कुन्तीलाई रेखाको प्रस्ताव: फिल्म खेल्ने रहर भए आए हुन्छ, आन्टीको रोल दिउँला

कुन्तीलाई रेखाको प्रस्ताव: फिल्म खेल्ने रहर भए आए हुन्छ, आन्टीको रोल दिउँला

काठमाडौँ : अभिनेत्रीबाट अब राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री बन्न चुनावी मैदानमा उत्रिएको रेखा थापाले आफ्नी प्रतिस्पर्धी कुन्ती शाहीलाई अभिनयको प्रस्ताव गरेकी छिन्।

कुन्तीले शनिवार महामन्त्रीमा मनोनयनपछि राजनीति भनेको फिल्म खेलेजस्तो सजिलो नभएको र रेखालाई राजनीति नै थाहा नभएको भन्दै घोचपेच गरेकी थिइन। आइतबार प्रतिउत्तरमा रेखाले कुन्तीलाई फिल्म खेल्न नेतालाई रिझाएर नेतृ बने झैँ सजिलो नभएको भन्दै उनलाई अभिनयको प्रस्तावै गरिन्।

अभिनय गर्न कतिको सजिलो छ भन्ने अनुभव गर्न भन्दै उनले कुन्तीलाई भनिन्' म वैशाखमा फिल्म बनाउँदै छु। अब उहाँलाई हिरोइनको रोल दिन त सक्दिन। आमा या आन्टीको रोल गर्ने भए आए हुन्छ।'

उनले कुन्तीले राजनीति गरेर मतदाता रिझाएर नेतृ भएको नभई नेता रिझाएर नेतृ बनेको भन्दै आलोचना गरिन्।

'एकै महिलाले हरेक ठाउँ ओगट्ने र कार्यकर्ता खटिनुपर्ने परम्परा अन्त्यका लागि मेरो उम्मेदवारी हो। नेताको छेउमा उभिएर नेतृ बन्न पाइँदैन अब,' उनले भनिन्।

कुन्ती नेता रिझाएरै २ पटक सांसद र मन्त्री बनेको भन्दै रेखाले भनिन्'  अब पार्टीमा भएको प्रियतमवाद र प्रियशीवादको अन्त्य हुनुपर्छ।'

उनले आफू २० वर्षदेखि महिला सशक्तीकरण, महिला हिंसा विरुद्ध अनि छाउपडी प्रथा विरुद्ध अभियान चलाइरहेको भन्दै उनले त्यो बेलामा कुन्ती नेता रिझाउन व्यस्त रहेको बताउँदै राजनीति नसिकाउन सुझाव दिइन्।

'उनको चरित्र एक जना नेतालाई रिझाएर पद लिने देखियो। म किस्तीमा राखेको पद लिने हैन,' उनले भनिन्।

कमल थापा मानसिक रूपमा हारिसके

उनले अध्यक्षका प्रत्याशी कमल थापा मानसिक रूपमा पराजित भइसकेको बताउँदै भनिन्' कमल थापा त मेरो पनि अध्यक्ष हो नि। तर उहाँ आफ्नो प्रतिस्पर्धीलाई नसकेर मलाई काउन्टर दिइरहनु भएको छ। राजेन्द्र लिङदेनसँग सक्नु भएन। उहाँ पराजित भइसक्नु भयो।'

उनले राप्रपालाई व्यक्तिगत र पारिवारिक पार्टी नबनाउने हो भने लिङदेनको पक्षमा मत दिनुपर्ने भन्दै कसैले टिका लगाइदिने भन्दा पनि कार्यकर्ताको मत नै निर्णायक हुने बताइन्।

लिङदेनलाई तल्लो तहका कार्यकर्तादेखि सिनियर नेताहरूको समेत साथ रहेको र थापाले पटक पटक पार्टी र अजेण्डामा धोका दिएकोले लिङदेनले जित्दा पार्टी र एजेन्डा दुवै बलियो हुने तर्क गरिन्।

मंसिर १८, २०७८ शनिबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।