रानीघाट पुल निर्माणमा ठेकेदारको लापरबाही, निर्माण थालेको ९ वर्षमा ३ वटा पिल्लर मात्रै बने
सुर्खेत : कर्णाली प्रदेश र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा छोटो दुरीको तेलपानी-भुरीगाउँ सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर-२ रानीघाटस्थित भेरी नदीको पुल नौ वर्षदेखि अलपत्र परेको छ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण तीन वर्षमा सक्नुपर्ने पुल नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन। २०६९ साल असार २९ गते निर्माणको ठेक्का लिएको पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले अहिलेसम्म तीन वटा पिल्लर मात्र ठड्याएको छ।
सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दुरीको ५२ किलोमिटर सडकमा उक्त पुल अलपत्र हुँदा सडकको अवस्था पनि उस्तै छ।
कन्ट्रक्सनले पुल निर्माणका लागि १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो। जसअनुसार पुलको काम २०७२ असार मसान्तमा सक्नु पर्ने थियो। तर, तीन वटा पिल्लर मात्रै ठड्याएर पुल अलपत्र अवस्थामा छ। वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाको सिमानामा पर्ने उक्त पुल नबन्दा यहाँका स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ। उक्त पुलको लम्बाई एक सय २० मिटर रहेको छ।
वीरेन्द्रनगरदेखि तेलपानी, सुँगुरखाल, श्रीचौर, हरिहरपुर, रानीघाट, हर्रे, लेखगाउँको नर्सिङ्गकाँडा लगायतका बस्ती पुग्न निकै समस्या हुने गरेको छ।
पुल नबन्दा दैनिक कामकाजमा समस्यासँगै सुर्खेतदेखि बर्दिया जोड्ने सडकको काम पनि अलपत्र परेको बराहताल—३ का रतन कामीले गुनासो गरे।
‘पुल बनाउन थालेको पनि नौ वर्ष भयो। हामीलाई राजधानी वीरेन्द्रनगर आउन डुङ्गाकै भर पर्नुपर्छ। झोलुङ्गे पुलबाट आउन दुई घण्टाको बाटो हिँड्नुपर्छ,’उनले भने,‘दैनिक उपभोग्य सामग्री ल्याउनेदेखि दुःखी बिरामी हुँदा पनि वीरेन्द्रनगर नै जानुपर्छ।’
पुल बनेपछि यहाँका फलफूल, तरकारी, पशुपक्षी र अन्न उत्पादन कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसम्म पुर्याउन सकिने उनको भनाई छ।
पुल नबन्दा यहाँका उत्पादन बजारसम्म पुग्न नपाएको अर्का स्थानीय कमलराज खत्रीले बताए।
‘अहिले पनि बारीभरि तरकारी कुहिएका छन्। बोकेर वीरेन्द्रनगर पनि कसरी लैजानु। आफै त डुङ्गामा जान समस्या पर्छ,’उनले भने,‘पुल बनेपछि सडकको पनि स्तर उन्नति हुन्छ। यहाँका उत्पादन तीन वटा प्रदेशमा पठाउन सकिन्छ। अनि हामीलाई यसरी खोलाको बालुवा चाल्नुपर्दैन।’
पुल बनेपछि सुर्खेतदेखि लुम्बिनी प्रदेशको बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जान पनि नजिक पर्छ।
गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले बदनामित बनेको पप्पु कन्स्ट्रक्सनले सडक विभाग अन्तर्गतको पुल महाशाखासँग ठेक्का सम्झौता गरेको थियो।
सर्पको टोकाइबाट, घाँस, दाउरा काट्दा लडेर, सुत्केरी हुन नसकेर त्यस क्षेत्रका नागरिकको बर्सेनि ज्यान जाने गरेको छ। पुल नहुँदा एम्बुलेन्स पनि सञ्चालन हुन सकेको छैन। गाउँमा भरपर्दो स्वास्थ्य उपचारसमेत हुँदैन।
‘उपचार नपाएरै यहाँ मान्छेले अकालमा ज्यान गुमाउनुपर्छ,’ स्थानीय खत्रीले भने, ‘गाडी नचल्दा बोकेरै वीरेन्द्रनगर पुर्याउनुपर्ने बाध्यता छ। पुल निर्माणमा सरकारी र निर्माण कम्पनी दुवै पक्षको कमजोरी छ।’
निर्माण कम्पनीका सम्पर्क व्यक्ति दैलेखका कर्णबहादुर मल्लले नदीको बिचमा निर्माण हुने पुलको पिलर बस्ने जगमा चट्टान भएकोले डिजाइन नै बदल्नु पर्ने अवस्था आउँदा ढिला भएको बताए।
‘पुलको बिचको पिलर बस्ने ठाउँमा कडा चट्टान देखिएपछि डिजाइन नै बदल्नुपर्ने भयो। विभिन्न प्राविधिक कारणले सम्झौताभन्दा ढिला भएको हो,’मल्ले भने,‘पुरानो डिजाइनमा काम गर्न नसकिने भनेर नयाँ डिजाइन सडक डिभिजन कार्यालय सुर्खेतलाई बुझाएका छौँ। अबको केही महिनामा नै काम सुरु गर्छौ।’
मंसिर २०, २०७८ सोमबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।