हात जोड्दै नायिका रेखाले भोट माग्दा मक्ख मतदाता

हात जोड्दै नायिका रेखाले भोट माग्दा मक्ख मतदाता

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व छान्ने दिन आज। भृकुटीमण्डप पुरै चुनावमय भएको छ उम्मेदवारको ब्यानरले।

मतदाता लाइनमा छन्। त्यही लाइनमा महामन्त्रीको उम्मेदवार बनेकी नायिका रेखा थापा हात जोड्दै भोट माग्न व्यस्त थिइन्। सधैँ पर्दामा देखिएकी नायिका हात जोड्दै आफ्नो सामु पाउँदा राप्रपाका अधिकांश प्रतिनिधि मक्ख देखिन्थे।

निर्वाचनमा कमल थापा समूह र राजेन्द्र लिङदेन समूह प्रतिष्पर्धामा छ। तर लाइनमा बसेका मतदातासामु लिङदेन समूहका उम्मेदवार मात्र पुगिरहेका थिए।

अध्यक्षको उम्मेदवारमध्ये लिङदेन मात्र थिए मैदानमा। महामन्त्रीमा रेखा। थापासहित उनको टिम नै देखिएन। उम्मेदवारी दर्तापछि नै लिङदेन समूह सकेसम्म सबै प्रतिनिधिसम्म पुग्ने प्रयासमा देखिएको थियो। महाधिवेशनमा चार हजार ४ सय ६९ मतदाता छन्।

थापा समूह भने सबै महाधिवेशन प्रतिनिधिसम्म पुग्ने भन्दा समूहमा प्रचारमा जोड दिएको थियो। उनीहरू व्यक्तिगत मतदाता भेट्नमा त्यति सक्रिय देखिएनन्।
प्रकाशचन्द्र लोहनीको खुला समर्थन, धवल शमशेर राणाको साथ अनि विक्रम पाण्डेको दोहोरो भूमिकाले थापालाई लिङदेनले बलियो चुनौती दिएको देखियो। 

मंसिर १८, २०७८ शनिबार १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।