कस्तो झुर , पहिलो गीतै म्युट तर गजब गाए निशानले
काठमाडौँ : कुनै समय निशान भट्टराई प्रतियोगी थिए अनि न्हुय बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज। आज एकै कार्यक्रममा यी तीन जुरी छन् अनि निशान चैँ ग्रान्ड जुरी। कार्यक्रम सरेगामापा लिटिल च्याम्प्स।
कार्यक्रमको शुक्रवारको भागमा टप १२ प्रतियोगीले ग्रान्ड जुरीसँग मिलेर प्रस्तुति दिएका थिए। शुक्रवार ६ प्रतियोगीले प्रस्तुति दिँदा तीन प्रतियोगीको प्रस्तुति ब्ल्कबस्टर भयो। ती मध्ये पनि खास प्रस्तुति रह्यो अविज्ञा घिमिरे र निशानको।
पहिला कार्यक्रममा विशेष अतिथिको रूपमा आए प्रकाश सपूत छोरीको साथ। गत साताको प्रस्तुतिको आधारमा अरुण सुनार भए हाइएस्ट स्कोरर। अनि जयन्त, दिया सोनार र जिग्मे छोकी घिसिङ बटम थ्री। यी तीन मध्ये १ शनिवार मञ्चबाट बाहिरिने छन्।
पहिलो प्रस्तुति रह्यो प्रयुश गौतम र विश्व नेपालीको। पहिलो प्रस्तुति नै झुर भयो। कपी राइट इस्युका कारण साउन्ड म्युट गरियो। के गीत गाए-गाए। यो चैँ कार्यक्रमकै बेइजत भयो। अन्तर्राष्ट्रिय फ्रेन्चाइजको रियालिटी शोमा कपी राइट उलङ्घनको डर। कपी राइट लिन नि नसक्ने। प्रस्तुतिले ९० अङ्क पाएकाले गीतै ठिकै भयो भन्ने मानौँ।
रबी ओड र दिया लुइँटेल, उदय श्रेष्ठ र आदित्य विश्वकर्मा, रोशा फुयाँल र मेनुका पौडेल, सञ्जीव चौधरी र धर्मेन्द्र सेवान अनि अविज्ञा घिमिरे र निशान भट्टराईले पालै पालो गाएका थिए। पछिल्ला तीन प्रस्तुतिले ग्रान्ड जुरी र जुरीबाट सत प्रतिशत १०० र ३० अङ्क पाएका थिए।
झ्याउँ चैँ पहिलो प्रस्तुति नै म्युट गरेकाले भयो। अर्को कार्यक्रम डान्स च्याम्पियनमा पनि बिहीबार कपी राइटका कारण केही प्रतियोगीको म्युजिकै अर्कै बजाइएको थियो। जसले डान्स एकातिर म्युजिक बिट अर्कोतिर देखिएको थियो।
मंसिर १८, २०७८ शनिबार ००:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।