७८ सोमबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।