भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?
सुगम संगीतको स्वर्णिम युग। नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, शान्ति ठटाल, फत्तेमान राजभण्डारी, नातीकाजी, गोपाल योञ्जन, बच्चु कैलाश, प्रेमध्वज प्रधान अनि भक्तराज आचार्यको आवाजको युग।
त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।
अहिलेका पुस्ताले सुनिरहेका कालजयी गीत त्यही समयको सिर्जना त हुन्। सेतो पाटो मात्र भए जीवन कति रमाइलो हुन्थ्यो होला। तर उज्यालोसँगै अध्यारो पनि जीवनको अभिन्न पाटो नै हो। त्यही समयमा नेपाली सांगीतिक क्षेत्रमा कालो पक्ष हामी भयो। भजन शिरोमणि भक्तराज आचार्य जस्ता गवैयाको आवाज गुम्यो।
आवाज हराउनु गायकको लागि कति पीडादायी क्षण हो सहजै अनुमान गर्न सकिन्छ।
गाउन नै जन्मेका आचार्यको २०४६ मंसिर १९ गते आवाजै खोसियो। स्रोताका लागि मात्रै हैन, नेपाली संगीत क्षेत्रकै लागि त्यो दुर्भाग्यको दिन थियो।
त्यसको ठिक वर्ष दिनपछि २०४७ मंसिर १९ मा स्वरसम्राट नारायणगोपालको निधन भयो। त्यही कारण संगीत पारखीहरु मसिर १९ लाई संगीत क्षेत्रको कालो रात पनि भन्छन्।
बौद्मा सांघातिक हमलामा पर्दा भक्तराजको टाउकामा झन्डै सयभन्दा बढी टाँका लगाउनुपर्योा। संगीत मात्रै गुन्जिने उनको घरको माहोल अर्कै भयो। संगीतको गुञ्जन सुनिने कोठामा सन्नाटा छायो। ७ महिनासम्म टाउकोको अप्रेसन गरेर हस्पिटलै बसे उनी।
उनको गायन यात्रामा विराम लाग्यो। घरको मुली नै ढलेपछि परिवार नै लथालिङ्ग र भाताभुङ्ग भयो। दुई छोरा सत्य-स्वरुप सानै थिए।
उनीहरुमा यो घटनाले नकारात्मक असर पर्योछ। कमाएर ल्याउने व्यक्ति नै ओच्छ्यान परेपछि उनीहरुको जीवनमा धेरै अप्ठ्यारा पलहरु आए।
बोर्डिङ पढिरहेका सत्य-स्वरुप सरकारी स्कुलमा पढ्न पुगे। हास-खेल गायब भयो। स्वरुपका अनुसार त्यति बेला उनीहरु टोलाइमात्र रहने, एन्जाइटी जस्तै रातभरि निद्रा नलाग्ने भएका थिए।
त्यसमा पनि २०५० सालमा दिल्लीमा अप्रेसन गरेर भक्तराजको जिब्रो काटिएपछि उनीहरुको घरमा हार्मोनियम, तानपुरा मात्रै होइन, गीत नै बजाउन रोकियो। संगीतको झंकारवाट सन्नाटामा पुग्यो, आचार्य परिवार।
भक्तराजको त्यो अवस्थामा सबैभन्दा बढी प्रभावित भइन् उनकी श्रीमती। श्रीमानको त्यो अवस्था। सबै हेर्नुपर्ने, अस्पतालदेखि स्याहारसुसारसम्म। अनि दुई छोराको पढाइ, पालनपोषणसम्मको जिम्मेवारी।
नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन
घर चलाउन उनले राष्ट्रिय कम्प्युटर केन्द्रमा काम सुरु गरिन्। स्वरुप आफ्नी आमाको दु:ख शब्दमा बयान गर्नै सक्दैनन्।
'खर्च धान्न कमाउनेदेखि बुबाको हेरचाह, हामीलाई सही मार्गमा ल्याउन उहाँ सधैं सक्रिय हुनुभयो। गाउने मान्छे गाउन, बोल्न नसक्दाको पीडाले गर्दा बुबाले कयौं पटक आत्महत्याको प्रयास पनि गर्नुभयो। त्यतिबेला ममीले नै बुबालाई सम्हाल्नुभयो,' उनले ती पीडादायी क्षण सम्झिए।
सत्य-स्वरुपलाई गायन क्षेत्रमा ल्याउन पनि आमाकै प्रयास रहेछ। उनैले दाजुभाइलाई अब बुबाको विरासत सम्हाल्नुपर्छ, उहाँको अतृप्त यात्रालाई अगाडि बढाउनुपर्छ भनेर प्रोत्साहित गरेकी थिइन्। आमाको चाहना अनुसार दाजुभाइ पनि दत्तचित्त भएर लागे संगीतमा।
त्यो घटनाले राम्रो गायक भक्तराजको जीवन मात्र बर्बाद भएन। उनको जीवनसाथीको जीवनको लय पनि बिग्रियो।
'अहिले उहाँ ७६ वर्षको हुनुभयो। तै पनि एकनासले श्रीमानको स्याहार गरिरहनुभएको छ। अहिले उहाँलाई पनि खासै सन्चो छैन, कोभिडको समयमा आफ्ना धेरै चिनजानका व्यक्तिहरु बितेपछि उहाँले आफूलाई सम्हाल्न सक्नुभएको छैन। अहिले उहाँलाई इन्सोमिया (रातभरि निद्रा नलाग्ने) समस्या देखिएको छ। उहाँको उपचार भइरहेको छ,' स्वरुपले आमाको अवस्थाबारे बताए।
सजिलो थिएन संगीत यात्रा
सत्य-स्वरुपमा संगीतको टेस बसिसकेको थियो। तर घरमा अभ्यास गर्ने माहोल समेत थिएन। संगीतले भक्तराजलाई नकारात्मक असर पर्ने भय थियो उनीहरुमा। आर्थिक अवस्था पनि बलियो भइसकेको थिएन।
उनीहरुले गायन यात्रा कोरस गायनबाट सुरु गरेका थिए। त्यतिबेला कोरस गाउँदा ३ सय पाइन्थ्यो। गीत गाउन पाए हुन्थ्यो भनेर संगीतकारहरुको दैलो चहार्थे दुवै। उनीहरुसँग बुबाको साधनाको असर राम्रो परेको छ। अनि राम्रो संगीत सुन्दै आएकोले सुर र तालको अब्बल ज्ञान। विस्तारै उनीहरुको गीतहरु रेकर्ड हुन थाले।
आफूहरुले गीत गाउन थालेको भक्तराजलाई धेरैपछि मात्र सुनाएका थिए।
'हामीले गीत गाउन थालेको थाहा पाएपछि उहाँ खुसी त हुनुभयो होला। तर तिमीहरुको सुरै छैन, रियाजै पुगेन भन्नुभयो। बुबाको मन जित्न धेरै गाह्रो छ,' उनले भने, 'अहिलेसम्म राम्रो गायो भन्नुभएको छैन। बुबाको पुस्ता गवैया हो, उहाँहरु गाउन मात्रै ध्यान दिने। कसले चिन्छ, कति पैसा आउँछ केही मतलब छैन। हामी भने गायक पनि हौं।'
भक्तराजमाथि भएको घटनाको समयमा सत्यराज र स्वरुपराज बच्चै थिए। सत्य १३ वर्षका अनि स्वरुप ११ वर्षका। त्यो घटना घट्नुअघि भक्तराजको घरको माहोल संगीतमय मात्रै थियो।
उनीहरुले थाहा पाएदेखि नै घरमा संगीतकर्मीहरुको आवातजावत भइरहन्थ्यो। वरिष्ठ संगीतकार, गीतकारहरु आफ्ना गीतहरु लिएर आइरहन्थे। बिहान सबेरैदेखि भक्तराजले संगीत कक्षाहरु लिने। तानपुरा, हार्मोनियम सिकाइरहने। विध्यार्थी नभएको बेला आफैं रियाज गरिरहने।
'मलाई अहिले पनि रियाजमा सुनिरहेको गजल, क्लासिकल बन्दिसहरु याद आउँछ। बिहान- बेलुका नै रियाज गरिरहने भएकाले भएकाले हामी दुवैजनालाई त्यसको राम्रो प्रभाव पर्योै,' स्वरुपले भने।
भक्तराज रेडियोमा जागिरको साथ स्कुलमा पढाउँथे पनि। संगीत बाहेक उनले अन्य विषय पनि पढाउँथे। भक्तराजका सीमित साथीहरु मात्रै थिए। तीमध्ये उनलाई मनपर्ने गायक थिए नारायणगोपाल।
'उहाँले नारायणगोपाल अंकलको कुरा गरिरहनुहुन्थ्यो। धेरै जोक गर्नुपर्ने, स्वाभिमानी, गलतलाई गलत भन्न सक्ने। कति गायकहरुलाई तिमी बेसुरा छौ भनिदिने। कति त रिसाएर पनि जान्थे,' उनले भने।
सत्य-स्वरुपले संगीत सिक्नुपर्छ भन्ने सोच्दासोच्दै त्यो कालो रात आयो। त्यसअघि क्लासहरु लिने बेला उनीहरु सानै थिए, उहाँसँग सिक्न आउनेहरु स्थापित गायक-गायिकाहरु नै हुन्थे। अa सिक्ने बेला भयो भन्दै गर्दा आवाजै गुम्यो।
प्रत्यक्ष सिक्न नपाए पनि बुबाकै हरेक गीतलाई दाजुभाइ प्रेरणा मान्छन्। स्वरुप भन्छन्, 'बुबाको हरेक गीत उस्तादले बनाएको बन्दिसभन्दा कम छैन। राग, तान, अलाप हरेक चिज छ। उहाँको हरेक गीत हाम्रो युनिभर्ससिटी हो। त्यो सुनेर हामीले सिक्न पाएका छौं। उहाँका सिर्जना हाम्रो लागि संगीतको कोर्ष बुक नै हो।'
सत्य-स्वरुप अहिले पनि रियाज गर्दा बुबाकै गीत गाएर गर्छन्।
यदि भक्तराज आचार्यको त्यो दिन घटना नघटेको भए नेपाली संगीत कस्तो अवस्थामा हुन्थ्यो होला? स्वरुप भन्छन्, 'यो संगीत नै कहाँ पुग्थ्यो पुग्थ्यो नि। सुर र तालका पक्का, शब्द छनोटमा अब्बल गीतहरु अहिलेको समयमा हुन्थ्यो होला। सस्तो वाहवाही गीतहरु आउँदैनथे होला। बेथितिको संगीत हुँदैनथ्यो होला। राम्रो गीत सुन्ने बानी पनि पर्थ्यो। बुबाले गाइरहनुभएको भए त्यो स्वर्णिम युग त्यति छिटो सकिंदैनथ्यो होला।'
अहिले भक्तराज बोल्न त खोज्छन् तर बुझिँदैन। सत्य-स्वरुपलाई भने त्यो बोली बानी भइसक्यो। त्यही भएर उनको भाव र उच्चारण गरिने शैलीबाटै बुझ्छन् उनीहरु। उनीहरु आफ्नो एल्बमका गीतहरु सुनाउन जाँदा करेक्सन गरीदिने, यो भएन भन्ने, धेरै कुरा सिक्ने मौका पाएका छन्।
'उहाँले हामीलाई सधैं भन्ने कुरा नै शब्दको उच्चारण, शब्दको रस, भन्न खोजिएको कुरा बुझ्नुपर्छ। ५ मिनेटको गीत शुद्ध गाउनुपर्छ भन्नुहुन्छ। उहाँको थेगो नै हो, सुरलाई सुर भन्नुपर्छ, बेसुरालाई बेसुरा। झुठो तारिफ गर्नु हुँदैन,' उनले भने।
भक्तराजका लागि गीत गाउनु भनेको जीवन गाउनु हो। गीत भनेको साहित्यमा दीर्घकालीन डकुमेन्ट्रीमा रहने हुँदा गायन, बादन गलत गाउनु र बजाउनु हुन्न भन्नेमा उनका छोराहरु पनि सचेत देखिन्छन्।
भक्तराजको स्वरको जादु भारत र पाकिस्तानी गायक-गायिकामा पनि थियो। नेपालमा गुलाम अलीको कार्यक्रममा भक्तराजले गीत गाउँदा उनी जुरुक्क उठेर 'नेपालमा पनि तपाईं जस्तो गवैया रहेछ' भनेर स्टेजमा अँगालो मारेका थिए।
साई भजनका चर्चित गायक रविराज नासेरी नेपाल आउँदा घरमै आएर खुट्टा ढोगेर गएका थिए। उता भारतमा भजन गाउँदा भक्तराजका भजनहरु पनि गाउने रहेछ। अहिले पनि भारत र पाकिस्तानका राम्रा गायकहरुले भक्तराजलाई रुचाइरहँदा नेपाल सरकारले भक्तराज र उनका परिवारलाई भने सम्झिएको छैन।
३० वर्षदेखि भक्तराजले झोल पदार्थ मात्रै खाएका छन्। त्यो पनि एक जनाको साहारामा सुताएर खुवाउनुपर्छ। खाना र गानाका सोखिन भजनशिरोमणि न खाना खान सक्छन्, न गाउन सक्छन्। उनको मनको पीडाको के हिसाब! त्यही भएर कहिलेकाहीँ दिक्क भएर उनले छोरा अनि श्रीमतीको अगाडि भनिरहन्छन् रे, 'जिउँदो लाश कस्तो हुन्छ हेर्ने भए मलाई हेर।'
भक्तराजलाई आक्रमण गर्ने को थिए? किन भयो उनीमाथि त्यस्तो आक्रमण ? अनेक कोणबाट त्यो घटनाबारे विश्लेषण भए तर कहिल्यै खुलेन रहस्यको पर्दा। एउटा गवैयाको को दुश्मन थिए, जसले ज्यानै लिन खोजेका थिए या त्यो दिन जे भयो त्यो केवल एक दुर्घटना मात्र थियो? अहँ, खुलेन अझैसम्म।
दरबार हत्याकाण्ड अनि दासढुंगा जस्तै रहस्यमयको पर्दाभित्रै छ, अझै त्यो घटना। तर सामान्य थिएन त्यो घटना जसले नेपाली संगीतको स्वर्णिम युगका एक पात्रको स्वरै छिन्यो। नेपाली संगीत इतिहासकै उज्वल नक्षत्रको स्वर बिलायो पानीको फोकाझैँ।
नेपाली संगीत क्षेत्रले त्यो घटना बिर्सिए। सरकारले बिर्सिएको त उहिल्यै हो। तर भक्तराजको परिवारले अझै बिर्सन सकेको छैन त्यो दिन।
भक्तराज परिवारका अनुसार उनले सधैं नाम लिइरहने पूर्ण नेपाली कहिल्यै भेट्न आएनन्।
'के भएको भगवानलाई मात्रै थाहा छ, जसले गरेको हो, उसलाई छाती त पक्कै पोल्छ होला,' स्वरुप त्यो घटना सम्झँदै भन्छन्, 'यदि उहाँ ( पूर्ण नेपाली)ले बोलिदिएको भए केही कुरा त थाहा हुन्थ्यो होला। के भएको, कसले गरेको थाहा भएको भए पनि यति धेरै पीडा हुने थिएन।'
मंसिर १९, २०७८ आइतबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।